• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेसले प्रचण्डपथ अँगाल्यो, माधव नेपाल प्रचण्डका पुच्छर हुन्, प्रधानमन्त्री ओली


काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालमाथि अशोभनीय टिप्पणी गरेका छन् । ७० औं मदन भण्डारी जन्मजयन्ती को अवसरमा प्रधानमन्त्री निवास बालुवाटार मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल,प्रचण्डको पुच्छर भएको

टिप्पणी गरेका हुन् ।यसअघि आफूले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् भनेको स्मरण गर्दै उनले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’ओलीले एमाले नेता माधव नेपाललाई लाज सरम पचेको मान्छे भनेर टिप्पणीसमेत गरेका छन् । उनले भनेका छन्, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।

छेपारोले रंग फेर्छ त !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरेका छन् । मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले अरु नेताहरुसँगै प्रचण्डको चर्को आलोचना गरेका हुन् ।प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको भन्दै उनले भने, किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त !’अघि भने, ‘खैरोखौरो मुढामा गयो भने खैरो रंग बनाउने छ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।’

‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छ । कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छ, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छ । कहिले राष्टपतिभन्दा राजा नै ठीक भन्छ,’ उनले अघि भने, ‘यो कुन ठूलो कुरा हो र प्रचण्डका लागि ।’प्रचण्डले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको, जनताले दुःखले जम्मा गरेको पैसा बैंकबाट लुटेको, बाँदरमुढे घटना घटाएको, मानिसहरुलाई महिनौंसम्म नियन्त्रणमा लिएर निर्मम, जघन्य अपराध गरेको र अहिले लोकतन्त्रको मसिहा बनेको उनको आरोप छ।

कांग्रेसले प्रचण्डपथ अँगाल्यो
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाएका छन् । उनले प्रचण्डपथको चर्चा सर्वोच्च अदालतमा पनि भएको टिप्पणी गरे ।

मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’उनले अगाडि भने, ‘अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दारहेछन् र पो त काटिंदा रहेछन् अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने । नेपाली कांग्रेसका कार्यकर्ताहरुले नाथुराम गोड्से मैं बन्छु अर्को ठाउँमा भने ।’

यो अभिव्यक्ति हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति भएको ओलीको भनाइ छ । हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति दिंदा पनि न्यायाधीशहरुले रोक्न नसकेको उनले बताए ।ओलीले भने, ‘आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिंदा रोक्ने काम गरेको पाइएन । हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ताजी तपाईं आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर के न्यायमूर्तिहरुले त्यो सुझाव पनि राख्न सक्नु हुन्न र ?

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार