• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नियुक्ति सच्चियो, प्रधानमन्त्री देउवाले लिए शपथ


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद
देखिएपछि शपथग्रहण कार्यक्रम ढिला गरी शुरु भएको छ।६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो।नवनियुक्त प्रधानमन्त्री

शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

ओली अनुपस्थित, माधव नेपाल उपस्थित
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोहमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली अनुपस्थित भएका छन् । निवर्तमान प्रधानमन्त्री एवं प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष ओली गएका छैनन् । एमाले नेता एवं निवर्तमान प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, ‘भ्याउँदा जाने, नभ्याउँदा नजाने अभ्यास शेरबहादुरजीले नै गर्नु भएको हो ।’ ३१ वैशाखमा ओलीले प्रधानमन्त्री पदको सपथ लिँदा र अरु मन्त्रीहरुको सपथ पनि देउवा नगएको उनले स्मरण गरे ।

सपथ ग्रहणका लागि देउवा शीतल निवास पुगिसकेका छन् । सपथ ग्रहण समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईका साथै माधवकुमार नेपाल पनि राष्ट्रपति कार्यालय पुगेका छन् ।यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति देउवाले आपत्ति जनाएका थिए । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका थिए।


राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाको आपत्ति थियो । आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए ।

साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार