• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस


काठमाडौँ —सरकारले साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको
छ ।मन्त्रिपरिषद्‌को बिहीबार सिंहदरबारमा बसेको बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय

गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।बैठकपछि मन्त्री कार्कीले भने, ‘साउन ३ गते आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका छौं ।’
मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने गरी मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको थियो । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।प्रवक्ता कार्कीका अनुसार बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग म्याद १ वर्ष थप गर्ने निर्णय गरिएको छ ।

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षाभत्ताको ३९ लाख गायब
बुङ्गल नगरपालिका वडा नं ९ र ११ का बासिन्दालाई वितरण गर्न भनी लगिएको सामाजिक सुरक्षाभत्ताबापतको रकम वडा सचिवकै कोठाबाट हराएको छ । कोठामा राखिएको नगद ३९ लाख रुपैयाँ चोरी भएको वडा सचिव बपिन्द्र महतोले दाबी गरेका छन् । उनी नगरपालिकाकै वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका छन् । उक्त रकम सोही घरमा राखेको र त्यहीँबाट चोरी भएको महतोले बताएका छन् ।

तर कोठामा तोडफोड नभएको र पैसा राखेर ताला लगाइएको भनिएको दराज फुटाइएको कुनै संकेत नदेखिँदा घटना शंकास्पद रहेको स्थानीयको भनाइ छ ।सचिव महतोले भने दराजमा ताला लगाएर पैसा राखेको र त्यसपछि ९ बजेतिर इन्टरनेट चलाउन नजिकैको वडा कार्यालय गएको बताएका छन् । उक्त घरमा सचिव महतोलगायत अरू २ जना भाडामा बस्ने गरेको र घरबेटी अर्कै घरमा बस्ने गरेको बुझिएको छ ।

महतोले सामाजिक सुरक्षाभत्ता वितरण गर्न गत साता मात्रै ६१ लाख रकम नगदै झिकेर लगेको बताए । करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरण गर्न कोठामा राखिएको उनको भनाइ छ ।प्रहरीले वडा सचिव महतो, नगरपालिकाका एक प्राविधिक सहायक र घरबेटीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी अस्थायी पोस्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रुपक खड्काले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला ल्याउन निर्देशन दिइएको खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार