• २०८१ मङ्सिर १९ गते बुधवार
  • Preeti To Unicode

एक्सपायर कार्डबाट ३४ लाख रुपैयाँ कसरि निस्कियो ? खुल्यो रहस्य, गल्ती कसको ? बैंक कति सुरक्षित ?


बैंकमा खाता छ, चेकबुक पनि छ । तर के खाता मा आफ्नो रकम नै नभई बैङ्कले भुक्तानी दिन सक्ला त ? पक्कै पनि सक्दैन ।
कुनै पनि बैङ्कले आफ्नो खाता मा पर्याप्त मौज्दात नभई चेकमा लेखिए को रकम दिन सक्दैन । रकम भुक्तानी गर्नका लागि खातामा पैसा हुनैपर्छ ।

तर के विदेशी बैङ्कको खाता भएमाचाहिँ खातामा रकम नभए पनि पैसा दिन मिल्छ ? स्वाभाविक हो, त्यो पनि मिल्दैन ।तर सिद्धार्थ बैङ्कबाट केही दिनअघि ३४ लाख ५० हजार रुपैयाँ बाहिरियो, त्यो पनि खातामा पैसा नै नभएको विदेशी बैङ्कको भिसा डेबिट कार्डबाट । अनि भिसा डेबिट कार्ड पनि २ महिनाअघि नै एक्सपायर भइसकेको ।हो, २ महिनाअघि एक्सपायर भइसकेको, खातामा पैसा नै नभएको विदेशी बैङ्कको एक भिसा डेबिट कार्डबाट नेपालमा ३४ लाख ३५ हजार रुपैयाँ निकालियो त्यो पनि मात्रै ४ दिनको समयमा ।
एक्सपायर भइसकेको कार्डबाट यसरी झिकियो ४ दिनमा ३४ लाख रुपैयाँ
सोलुखुम्बु स्थायी घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ भूतपूर्व बेलायती सेना हुन् । धेरै पहिले नै सेवानिवृत्त भइसकेका गुरुङ यति बेला कालोपुलमा डेरा गरी एक युवतीसँग लिभिङ टुगेदरमा बसिरहेका छन् ।

भूतपूर्व सैनिक भएको कारण गुरुङलाई मासिक करिब ६० हजार रुपैयाँ पेन्सनबापत आउने गरेको छ । उनले बेलायतबाट फर्कँदा लण्डनको लोइड्स बैङ्कबाट भिसा कार्ड बनाएर नेपाल आएका थिए । जुन २०१८ मा बनाएको उनको भिसा डेबिट कार्डको मिति मे २०२१ मा सकिइसकेको थियो । गुरुङकै भनाइलाई आधार मान्ने हो भने केही समयका लागि त्यही भिसा कार्ड चलाउन मिल्ने गरी नवीकरण गरिदिन उनले बैङ्कसँग आग्रह पनि गरेका थिए ।
जब गुरुङको साथमा भएको पैसा सकियो, उनी मिति गुज्रिसकेको भिसा कार्ड बोकेर सिद्धार्थ बैङ्कको कालोपुलस्थित एटीएम बुथमा छिरे । कार्डको पिन नम्बर हाले र रकम झिक्ने प्रयास गरे । अचम्म, एक्सपायर भइसकेको विदेशी बैङ्कको भिसा डेबिट कार्डबाट पैसा पो निस्कियो ।पहिलोपटक पैसा निस्किएपछि उनले फेरि पैसा निकाल्ने कोसिस गरे । फेरि पनि बैङ्कबाट पैसा निस्कियो ।

लण्डनस्थित लोइड्स बैङ्कले उक्त कार्ड चल्ने बनाइदिएको भए पनि उनले अधिकतम ६० हजार हाराहारीमा मात्रै रकम झिक्न पाउने थिए । तर उनले ६० हजार रुपैयाँ निकालिसकेपछि पनि पटक पटक उक्त कार्डबाट पैसा आइरह्यो । त्यसपछि गुरुङको मनमा लोभ पलायो र झोला नै बोकेर उनी पैसा झिक्न विभिन्न एटीएम बुथमा पुगे ।सुरुमा कालोपुलस्थित सिद्धार्थ बैङ्कको एटीएमबाट रकम निकालेका गुरुङले अन्य बैङ्कको एटीएम बुथमा पनि पैसा झिक्ने प्रयास गरे । तर अन्य एटीएम बुथबाट पैसा आएन । सिद्धार्थ बैङ्ककै चाबहिलमा रहेको एटीएममा पनि उनी पुगे । त्यहाँबाट पनि पैसा आयो । अन्य बैङ्कको एटीएमबाट पैसा नआएको तर सिद्धार्थ बैङ्कको एटीएमबाट भने धमाधम पैसा आउन थालेपछि उनी अन्य स्थानको सिद्धार्थ बैङ्कको एटीएमसम्म पुगे । गुरुङ पैसा निकाल्न भन्दै सिद्धार्थ बैङ्कको हात्तीसारमा रहेको एटीएम बुथ र भाटभटेनीमा रहेको बुथसम्म पनि पुगे । तर पुरानो मोडलको एटीएम मेसिन रहेको कालोपुल र चाबहिलबाट पैसा निस्किए पनि अन्य स्थानको एटीएम बुथबाट भने रकम निस्किएन । यद्यपि ती मोडलको मेसिनहरू अन्य स्थानमा पनि रहेको थियो, जहाँ गुरुङ भने पुगेनन् ।

दुई स्थानको एटीएमबाट मात्रै पैसा निस्केपछि जुलाई १ अर्थात् असार १७ गतेदेखि लगातार ४ दिनसम्म उनले रकम निकालिरहे । ४ दिनको अवधिमा उनले ३४ लाख ३५ हजार रुपैयाँ झिके । उक्त रकममध्ये १० लाख एक सहकारीमा डिपोजिट गरे भने ३ लाख रुपैयाँ जति मोजमस्तीमा खर्च गरे । सित्तैमा आएको रकम, त्यो पनि विदेशी बैङ्कको । कसले खोजबिन गर्ला र भन्ने उनलाई लागेको थियो ।तर त्यस्तो भएन । जब सिद्धार्थ बैङ्कका कर्मचारी जुलाई ४ तारेखमा कालोपुलस्थित एटीएम बुथमा पुगे, तब त्यहाँ गडबड देखियो । बैङ्कको एटीएमबाट निकालिएको रकम र त्यहाँ हुनुपर्ने बाँकी रकमको हिसाब मिलेन । त्यसपछि पैसा कहाँ गयो भनेर खोजी भयो ।एटीएम बुथमा रकम हाल्न पुगेका कर्मचारीले तत्कालै बैङ्कको डिजिटल पेमेन्ट सिस्टमलाई खबर गरे । त्यहाँ पनि हिसाबमा गडबडी देखियो । र, तत्कालै उक्त एटीएम बुथ सट डाउन गरी अनुसन्धान सुरु भयो ।

कालोपुलको मात्रै नभएर चाबहिलको एटीएम बुथमा पनि त्यही समस्या देखियो । ग्राहकले एटीएम बुथबाट झिकेको देखिएको रकम र त्यहाँ हुनुपर्ने मौज्दात रकम मिल्दै मिलेन । त्यो खबर पनि तत्कालै बैङ्कको केन्द्रीय कार्यालयमा पुग्यो । त्यसपछि केही समय सबैजसो एटीएम बुथ सटडाउन गरेर अनुसन्धान सुरु भयो । यसको जानकारी भिसा नेटवर्क र नेपाल इलेकट्रोनिक्स पेमेन्ट सिस्टम नेप्सेलाई पनि गराइयो ।अनुसन्धान लगत्तै पत्ता लाग्यो कि लण्डनस्थित बैङ्कको एक भिसा डेबिट कार्डबाट लाखौँ रकम झिकियो । जबकि एटीएम बुथमा कार्ड छिराएपछि सिस्टमले डिक्लाइन अर्थात् रिजेक्ट गर्नुपर्नेमा एटीएम बुथबाट पैसा गयो । लण्डनस्थित बैङ्क र भिसा नेटवर्कले डिक्लाइन अर्थात् रिजेक्ट गरेको भए पनि नेपाल इलेकट्रोनिक्स पेमेन्ट सिस्टम नेप्समा भएको बग अर्थात् खराबीका कारण एटीएमबाट पैसा गयो ।

कुनै व्यक्तिले अनधिकृतरुपमा पैसा झिकेको पत्ता लागे लगत्तै सिद्धार्थ बैङ्कले नेप्स हुँदै प्रहरीमा खबर गर्‍यो । सिद्धार्थ बैङ्कको एटीएम बुथमा रहेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले ५७ वर्षीय जगतबहादुर गुरुङ र ३० वर्षीय युवती सावित्री गुरुङलाई प्रहरीले पक्राउ गर्‍यो ।उनीहरू रहेको कोठा खानतलासी गर्दा प्रहरीले कोठाबाट २१ लाख नगद बरामद गर्‍यो भने चाबहिलको गोमा गणेशनामक सहकारीमा जम्मा गरेको १० लाख ५० हजारको भौचरसमेत भेट्यो । बाँकी करिब ३ लाख रुपैयाँ भने उनीहरूले खर्च गरिसकेका थिए ।

कस्तो हुन्छ एटीएमको पेमेन्ट सिस्टम ?
मुख्यतः एटीएम बुथबाट पैसा झिक्नका लागि विद्युतीय माध्यमबाट ४ तह पार गर्नुपर्छ । कुनै ग्राहक पहिले एटीएम बुथमा पुग्छ । त्यहाँ उसले आफ्नो कार्ड छिराउँछ र पिन नम्बर हान्छ । त्यसको जानकारी नेप्सको सिस्टममा पुग्छ र नेप्सले उक्त जानकारी भिसा नेटवर्कमा पठाउँछ । भिसा नेटवर्कले सो बारेको जानकारी कार्ड जारी गर्ने बैङ्कसम्म पुराउँछ । त्यसपछि बल्ल कार्डको आधिकारिकता, खातामा रकम रहेको नरहेको, रकम दिने वा नदिने भन्नेबारे निर्णय हुन्छ । कार्ड जारी गर्ने बैङ्कले पैसा दिनु भनेको खण्डमा उसले उक्त म्यासेज भिसा नेटवर्कलाई पठाउँछ । भिसा नेटवर्कले फेरि उक्त विषयको जानकारी नेपाल इलेकट्रोनिक्स पेमेन्ट सिस्टम अर्थात् नेप्समा पठाउँछ र नेप्सले उक्त जानकारी पैसा झिक्न लागिएको बैंकमा पठाउँछ । नेप्सले दिएको सन्देशका आधारमा बैङ्कले पैसा झिक्न मिल्ने वा नमिल्नेबारे जानकारी दिन्छ ।


गडबड कहाँ भयो ?
सिद्धार्थ बैङ्कका डिजिटल पेमेन्ट सोलुसनका हेड सुरेश राज महर्जनका अनुसार भिसा कार्ड, नेप्सको बग र एटीएम मेसिनमा भएको ‘अचम्मको संयोग’का कारण डेट एक्सपायर भएको विदेशी कार्डबाट पनि रकम निकाल्न सम्भव भयो । असिस्टेन्ट जनरल म्यानेजर महर्जनका अनुसार मुख्यतः नेप्समा भएको खराबी र एटीएम मेसिनको मोडलका कारण उक्त ‘दुर्घटना’ हुन पुग्यो ।

महर्जनका अनुसार ग्राहकले एटीएम मेसिनमा कार्ड छिराएपछि सुरुमा एटीएम बुथबाट सो को जानकारी नेप्समा गएको, नेप्सबाट सो सन्देश भिसा नेटवर्क हुँदै कार्ड जारी गर्ने बैङ्कसम्म पुगेको देखिन्छ । तर कार्ड जारी गर्ने बैङ्कले कार्डको मिति सकिएको र खातामा पैसा पनि नभएको भन्दै डिक्लाइन अर्थात् पैसा झिक्न नमिल्ने सन्देश भिसा नेटवर्कमा पठाएको छ । भिसा नेटवर्कले पनि सोही ब्यहोराको सन्देश नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा पठाएको छ । तर डिक्लाइन ट्राञ्ज्याक्सन भनेर पठाएको म्यासेजमा पनि क्यास डिस्पेन्स भएको छ । नेप्सले जारी गरेको प्रेस विज्ञप्तिमा नेप्सको सिस्टममा रहेको बगका कारण त्यस्तो त्रुटि भएको भनेको छ । यसको मतलब नेप्सले खरिद गरेको सिस्टममा भएको खराबीका कारण डेट एक्सपायर भएको, खातामा रकम नै नभएको अवस्थामा पनि चाहेजति पैसा निकाल्न सकिएको छ । यसबाट सिद्धार्थ बैङ्कको सिस्टममा नै नदेखिने गरी ३४ लाख ३५ हजार रुपैयाँ गायब भयो ।


गल्ती कसको ?
यस सम्बन्धमा मुख्यतः सिद्धार्थ बैङ्कको एटीएम बुथमा रहेको पुरानो मोडलको मेसिन र नेप्सको सिस्टमको खराबी नै कारक रहेको बुझिएको छ । नेप्सले सिंगापुरको विपिसी बैङ्किङ टेक्नोलोजीबाट खरिद गरेको स्मार्ट भिष्टा स्वीचमा रहेको खराबीका कारण पैसा नदिनु भन्ने सन्देश हुँदाहुँदै पनि पैसा गएको बुझिएको छ ।

सिद्धार्थ बैङ्कले पनि नेप्सको सिस्टम इररका कारण त्यस्तो भएको दाबी गरे पनि पक्राउ परेका आरोपीले अन्य बैङ्कका एटीएम मेसिनमा पनि पैसा निकाल्ने प्रयास गरेका थिए । तर अन्य बैङ्कका कुनै पनि एटीएमबाट पैसा नआउनु तर सिद्धार्थ बैङ्कका सीमित एटीएम बुथबाट मात्रै पैसा आउनुले नेप्सको मात्रै फेलियर भन्न मिल्ने अवस्था भने देखिँदैन । सिद्धार्थ बैङ्ककै डिजिटल पेमेन्ट सोलुसनका हेड सुरेश राज महर्जनले भने झैँ अचम्मको संयोगका कारण मात्रै यस्तो हुन सम्भव भएको होइन । बैङ्किङ प्रणालीमा देखिएको समस्या, एटीएम बुथको खराबी र डिजिटल पेमेन्ट सिस्टममा देखिएको खराबीले पनि यस्तो समस्या ल्याएको बुझ्न सकिन्छ ।

पैसा विदेश गएको भए के हुन्थ्यो ?
जगत बहादुर गुरुङका केसमा करिब करिब सबै रकम बरामद भएको छ । करिब ३ लाख रुपैयाँ मात्रै बरामद नभएकाले त्यो ठुलो रकम होइन र बैङ्कले कुनै न कुनै रूपबाट असुल गर्न सक्नेछ । तर चुनौती कहाँ छ भने यदि उक्त रकम सिमानाका एटीएम बुथबाट झिकिएको थियो र आरोपी विदेश गइसकेका थिए भने के हुन्थ्यो ? वा विदेशी नागरिकले नेपाली एटीएम बुथबाट रकम झिकेर विदेश उडिसकेका हुन्थे भने के हुन्थ्यो ? के कार्ड जारी गर्ने बैङ्क उक्त रकम फिर्ता गराउन बाध्य हुन्थ्यो ?सिद्धार्थ बैङ्कका डिजिटल पेमेन्ट सोलुसनका हेड सुरेश राज महर्जन कार्ड जारी गर्ने बैङ्क उक्त रकम तिर्न बाध्य नहुने बताउँछन् । किनभने पहिलो कुरा एक्सपायर भएको कार्ड एटीएम मेसिनमा हाल्ने बित्तिकै उक्त कार्ड एक्सपायर भएको वा नचल्ने म्यासेज आउनुपर्छ । दोस्रो जब कार्ड जारी गर्ने बैङ्कले नै रकम दिन नमिल्ने भनिसकेको छ भने यदि कुनै एटीएमबाट पैसा गएमा उक्त रकम तिर्न कार्ड जारी गर्ने बैङ्क बाध्य हुनेछैन ।

यदि यो मामिलामा कुनै विदेशी व्यक्तिले एक्सपायर भएका कार्डको प्रयोग गरेर नेपाली बैङ्कका एटीएमबाट रकम निकालेर फिर्ता गएका भए उक्त रकम नेपाल ल्याउन असम्भवजस्तै हुन्थ्यो र त्यो रकम स्वीच सेवा उपलब्ध गराउने संस्थाले तिर्नुपर्ने हुन्थ्यो । स्वीच सेवा उपलब्ध गराउने संस्थाले पनि उक्त रकम तिर्न नमानेको अवस्थामा त्यो रकम बैङ्कको घाटामा पुग्थ्यो ।

सिद्धार्थ बैङ्कको कमजोर अनुगमन
प्रत्येक बैङ्कले एटीएम बुथमा सिसि क्यामेरा जडान गरेकै हुन्छन् । एटीएम बुथमा कुनै अव्यवहारिक हर्कत भएको अवस्थामा तत्कालै सो बारे जानकारी बैङ्कको सिस्टममा जान्छ । तर सिद्धार्थ बैङ्कले ४ दिनसम्म पनि आफ्नो एटीएम बुथमा के भइरहेको छ भनेर अनुगमन र नियमन नै गर्न सकेन ।

एउटा एटीएम बुथमा १५ देखि २५ लाख रुपैयाँसम्म रकम लोड गरिन्छ । र, उक्त रकम बढी आर्थिक चहलपहल हुने स्थानमा २ दिन र चहलपहल कम हुने स्थानमा ५ दिनसम्म पुग्न सक्छ । तर बैङ्कको सिस्टमबाट नै कुन एटीएमबाट कति रकम झिकियो र कति रकम बाँकी छ भन्ने जानकारी पाउन सकिन्छ । तर सिद्धार्थ बैङ्कले एटीएम बुथमा पैसा सकिएको जानकारी पाउँदा पनि आफ्नो सिस्टममा क्रसचेक गर्न सकेन । जबकि आरोपीले २ दिनको बीचमा नै बुथमा रहेको रकम सकाइसकेका थिए तर बैङ्कले भने ४ दिनमा मात्रै बुथ पुगेर चेक गरेको थियो । यस्तो अवस्थामा विदेशी नागरिक आएर रकम झिकेका भए आफ्नो देशसमेत जान पाउने पर्याप्त समय पाउने थिए ।

नेपाली कार्डलाई अधिकतम १ लाख, विदेशी कार्डलाई मनोमानी !
नेपालका बैङ्कहरूले जारी गर्ने डेबिट कार्डबाट एक दिनमा अधिकतम १ लाख वा २४ घण्टामा अधिकतम ४ पटकसम्म मात्रै कार्ड प्रयोग गर्न पाउँछन् । तर विदेशका बैङ्कले जारी गरेका कार्डका सम्बन्धमा भने नेपालमा कुनै रोकटोक लागेको छैन । कार्ड जारी गर्ने बैङ्कले कतिपटक वा कति रकमसम्म झिक्न मिल्ने तय गरेको छ, सोही आधारमा ग्राहकले आफूले चाहेजति रकम झिक्न सक्छन् । जसका कारण उक्त कार्डबाट खातामा एक रुपैयाँ नै नभए पनि, कार्डको मिति सकिएको भए पनि ४ दिनको अन्तरालमा ३४ लाख ३५ हजार रुपैयाँ झिकिएको थियो ।

सिद्धार्थ बैङ्क कति सुरक्षित ?
एक्सपायर भएको, खातामा रकम नै नभएको भिसा कार्डबाट ४ दिनको अवधिमा ३४ लाख ३५ हजार रकम झिकेपछि यति बेला प्रश्न उठेको छ कि सिद्धार्थ बैङ्क कति सुरक्षित ? के सिद्धार्थ बैंकमा रहेको जनताको रकम सुरक्षित छ त ? सिद्धार्थ बैङ्कको एटीएम सुरक्षित छ त ? कतै जनताको लगानी रहेको अरबौँ रकम गायब हुने त होइन ?

सिद्धार्थ बैङ्कका डिजिटल पेमेन्ट सोलुसनका हेड सुरेश राज महर्जन बैङ्क र बैङ्किङ सिस्टम सुरक्षित नै रहेको दाबी गर्छन् । कहिलेकाहीँ सेवा प्रदायक संस्थाका कमजोरीका कारण यस्ता समस्या आउनसक्ने भए पनि जनताका डिपोजिट कहीँ नजाने दाबी गर्छन् । यस्तो घटनामा स्वीच सर्भिस प्रोभाइडर नै जिम्मेवार हुने हुँदा उक्त रकम बाहिर गए पनि स्वीच प्रोभाइडर ले नै तिर्नुपर्ने महर्जनको दाबी छ । केही मोडलका एटीएम मेसिनका केही समस्या देखिएको हो कि भनेर अनुसन्धान समेत भइरहेको भन्दै मेसिनमा समस्या देखिए तत्कालै परिवर्तन गरिने उनले बताए ।

आगामी दिनमा यस्ता समस्या आउन नदिन सधैँ चनाखो हुने भन्दै सिद्धार्थ बैङ्क सुरक्षित नै रहेको र डिजिटल पेमेन्ट सिस्टम चुस्त नै रहेको उनले दाबी गरे । यद्यपि ४ दिनसम्म अनुगमन गर्न नसक्नुमाचाहिँ केही कमजोरी भएको महर्जनले बताए ।यस सम्बन्धमा कसको के कमजोरी भएको हो, यदि रकम बाहिर गइसकेको भए के हुन्थ्यो भन्ने सम्बन्धमा कुराकानी गर्न खोज्दा नेप्सले भने कुराकानी गर्न मानेन ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार