• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

साउन १ देखि कस्ता मोबाइल चल्दैनन् ?


काठमाडौं । शुक्रबारबाट नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्दैछ । विदेशबाट मोबाइलको चोरी
पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन सहयोगी मानिएको यो सिस्टम सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले

जनाएको छ ।आईएमईआई युनिक आइडेन्टिफाइड कोड हो । जसले हरेक मोबाइल डिभाइसलाई सरकारी सिस्टममा समेट्ने काम गर्छ । प्राधिकरणका उपनिर्देशक एवं उपकरण स्तरीकरण शाखाका प्रमुख दिनेश मैनालीका अनुसार साउनदेखि आईएमईआई दर्ता नगरेका मोबाइलहरु चरणबद्ध रुपमा बन्द गर्दै लैजाने नीति लिइएको छ ।नेपालमै मोबाइल पसलबाट भ्याट तिरेर किनेको मोबाइलमा आईएमईआई पहिले नै दर्ता भएको हुन्छ । उपहार स्वरुप पाएको मोबाइल वा भन्सारको सिस्टमबाहिरबाट ल्याएको मोबाइलमा रहेको आइएमइआई नम्बर प्राधिकरणको सिस्टममा जोडिएको हुँदैन ।

त्यस्ता मोबाइल सिस्टममा नजोडिँदा जुनसुकै बेला पनि बन्द हुन सक्ने भएकोले छिट्टै मोबाइललाई सिस्टममा जोड्न पनि प्राधिकरणले आग्रह गरेको छ । आफ्नो मोबाइलको आइएमइआई दर्ता गरे/नगरेको थाहा पाउन *#06# डायल गरेर पनि हेर्न सकिन्छ ।अहिले आइएमइआई दर्ता गर्न शुल्क लाग्दैन । तर एमडिएमएस बाइ ल तयार पारेको छ । जसले निश्चित शुल्क तोक्ने तयारी गरेपनि अहिले तोकिसकेको छैन ।

के फाइदा हुन्छ आईएमईआई दर्तापछि ?
मैनालीका अनुसार आइएमइआई दर्ता गरेपछि त्यो मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा जोडिन्छ ।

यो सिस्टममा जोडिएपछि एकातर्फ भन्सार नतिरी ल्याइएका मोबाइललाई नियन्त्रण गर्न सजिलो हुन्छ भने प्रयोगकर्ताको कुनै बेला मोबाइल हरायो भने त्यो आइएमइआई नम्बरको मोबाइलमा कुन नम्बर जडान गरिएको छ ? त्यसको आधारमा हराएको मोबाइल पत्ता लगाउन पनि सकिन्छ । त्यसैले यो बहुउपयोगी प्रविधि हो ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार