• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजै सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने सुवास नेम्वाङको दावी


एमालेको विवाद मिलाउने प्रयास स्वरुप सिंहदरबारमा छलफल थालिएको १२ घण्टा बितेको छ । तर सहमति हुने नहुने अझै अन्योल कायमै रहेको छ । बिहान ९ बजेदेखि एमालेभित्रको विवादि मिलाउन कार्यदलको बैठक जारी रहेको हो । तर पौने १० बजेसम्म न बैठक सकिएको

छ न त नेताहरुले सकारात्मक खबर नै बाहिर ल्याएका छन् । एमाले नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले कार्यदलमा कुनै प्रगति नभएको बताए । वस्तुस्थित हिजोको भन्दा आज फरक छैन । हिजोअस्ति जुन ठाउँमा थियौँ, त्यही ठाउँबाटै छलफल प्रारम्भ भइरहेको छ । टुंगामो पुगिन्छ, पुगिँदैन अहिलेनै भन्न सक्ने अवस्था छैन। हेर्दै जाऔं’, उनले संवाददाताहरुलाई भने । यस्तै ओलीपक्षीय कार्यदलका संयोजक सुवास नेम्वाङले भने आजै सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने दावी गरेका छन् । आज युरोकप अन्तर्गत इङग्ल्याण्ड र इटालीबीचको फाइनल खेल हुँदै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।सिंहदरबारमा बैठक जारी रहेकै बीच सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘बिहान ८ बजेनै सुखद समाचार दिन्छौं भनेका थियौं, सोखालको परिस्थति बनेन । सहमति गरेर हामी फुटबल हेर्न जान्छौं । त्यसकै लागि प्रयत्न जारी छ। छलफल सकारात्मक रुपमै अघि बढिरहेको छ। सहमति बन्नेमा म विश्वस्त छु । ’

तर कार्यदलको बैठकले सहज निकास पाउनेमा आशंका उत्पन्न हुन थालेको छ । कार्यदल बैठकले तयार पारेको मस्यौदामा एमाले वरिष्ठ नेता माधव नेपालले असहमति जनाएपछि उनलाई नै बाइपास गरेर सहमति गर्ने प्रयासमा कार्यदल लागेको समेत खबर बाहिरिएको छ । उच्च स्रोतका अनुसार आइतबार बिहान माधव नेपाललाई सहमतिमा ल्याउने प्रयासस्वरुप नेपाल पक्षीय नेताहरु सहमतिको मस्यौदासहित उनको निवास कोटेश्वर पुगेका थिए । तर नेपालले सहमतिको मस्यौदामा अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै सच्याउन भनेका थिए ।

नेपालको असहमति रहेको मस्यौदालाई नसच्याइ अहिले कार्यदलमा उनलाई बाइपास गरेर सहमति गर्न लागेको उच्च स्रोतले रातोपाटीलाई बतायो । नेता नेपालले भने आफूलाई बाइपास गरेर गरिने सहमति मान्य नहुने कार्यदलका सदस्यलाई जवाफ दिएका छन् । कार्यदलमा यो खालको तयारी भएपछि बैठक चलिरहेको बेला नेता घनश्याम भुसाल आइतबार दिउँसो सिंहदरबारबाट बाहिरिएर नेता नेपाललाई भेट्न पुगेका थिए ।

नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस भएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार