• २०८१ मङ्सिर १९ गते बुधवार
  • Preeti To Unicode

संसद र सरकार सही सलामत रहला भन्नेमा शंका छ : ओली


काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त

गर्न परमादेश दिएको भोलिपल्ट सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन ओलीले अदालतप्रति आक्रोश पोखेका छन् ।अदालतको यो फैसलाको असरहरु आगामी दिनमा देखिने उनले बताए । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई वास्तविक अर्थमा सबल बनाउँदै जानुपर्ने बेला राजनीतिलाई विपरीत दिशामा लान खोजिएको भन्दै उनले भने, ‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ । समयमा निर्वाचन होस्, तर मलाई शंका छ ।’‘जे जस्ता घटनाक्रम विकास हुँदैछ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्ने सरकार सही सलातम ढंगले अगाडि बढ्ला भन्नेमा शंकै छ’ उनले अघि भने, ‘यसले विगतमा अग्रणी भूमिका खेल्ने पात्रहरु परिचित छन् । उनीहरुको इतिहास, भूमिका देश र जनतालाई थाहा छ । मैले केही भनिरहनु पर्ला जस्तो लाग्दैन ।

ओलीको दाबी : भोलिदेखि हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् ।सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे । १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खरिदको प्रक्रिया रहेको भन्दै उनले भने, ‘अब हामीलाई खोपको अभाव छैन ।

’आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्न सक्ने ओलीको दाबी छ । उनले भने, ‘मलाई थाहा छ । भरे वा भोलि विहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो,

हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ ।ओलीले अघि भने, ‘मानौं, चट गरेर आजै ल्याएका हुन् कि जस्तो गरेर प्रचार गर्नेछन् । तर मलाई प्रचारको कम्पिटिसन गर्नु छैन ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार