• २०८१ असार २९ गते शुक्रवार
  • Preeti To Unicode

यूरोमा वियोगको कथा : छोरो च्याम्पियन, हत्या आरोपमा बाबु जेल चलान


जसले अनाथालयमा बाल्यकाल बिताए । समर्थकहरूको चर्को दबाब खेप्नुपर्दा आत्महत्याको सोचसम्म पुगेका थिए ।ती खेलाडीले पाँच
वर्षअघि आजकै दिन पोर्चुगललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताउन ठुलो योगदान गरे।युरो २०२० को फाइनलमा आज जोसुकैले निर्णायक गोल वा

महत्त्वपूर्ण बचाऊ गरोस्, उसको प्रोफाइल २०१६ का निर्णायक गोलकर्ताको दाँजोमा धेरै माथि पुग्ने मौका छ । एडर भने सधैँ युरोपेली च्याम्पियनसिपकै कारण मात्र चर्चामा आउनेछन् । उनको करियर फ्रान्स र पोर्चुगलबीचको भिडन्तको १ सय ९ मिनेट अर्थात् अतिरिक्त समयमा आकासिएको थियो । त्यो बिन्दुभन्दा पहिले त २०१६ को फाइनल खेलमा रोनाल्डोको चोट नै चर्चामा थियो । पेरिसमा त्यस साँझ रोनाल्डोले आँसु झार्दै मैदान छाडे । र, साइडनलाईनबाटै खेलाडीहरूलाई निर्देशन दिन तल्लीन थिए ।

अनि, एडरले २५ यार्ड परबाट गरेको प्रहारले फ्रान्सका गोलकिपर ह्युगो लोरिसलाई पार गर्दै जाली चुम्यो । चोटका कारण पर्याप्त खेल खेल्न नसक्दा यी खेलाडीलाई ६ महिनाअघि मात्रै स्वान्सी सिटीले ऋणमा लिल पठाएको थियो । अर्थात्, युरोपेली फुटबल इतिहासको आइकोनिक गोल त्यस्ता खेलाडीले गरे, जो क्लब करियरको खराब समयमा थिए । यी खेलाडी अहिले क्लबविहीन छन्, फुटबलमा उनको भविष्य दुविधाग्रस्त छ ।

३३ वर्षका एडरले पाँच वर्षअघिको त्यो रातपछि लोकोमोटिभ मस्कोमा केही उत्कृष्ट खेले । २०१७–१८ को सिजन उनी लोनमा त्यस क्लबमा थिए । उनले यस क्लबलाई १४ वर्षपछि पहिलो रसियन प्रिमियर लिग जिताउन महत्त्वपूर्ण योगदान गरे । अर्को सिजन उनलाई क्लबले स्थायी रूपमै अनुबन्धन ग¥यो । २०१९ र २०२१ मा क्लबलाई रसियन कप जिताउन उनले योगदान गरे । उनले च्याम्पियन्स लिगमा पनि खेले ।

यद्यपि, गत सिजन उनले सबै खाले प्रतियोगितामा केवल १० खेलमात्र खेल्ने मौका पाए । जुनको अन्त्यमा उनीसँगको सम्झौता सकियो र क्लबले त्यसलाई नवीकरण गरेन । ६ फिट ३ इन्चका यी खेलाडी हेडिङ गर्न र बललाई नियन्त्रणमा राख्न माहिर छन् । उनी त्यस्ता फरक स्ट्राइकर रहे, जसको प्रयोग गोल गर्न नभएर अरूलाई पास मिलाइदिनका लागि हुन्छ । अर्थात्, उनले विश्वका रोनाल्डोहरूलाई सहयोग गर्छन् ।पोर्चुगलका समर्थकहरूले २०१६ को युरोअघि उनलाई धेरै मन नपराउनुको एउटा प्रमुख कारण यो पनि हो । किनभने उनले ३५ अन्तर्राष्ट्रिय खेल खेलेर ५ गोलमात्र गरेका थिए । २०१४ को विश्वकपमा जर्मनीसँग ४–० ले पराजित भएको पोर्चुगल अमेरिकासँग बराबरी खेलेपछि समूह चरणबाटै बाहिरिएको थियो ।

हारपछि पोर्चुगलका केही खराब समर्थकहरूले एडरमाथि निशाना साँधे । उनका अनुसार दुर्व्यवहारले आजित भएर उनी आत्महत्या गर्ने सोचमा समेत पुगिसकेका थिए । मेरो दिमाग यतिबेला धेरै खराब ठाउँमा पुगिसकेको थियो,’ उनले सेप्टेम्बर २०१६ मा भनेका थिए,‘ म निकै खराब अवस्थाबाट गुज्रिएको थिएँ । केही चोटबाट पीडित भएर विश्वकप खेल्न गएको थिएँ र राम्रो गर्न सकिनँ । यो कठिन थियो । मैले फेरि सपना देख्नका लागि सङ्घर्ष गरें । यो मेरा लागि भयावह अवस्था थियो र यस्तो अवस्थाबाट कसरी उम्कन सकिन्छ भनेर आश्चर्य लाग्छ ।’

फुटबल मैदानमा देखिनेभन्दा ठुलो वियोगान्त र त्रासदी उनको विगतमा थियो । एडरको जन्म पश्चिम अफ्रिकाको जिनी बिसाउमा भएको थियो । उनी तीन वर्षको छँदा राम्रो जीवनको खोजीमा परिवार पोर्चुगल सर्‍यो । हेरचाह गर्न नसकेपछि आठ वर्षको उमेरमा बाबु–आमाले अनाथालयमा पठाए ।

एडर अनाथालयमै छँदा उनका बाबु फिलोमेनो एन्टोनियो लोपस सन् २००३ मा आफ्नी दोस्री श्रीमती डोमिग्यास ओलीभियासको हत्यामा जेल गए । ‘म १२ वर्षको छँदादेखि मेरा बाबु जेलमा छन् । मेरी सौतेनी आमाको हत्या भयो र बाबुमाथि हत्या आरोप लाग्यो । मेरो विचारमा उनलाई १६ वर्ष जेल सजाय मिल्यो,’ २०१६ मा युरोकप जितेपछि पोर्चुगलको एक टेलिभिजनसँग अन्तर्वार्ता दिदैं उनले यस्तो खुलासा गरेका थिए ।यी सबै उतार–चढावका बाबजुद एडर प्रतिभावान थिए । उनले १८ वर्षको उमेरमा टोरिजेन्स क्लबमार्फत व्यवसाहिक फुटबलमा डेब्यु गरे । उनले एकेडेमिकाबाट राष्ट्रिय कप जितेपछि ब्रागामा तीन वर्ष उत्कृष्ट खेले । तर, घुँडामा गम्भीर चोट लागेपछि केही समय करियर सुस्त रह्यो ।

२०१५ मा ५० लाख पाउन्डमा उनी इङ्लिस प्रिमियर लिग क्लब स्वान्सी सिटीमा आबद्ध भए । तर वेल्सको यस क्लबबाट उनले केवल चारपटक मात्रै खेले । त्यसपछि ०१५–१६ को सिजन उनी ऋणमा फ्रान्सेली क्लब लिल गए । त्यहाँ १४ गोलमा ६ गोल गरेकाले पोर्चुगलका प्रशिक्षक फर्नान्डो सन्तोषले उनलाई राष्ट्रिय टिममा बोलाए । प्रशिक्षकका लागि यो जुवा खेले सरह थियो, र एडरका लागि ज्याकपट परेजस्तो । युरो २०१६ मा उनले केवल ५४ मिनेट खेले । त्यसमध्ये ४१ मिनेट त फाइनल खेल नै थियो । उनी ७९ मिनेटमा रेनेटो सान्चेजको सट्टा मैदान छिरेका थिए । त्यसपछि आइसल्यान्ड र अस्ट्रियाविरुद्धको खेलमा निकै छोटो समय मैदानमा ओर्लिएका थिए । अन्य खेलहरू उनले बेन्चमै बसेर हेरे ।

जब फाइनलमा गोल गरे, त्यसपछि उनले आफ्नो जन्मभूमिको समेत सम्झना गरेका थिए । ‘म यहाँ आउन पाउँदा गर्विलो छु । मलाई जिनी बिसाउमा जन्मिएकोमा गर्व लागेको छ । म आफूलाई पोर्चुगिज पनि मान्छु, यहाँ मैले पूरा जीवन बाँचेको छु । यो मेरा लागि अद्भुत छ र मेरा देशहरूका लागि पनि,’ उनले भनेका थिए, ‘मैले जोआ मोटिन्होबाट बल पाएँ । सोचेँ, अवसरको खोजीका लागि टर्न गर्ने प्रयास गरेँ, र त्यसपछि गोलका लागि प्रहार गरेँ र मलाई थाहा भयो बल सही ठाउँमा जाँदैछ ।’

न त्यसअघि न त्यसपछि नै उनी यस्तो उचाइमा आए । २०१७ सम्म त आन्द्रे सिल्भाले टोलीमा उनको ठाउँ लिइसकेका थिए । उनी रुस विश्वकपका लागि ३५ सदस्यीय प्रारम्भिक टोलीमा परेका थिए, अन्तिममा उनको नाम कटौती भयो । युरो २०२० मा पनि उनलाई बोलाइएन । तर, यी कुराले अब खासै के अर्थ राख्छ र । अर्थपूर्ण, २०१६ को त्यही निर्णायक गोल थियो, जसले पोर्चुगललाई पहिलो प्रमुख उपाधि दिलायो ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार