• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

ओली–प्रचण्ड फोनवार्ता : तपाईंभन्दा कांग्रेस सयौं गुणा वामपन्थी


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि
मात्र नभएको बताएका छन् । लामो यात्राका लागि सैद्धान्तिक आधारहरु तय गरेर नै आफूहरु एक ठाउँमा आएको उनले बताए । सम्पादकहरुसँग

बिहीबार भएको छलफलमा उनले गठबन्धनका तीन आधार प्रस्तुत गरे ।पहिलो, संविधानको रक्षा र समयानुकुल परिमार्जन गर्दै लैजाने ।दोस्रो, लोकतन्त्रका न्यूनमत मूल्य मान्यताको रक्षा ।
तेस्रो, राष्ट्रियको रक्षा ।
प्रचण्डले यो अवसरवादी नभई लोकतन्त्रवादी र वामपन्थीहरुको गठबन्धन भएको बताए । गठबन्धनमा आवद्ध माधवकुमार नेपाल र उपेन्द्र यादव आफ्नो पार्टीमा संघर्ष गरिरहेको भन्दै उनले दुबै पक्षलाई परेको अप्ठ्यारोमा सबैले साथ दिने बताए ।

ओलीसँग फोनमै बहस
प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग २४ जेठमा भएको फोन वार्ता पनि सुनाए ।२३ जेठमा माधवकुमार नेपाल समूहलाई एकताका लागि आह्वान गरेका ओलीले भोलिपल्ट प्रचण्डलाई फोन गरेका थिए । फोनमा ओलीले ‘वामपन्थीको सरकार सिध्याउने, कांग्रेससँग मिलेर सरकार बनाउनेमा पुग्नुभयो होइन ? भनेर सोधेका थिए ।

‘मैले कांग्रेस त तपाईंभन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आयो । गर्नुहुन्छ के ? भनेँ’ उनले भने, ‘कांग्रेस संविधानको रक्षा गर्ने भनेर अडिएको छ, तपाईँ संविधान सिध्याउन हिँड्नु भएको छ । कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ, तपाईं लोकतन्त्र सिध्याउन हिँड्नुभएको छ ।’उनले अघि भने, ‘कांग्रेसले तपाईं विदेशीको टाङमुनि छिर्‍यो भन्छ, तपाईं टाङमुनि छिर्नुभएकै छ । छिरेको मात्र होइन, पुरै आत्मसमर्पण गरेर पुरै दलालहरुलाई ल्याउन थाल्नुभएको छ । अनि कांग्रेस चाहिँ दक्षिणपन्थी, तपाईचाहिँ वामपन्थी कहाँ हुनुभयो ? लै प्रमाणित गर्नुस् ।’ यसो भन्दा प्रधानमन्त्री ओलीले भाषण धेरै नगर्नुस् भनेको प्रचण्डले सुनाए ।

ओली र हामी कसरी उस्तै ?
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै नेताहरु उस्तै भन्ने गरेकोमा असन्तुष्टि जनाए । ‘गणतन्त्रको झण्डा उठाउने माधवकुमार नेपाल र बयलगाढाको सिद्धान्त केपी ओली उस्तै उस्तै हो ?’ उनले भने ।

आफूले सामान्य प्रश्न उठ्दा प्रधानमन्त्री पद छाडेको तथा सहमति अनुसार शेरबहादुर देउवालाई पद हस्तान्तरण गरेको तर ओलीले पद छाड्नुपर्दा संविधानलाई नै सिध्याएको भन्दै प्रचण्डले भने, ‘संविधान बनाउने र संविधान सिध्याउने उस्तै हो ?’कुर्सीका लागि जे पनि भन्ने, सहमति गर्ने तर पालना केही पनि नगर्ने प्रवृत्ति ओलीमा देखिएको भन्दै उनले सबैलाई उस्तै भन्न नहुने तर्क गरे ।

सबै उस्तै हुन् भन्दा नेताहरुप्रति जनतामा गलत सन्देश जाने भन्दै प्रचण्डले भने, जमिनबाट उमारौं भनेर उम्रिने होइन, आकाशबाट झारौं भनेर पनि झर्दैन । जस्ता भएपनि हामी नै हौं अहिले । के गर्नुहुन्छ ?’माओवादी अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको हितमा लड्ने आफूहरुको प्रतिवद्धता भएको समेत बताए ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार