• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

चाइनिज स्याउ प्रकरण : सीमा क्षेत्रका चार दर्जन बढी नेपाली सुरक्षाकर्मी अनुसन्धानमा तानिए


चाइनिजस्याउ भारतीय क्षेत्रमा पक्राउ परेसँगै नेपाली सीमा क्षेत्रमा कार्यरत चार दर्जन बढी सुरक्षाकर्मी अनुसन्धानको दायरामा तानिएका
छन् ।आज विहान भारतको बिरपुर खण्डमा तीनवटा नेपाली नम्बर प्लेटका ट्रक चाइनिज स्याउ सहित भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।

सोही स्याउ तस्करीको क्रममा नेपाल तर्फको भूमि प्रयोग भएको प्रारम्भिक सूचनाका आधारमा मातहतका सुरक्षाकर्मी अनुसन्धानमा तानिएका हुन् ।जस अनुसार प्राप्त जानकारी अनुसार नेपाल प्रहरीका ३४ र सशस्त्र तर्फका १५ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले श्रीपुर, हरिपुर र भाण्टावारी नाकामा खटिदै आएको प्रहरी टोलीलाई जिल्ला तानिएको जनाएको छ । प्रहरी प्रमुख कमल थापाले श्रीपुर र हरिपुरमा रहेको असई नेतृत्वको १४ जनालाई छानविन तथा अनुसन्धानको लागि दुहवी गणमा पुर्याइएको बताए ।

त्यसैगरी थापाले सइको कमाण्डमा रहेको सीमा प्रहरी चौकी भाण्टाबारीको २० जनाको टोलीलाई समेत अनुसन्धानको लागि तानिएको जानकारी दिए । प्रहरी प्रमुख थापाले अनुसन्धानकालागि प्रहरी तानिएका चौकीहरुमा जिल्ला र रानी गणबाट जनशक्ति ल्याई ड्यूटीमा खटाइएको बताए । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलले तस्करीको विषय सम्बन्धमा अनुसन्धान थालिएको जानकारी दिए ।

पौडेलले कुन क्षेत्रबाट ट्रक गएको भन्ने विषय नखुलेपनि बिरपुर एरियामा तस्करीको स्याउ बरामद भएकाले कोशीलाइ, श्रीपुर र भाण्टाबारी विओपीमा कार्यरत रही रातीको समयमा ड्यूटीमा रहेका १५ जनालाई फिर्ता बोलाइएको बताए । एसपी पौडेलले बिओपीका प्रमुख प्रहरी निरीक्षकको हकमा समेत सोधपुछ तथा अनुसन्धान थालिएको जानकारी दिए ।

यसैबिच सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटनालाई गम्भिर रुपमा लिएको बताए । उनले सुरक्षा कमजोरी पत्ता लगाई दोषी उपर कार्वाहीको प्रकृया चाल्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइएको बताए । चाइनिज स्याउ लोड गरिएका तीनवटा ट्रक भारत बिरपुर क्षेत्रमा भारतीय प्रहरी र एसएसबीको टोलीले आज बिहान नियन्त्रणमा लिएको थियो । भारतीय प्रहरीका अनुसार ट्रकमा १३ सय कार्टुन चाइनिज स्याउ फेला परेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार