• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

पार्टी एकताको सन्देश दिन संयुक्त वक्तव्य निकाल्ने तयारीमा ओली – नेपाल


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य
निकाल्न प्रस्ताव राखेका छन्।आइतबार बिहान ओली पक्षका नेताहरु सुवास नेम्वाङ,विष्णु पौडेल र शंकर पोखरेल वरिष्ठ नेता नेपालको निवास कोटेश्वर

पुगेर नेता नेपालसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।‘पार्टी एकताको सन्देश दिन संयुक्त वक्तव्य निकालौँ, त्यसका लागि अध्यक्षसँग एकपटक भेटवार्ता गरौं’, ओली पक्षका नेताहरुले नेता नेपालसँग प्रस्ताव गरेका थिए ।उनीहरुको प्रस्तावलाई नेता नेपालले सकारात्मक लिँदै, कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए । ‘ठिकै छ । कार्यदल छ, त्यसैलाई व्युँत्याउँदा भइहाल्छ । तपाईहरुले नै प्रस्ताव तयार पारेर ल्याउनुस् ’, नेता नेपालको जवाफ थियो ।नेम्वाङ, पौडेल र पोखरेलको साथमा माधव पक्षका नेता घनश्याम भुसालसमेत कोटेश्वरको छलफलमा सहभागी थिए ।भेटमा नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्तावबारे आफूले यसअघि नै जवाफ दिइसकेको भन्दै हस्ताक्षर फिर्ताको कुनै सम्भावना नरहेको बताएका थिए ।

नेता नेपालले पार्टी एकताका लागि निःशर्त जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई अध्यक्ष ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको समेत बताएका थिए । त्यस्तै नेता नेपालले ओली पक्षबाट एकताका लागि अर्मूत कुरामात्रै हुने गरेको र जेठ २ मा फर्कने चाहाना नै नराखेको जनाएका थिए ।‘एकता एकता भनेर मात्रै हुदैन, एकताका लागि मूर्त प्रयासहरु हुनुपर्छ । यस्तो अमूर्त कुरा गर्ने, अध्यक्ष आफै द्वन्द्व निम्त्याउने गरी अभिव्यक्ति दिने गरेर कसरी एकता हुन्छ ?’, ओली पक्षका नेताहरुले हस्ताक्षर फिर्ता लिन गरेको आग्रहमा नेपालको भनाई थियो, ‘हस्ताक्षर फिर्ता लिने कुरा सम्भव छैन ।’

नेता नेपालसँगको छलफलमा सहभागी एक नेताले नेता नेपालको भनाई उधृत गर्दै रातोपाटीसँग भने, ‘जेठ २ मा फर्कने भनेपछि त्यसमै फर्कनुपर्छ । अदालतमा पुगेको विषयमा अदालतको निर्णय जे आउछ त्यसलाई मानेर जाने कुरा मात्रै हो ।’माधव पक्षका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । ओली पक्षले ती सांसदको हस्ताक्षर फिर्ता गरेमात्रै एमाले एकता हुन सक्ने बताएका छन् ।

नेपाललाई भेटेपछि ओली पक्षका नेता पुनः अध्यक्ष ओलीलाई भेट्न बालुवाटार गएका छन् । यसअघि अध्यक्ष ओलीले शनिबार बसेको बालुवाटार बैठकमा सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार