• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपाललाई अर्को संकट : ओलीले जेठ २ अनुसार बैठक बोलाए बालुवाटार जाने कि गठबन्धनमै बस्ने ?


काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ४ महिना अलमलमा बित्यो। फागुन २३ गते अदालतले एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि नयाँ पार्टी बनाउनेकी एमालेमै संघर्ष गर्ने भन्नेमा नेपाल दोधारमा परे।

चैत ४ र ५ गते कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाए पनि नेपालले एमाले छोड्न सकेनन्। यसबीचमा नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल समूहका नेताहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक गरेको कारवाही भोगिरहेका छन्। नेपाल-खनालसहितका ११ जना नेता हाल पनि एमालेबाट निष्कासित छन्। नयाँ पार्टी बनाउनका लागि भित्रभित्रै तयारी भइरहेको भएपनि हालसम्म आफू एमालेकै नेता भएको नेपालले सोमवारको पेशाकर्मीसँगको अन्तर्क्रियामा पनि बताएका थिए। ४ महिनादेखि लगातार अलमलमै रहेका नेपाल-खनाललाई ओलीले भने थप कमजोर बनाउने रणनीति अघि सारेका छन्। ओलीले जेठ २ अनुसार एमालेको केन्द्रीय कमिटीको बैठक बोलाएमा नेपाल समूहमा बिग्रह आउन सक्ने बालुवाटारको विश्लेषण छ।

नेपाल बाहेकलाई निम्ता
ओलीले नेपालले बटमलाइन बनाउँदै आएको २०७५ जेठ २ गतेको कमिटी अनुसार केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेका छन्। त्यसका लागि बुधवार १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ।बुधवार नै उक्त कमिटी विघठन गरेर पुरानै केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी भएको ओली समूहका नेताहरुले बताएका छन्। नेपाललाई थप संकटमा पार्न ओलीले कारवाहीमा परेका नेपाल, स्थायी कमिटी सदस्य भीम रावल लगायतका ११ नेतालाई बैठकमा बोलाएका छैनन्।

उनीहरु बाहेकका नेताहरुलाई महाधिवेशन आयोजक कमिटीको बैठकमा निम्ता गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। ओलीले माओवादीका नेताहरु एमालेमा प्रवेश गरेपछिको कमिटीलाई सक्रिय बनाउन लागेको भन्दै नेपाल समूह ओलीबाट सशंकित छ।

कसरी तयार भए ओली जेठ २ मा फर्कन?
एमालेको विवाद समाधानका लागि दोस्रो पंक्तिका नेताहरु लामो समयदेखि छलफलमा छन्। औपचारिक वार्ताका लागि वातावरण नबनेको भए पनि उनीहरुको छलफल भने निरन्तर भइरहेको हो। स्थायी कमिटी सदस्य सुवास नेम्बाङका अनुसार वार्तामा कुनै सहमति भएको छैन।‘कुरा सकारात्मक छ। कुनै सहमति भएको छैन,’ उनले भने।

नेपाल समूहसँगको वार्तामा नेपाल बाहेकका नेताहरुलाई एमालेमा फर्काउने विषयले प्राथमिकता पाएको छ। नेपाल समूहमा रहेका अधिकांशले एमाले फुटाउन नचाहेकाले एमालेमै फर्कने भएकाले त्यसको वातावरण बनाउनका लागि जेठ २ मा कायम रहेको केन्द्रीय कमिटीको बैठक बोलाउन लागिएको हो। केन्द्रीय कमिटीको बैठक बोलाउनुको ओलीको अर्को रणनीति हो- नेपाललाई एक्ल्याउनु।

नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बोलाएमा एमालेमै फर्कन नेपाललाई दबाब पर्ने छ। नेपाल समूहका दोस्रो तहका नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले ओली जेठ २ मा फर्कन तयार भए विना शर्त पार्टीमा फर्कनुपर्ने मत राखिरहेका छन्। नेपाल समूहभित्रको विवादबारे जानकारी राखेका ओलीले नेपाललाई एक्ल्याउन र अझ कमजोर बनाउन एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेका हुन्।

ओलीले महाधिवेशन आयोजक कमिटी भंग र केन्द्रीय कमिटी क्रियाशिल बनाउनुको अर्को कारण हो- सर्वोच्च अदालतको आदेश। कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका ४ सांसदलाई कारवाही गरिएकोमा अदालतले उनीहरुको सांसदमा पुनर्वाहाली गरेको थियो। अदालतको उक्त आदेशमा महाधिवेशन आयोजक कमिटीको बैधानिकतामाथि समेत अदालतले प्रश्न उठाएपछि ओलीले बाध्यात्मक रुपमा पुरानो केन्द्रीय कमिटीको बैठक बोलाउन लागेका हुन्।

यद्यपी ओली समूहका नेताहरुका अनुसार उक्त कमिटीमा माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुलाई पनि समेटिने भएको छ। त्यसका लागि बुधवार बस्ने महाधिवेशन आयोजक कमिटीले निर्णय गर्ने तयारी छ।

बालुवाटार जाने की गठबन्धनमै बस्ने?
नेपाल समूहको बटमलाइन अनुसार ओलीले बैठक बोलाउने तयारी गरेपछि नेपाल थप संकटमा परेका छन्। उनी निकट नेताहरुले नेपालले प्रष्ट धारणा बनाइ नसकेको बताएका छन्।सोमवार विपक्षी गठबन्धनले गरेको पेशाकर्मीसँगको अन्तर्क्रियामा नेपालले आफू हालसम्म एमालेमा रहेको र कुनै निर्णय गर्नुपरेमा जनताको हित अनुकुलको गर्ने बताएका थिए। नेपालले पत्रकारसँगको अन्तर्क्रियाका क्रममा बालुवाटारबाट प्रधानमन्त्रीका लागि प्रस्ताव आएपनि आफूले गठबन्धनलाई धोका नदिने बताएका थिए।

नेपाल निकट एक नेताका अनुसार नेपालले नयाँ पार्टीका लागि तयारी गरेका छन्।‘सायद अब एमालेमा फर्कने भन्ने सम्भव नहोला। गर्नुपर्ने सबैखालका तयारी भइरहेका छन्,’ ती नेताले भने।यसअघि पनि ओलीले जेठ २३ गते ६ बुँदे प्रस्तावसहित जेठ २ मा फर्कन सकिने संकेत गरेका थिए। तर, त्यसमा प्रयोग भएको भाषालाई लिएर नेपाल समूह असन्तुष्ट बनेको थियो।

ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ताको शर्त राखेकोमा नेपाल समूहले असहमति जनाएको थियो। ओली नेपालसँग ६ बुँदे एकताको प्रस्तावपछि नरम देखिएका थिए। तर, सोमवार बालुवाटारमा आयोजना गरिएको मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा भने ओलीले नेपालप्रति आक्रोश व्यक्त गरेका थिए।

उनले नेपाललाई प्रधानमन्त्री बनाउनका लागि आफूलाई बहुला कुकुरले नटोकेको भन्दै नेपालको आलोचना गरेका थिए। ओली समूहकै केही नेताहरुले नेपाललाई प्रधानमन्त्री या अध्यक्षमध्ये एक पद दिएर भए पनि एमालेमा फर्काउनु पर्ने प्रस्ताव गरेपछि ओलीले कडा शब्दमा जवाफ फर्काएका हुन्।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार