• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले विवाद सुल्झने दिशातर्फ : यी हुन् सहमति नजिक रहेका मुख्य दुई विषय


नेकपा एमाले को विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन्। विवाद समाधान गर्न गठित कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्।वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदल

को संयोजन गरिरहेका भीम रावलले सोमबारको बैठकमा सबै विषयमा जानकारी लिने काम भएको र मंगलबार बुँदागत रूपमा छलफल सुरु भएको बताएका छन्। उनका अनुसार सहमतिका बुँदामा कार्यदलका सबै सदस्यले धारणा राख्ने काम भएको छ। ‘कसरी अघि जान सकिन्छ भन्ने विषयमा भोलि छलफल हुन्छ। टुंगो तुरुन्तै नलागे पनि समस्या समाधानका दिशामा अघि बढेका छौं,’ पार्टी उपाध्यक्षसमेत रहेका रावलले भने। मंगलबार साढे दुई घण्टा भन्दा बढी समय चलेको बैठकमा यसअघि तयार भएको मस्यौदामाथि छलफल भएको थियो। कार्यदलका सदस्यले पार्टीका सबै तहलाई मिलाउने गरी प्याकेजमा सहमति गर्न तयार मस्यौदामा छलफल भएको बताएका छन्। ‘हिजो बैठकमात्र बसिएको थियो, आज बुँदागत छलफल भयो। छलफल जारी रहन्छ,’ बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै कार्यदलका सदस्य रघु पन्तले भने।

उनका अनुसार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालले जारी गर्ने भनिएको संयुक्त वक्तव्यको विषयमा भने मंगलबार कुनै छलफल भएन। सोमबारको तुलनामा मंगलबारको संवाद निकै सकारात्मक रहेको कार्यदलका सदस्यले बताएका छन्। बैठक बुधबार पनि बस्नेछ। बुधबारको बैठकले मूल विषयमा छलफल गरेर टुंगो लगाउने नेताहरूको दाबी छ।कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्। नेताहरूले धेरै विषय कार्यदल तहबाटै टुंगो लगाउने र त्यहाँबाट टुंगो नलाग्ने विषयलाई ओली–नेपालबीच कुराकानी गराएर सुल्झाउने जनाएका छन्।

नेपाल पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सर्वोच्च अदालतसम्म पुगेको र हस्ताक्षर फिर्ता लिनुपर्ने केपी ओलीको सर्त अस्वीकार गरेपछि एमाले विभाजनको डिलमा पुगेको थियो। तर दोस्रो पुस्ताका नेताहरूको निरन्तर प्रयासपछि निष्कृय कार्यदललाई ब्युँताएर विवाद निरूपणका लागि काम सुरु गरिएको छ। दुवै पक्षका नेताले सर्वोच्च अदालतमा बहस सकिएपछि हस्ताक्षर फिर्ता लिनु र नलिनुको कुनै औचित्य नभएको र सर्वोच्चबाट आउने आदेश पालना गरेर जानुपर्ने बाध्यता रहेको महसुस गरेका छन्। उनीहरूले सर्वोच्चबाट आउने आदेशलाई पार्टीहितमा उपयोग गर्नेगरी विवाद निरूपण गर्ने जनाएका छन्।

दाहाल–नेपाल भेट
सिंहदरबारमा एमाले विवाद निरूपण कार्यदलको बैठक बसिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। माओवादी नेता महादेव यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलबार बिहान जनकपुर गएका दाहाल त्यहाँबाट फर्केपछि सीधै नेपाललाई भेट्न पुगेका थिए। सोमबार साँझ शेरबहादुर देउवा निवासमा नेपाल, देउवा र दाहालको भेट्ने कार्यक्रम भए पनि नेपाल नगएपछि दाहाल मंगलबार उनको निवासमै पुगेका हुन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुका साथै विपक्षी दलको कसिलो मोर्चा बनेको छ। सो मोर्चामा नेपालको पनि सहभागिता छ।

निर्वाचन आयोगले सोमबार नै निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गरेपछि तीन नेताबीच छलफल कार्यक्रम राखिएको थियो तर नेपाल सहभागी नभएपछि दाहाल पनि देउवा निवासमा आधाघण्टा मात्रै बसेर फर्केका थिए। दाहाल र नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। एमाले विवाद मिलेमा गठबन्धनको भविष्य के हुने भन्नेबारेमा पनि उनीहरूबीच छलफल भएको स्रोतको दाबी छ।

यी हुन् एमाले कार्यदलमा प्रवेश गरेका मुख्य दुई विषय
नेकपा एमालेको एकता कायम गर्न गठित कार्यदलले सहमतिको अन्तर्वस्तुबारे छलफल शुरु गरेको छ ।६ जेठपछि पहिलो पटक सोमबार बसेको कार्यदलको बैठकमा सामान्य समीक्षा गरेर सकिएको थियो । तर मंगलबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा भने दुवै पक्षले औपचारिक रुपमा आ-आफ्नो अडान प्रस्तुत गरेका छन् । ‘मुख्यगरी दुई विषयले प्रवेश पाएको छ । सांगठानिक विषय कसरी टुंग्याउने र सर्वोच्च अदालतको विचाराधीन मुद्दामा गरिएको हस्ताक्षरबारे के गर्ने ?’, कार्यदलका एक सदस्यले भने ।बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुले एमालेको एकता जोगाउन एमाले पार्टी कमिटी सम्पूर्ण रुपमा २ जेठ अगाडिको अवस्थामा फर्काउनुपर्ने अडान लिएको छ भने विचाराधीन मुद्दामा भएको हस्ताक्षरबारे मौन रहने बताएको छ ।

तर अध्यक्ष केपी शर्मा ओली पक्ष यो प्रस्तावमा सहमत भएन । ओली पक्षका कार्यदल सदस्यहरुले अदालतमा दायर रिटमा संलग्न हस्ताक्षरलाई विशेष जोड दिएका थिए । ‘राष्ट्रिय राजनीतिमा एमालेलाई एकठाउँ राख्न पनि यो विषयबारे बोल्न जरुरी छ’, ओली तर्फका सदस्यहरुको जोड थियो ।प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पनि १९ असारको बालुवाटार बैठकबाट अदालतको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने नेता एमाले हुन नसक्ने चेतावनी दिएका थिए । कार्यदलका सदस्यहरुले पनि यो विषयलाई जोड दिएका छन् । सोमबारको बैठकमा पनि एकता कायम गर्नेगरी हुने सहमतिमा अदालतमा दर्ता भएको हस्ताक्षरबारे पनि बोल्नुपर्ने कुरा राखेका थिए । ‘अदालतमा पेश भएको हस्ताक्षर फरक परिवेशमा भएकाले त्यसबारे नबोलौं भन्ने हाम्रो कुरा हो’, माधव नेपाल पक्षका कार्यललका एक सदस्यले भने । माधव पक्षका नेताहरुले संसद् र संविधान जोगाउने प्रयोजनका निम्ति हस्ताक्षर भएको, तर पार्टी एकता बिथोल्ने गरी प्रचार गरिएको गुनासो गरेका छन् ।

बैठकमा नेपाल पक्षले २३ फागुन यता दुवै पक्षबाट भएका सवै निर्णय खारेज गर्नुपर्ने अडान लिएको छ । दुवै पक्षबाट भएको निर्णय खारेज हुँदा एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा र्फकने तर्क यो समूहका नेताहरुको छ ।ओली पक्षले भने २ जेठ २०७५ भन्दा माओवादी तर्फबाट आएका नेताहरु र साविकको नेपाल कम्युनिष्ट पार्टी -नेकपा) हुँदा थपिएका एमाले तर्फकै केन्द्रीय सदस्यहरु समेत छुट्ने तर्क गरेका छन् । अर्थात्, अहिले अध्यक्ष ओली सांगठानिक रुपमा जुन ठाउँमा पुगेका छन्, त्यहीबाट अगाडि बढ्ने भन्ने प्रस्ताव छ ।१६ असारमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी एमालेको केन्द्रीय कमिटी कायम गरेका छन् । तर त्यो कमिटीमा रामबहादुर थापा सहित चार जनालाई स्थायी कमिटी र बाँकी १९ जनालाई केन्द्रीय सदस्य कायम गरिएको छ । सँगै, एमाले र माओवादी एकता हुँदा एमालेका तर्फबाट थप भएका ३८ जना पनि केन्द्रीय कमिटीमा राखिएको छ ।

अध्यक्ष ओलीले एकलौटी निर्णय लिएको भन्दै माधव समूहले भने सहमति जनाएका छैनन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरुले भने २ जेठ २०७५ को अवस्थामा एमाले फर्काउने र त्यसपछि माओवादी तर्फका नेताहरुलाई समावेश गर्नुपर्ने अडान लिएका छन् । तर कार्यदलको बैठकमा संभावित सहमतिको विषयबारे प्रस्ताव मात्रै राखिएको कार्यदल सदस्य गोकर्ण बिष्टले बताए । ‘अनौपचारिक छलफल थुप्रै भएको छ । तर औपचारिक कार्यदलका सवै सदस्यहरु त्यो छलफलमा हुनुहुन्थेन । त्यसैले आज आ-आफ्नो तर्फबाट सहमतिका निम्ति विषयवस्तुमा बोल्ने कुरा भयो’, बिष्टले भने ।

कार्यदलका सदस्यहरुले आ-आफ्नो कुरा राखेपछि भोलि थप छलफल गर्ने गरी बैठक सकिएको थियो । अर्को बैठक बुधबार बिहान ८ बजेका लागि बोलाइएको छ । कार्यदलमा ओली तर्फबाट संयोजक सुवास नेम्वाङका साथै उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण बिष्ट र नेताद्धय सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार