• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीका आधारमा भारतमा खोप लगाउने सुविधा


भारत सरकारले आधार कार्ड वा कुनै पनि भारतीय परिचयपत्र नभएका नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीका आधारमा खोप लगाउने व्यवस्था गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट यसको सुरुवात

भएको हो । अहिले भारतभरि खोप अभियान चलिरहेका वेला नेपाली नागरिकताबाहक पनि भारतीयसरह लाभान्वित भएका छन् । ‘प्रधानमन्त्री मोदीको चुनावी क्षेत्र वाराणसीमा तीन साताअघि स्थानीय प्रशासनले नेपालीलाई पनि भारतीयसरह खोपको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई आदेश जारी गरेको थियो,’ दिल्लीस्थित अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्री मोदीको क्षेत्रबाट सुरु भएको हुनाले सबै प्रान्तले यही नियम सुरु गरेका छन् । मैले जानकारी पाएसम्म भारतमा बसेका अब कोही पनि नेपाली नागरिकले खोपबाट वञ्चित हुनुपर्ने अवस्था छैन ।’ जानकारहरूका अनुसार भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले यसका लागि सरकारसँग प्रयास गरेका थिए । चौथाइवालेसँग दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले १५ जेठमा भएको भेटमा नेपालमा खोप आपूर्तिका लागि सहजीकरण गरिदिन र भारतमा रहेका नेपालीलाई खोप लगाउने प्रबन्ध गरिदिन आग्रह गरेका थिए । नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई कूटनीतिक नोट पठाएर पनि खोपका लागि आग्रह गर्दै आएको थियो ।

‘भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले विदेशमन्त्री डा. एस जयशंकरसँग नेपालीहरूलाई खोप लगाउने विषयमा कुराकानी गरेका थिए, विदेशमन्त्रीले उनलाई आश्वस्त पारेका थिए,’ खोपका लागि भएको पहलबारे जानकार स्रोतले भन्यो, ‘चौथाइवालेकै प्रयासमा प्रधानमन्त्री मोदीको चुनावी क्षेत्रबाट नेपालीलाई खोप लगाउने प्रबन्ध मिलाइएको हो ।’ तत्कालै वाराणसीमा रहेका नेपालीले भारतीय नागरिकसरह खोप लगाउने सुविधा पाएका छन् भने अहिले अन्य प्रान्तहरूमा पनि नेपालीले सुविधा पाएका छन् । नेपाली कागजपत्र नभएका र घरमा काम गर्ने नेपाली मजदुरले पनि मालिकको सिफारिसका आधारमा खोप लगाउने व्यवस्था मिलाइएको जानकारी नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले दिएका छन् ।

नेपाली युवा नेता रानाका अनुसार प्यान कार्ड, आधार कार्ड, चुनावी परिचयपत्र साथमा भएका नेपालीले त यसअघि नै भारतीय नागरिकसरह खोप लगाउने सुविधा पाउँदै आएका थिए । भारत सरकारले बनाएको आरोग्य सेतु एपबाट खोपका लागि भारतीय नागरिकसरह नेपाली नागरिकले पनि आवेदन दिन सक्ने व्यवस्था छ । त्यसमा कोभिसिल्ड वा कोभ्याक्सिन दुवै खोपमध्ये एउटा रोज्ने अवसर पनि दिइएको छ ।‘आफू बसेको ठाउँ छानेपछि खोप केन्द्र पनि एपमा उपलब्ध हुन्छ । त्यहाँ उपलब्ध भएअनुसार खोप लगाउने मिति र समय पनि आफैँ छान्न पाइन्छ,’ रानाले भने,

‘त्यसपछि मोबाइल नम्बरमा नोटिफिकेसन आउँछ । एपमा अपलोड गरेको परिचयपत्र लिएर तोकिएको मिति र खोप केन्द्रमा गएपछि खोप लगाउन पाइन्छ ।’ एपले पठाउने चार अंक दोस्रो चरणको खोपका लागि पनि काम लाग्ने रानाले बताए । ‘दोस्रोपटक त चार अंकको नम्बर र परिचयपत्र लगेपछि खोप लगाउन पाइन्छ, मिति र खोप केन्द्र छान्दा पहिलो चरणमा जस्तै एपमा प्रक्रिया पूरा गर्नुपर्छ,’

रानाले भने । भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । भारतबाटै नेपाल सरकारले खरिद गरेको १० लाख डोज तथा कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज खोप आएको छ ।
स्रोत: नयाँ पत्रिका

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार