• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी, प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना


पोखरा । गण्डकी प्रदेश मा विपक्षी गठबन्धन का सांसद हरु प्रदेश प्रमुख को निवास अगाडि धर्नामा बसेका छन्। बहुमत सांसदको हस्ताक्षरसहित काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री मा दाबी गरेपनि नियुक्ति प्रक्रिया अगाडि नबढाए पछि विपक्षी

गठबन्धनका ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसिरहेका छन् । तर उनीहरुलाई भित्र प्रवेश नदिइएपछि गेटमै धर्नामा बसेका हुन्।
‘यो राजनीतिक बेइमानी, अधिनायकवादी शैली हो,’ मुख्यमन्त्रीका दाबेदार पोखरेलले भने । पोखरेलले आफूहरुले कानुनी र राजनीति लडाइँ लड्ने बताए । आफूहरुले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गर्दा पनि जालझेल हुन लागेको उनको भनाइ छ ।पृथ्वी सुब्बा गुरुङले पनि आज जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए।

गण्डकी प्रदेश : जनमोर्चा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा गुरुङको पुन: दाबी
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् । राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर
गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको स्रोतको भनाइ छ ।

त्यस्तै पूर्व राजपाका एक सांसदले ल्याएको जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाको पनि समर्थन आफूलाई रहेको गुरुङले दाबी गरेका छन् ।यसअघि राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्यबाट बर्खास्त गरेका सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा पुगेका थिए । प्रदेशसभामा सबैभन्दा धेरै सदस्य रहेको संसदीय दलका नेताका हैसियतमा गुरुङ गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले बिहीबार प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि प्रदेश प्रमुखले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।त्यसपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार मुख्यमन्त्रीको पदमा दावी पेश गरेका थिए । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले दावी पेस गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार