• २०८१ कार्तिक २७ गते मङ्गलवार
  • Preeti To Unicode

एमालेका २२ जनाको देउवालाई मत, ओली समूहका ८ जनाले गरे फ्लोर क्रस, १६ जना अनुपस्थित


काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) का २२ जना सांसदहरुले विश्वासको मत दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा भएको मदतानमा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका हुन्। यसरी

मत दिनमा माधव नेपाल पक्षका मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरु पनि छन्।’हामी २२ जनाले मत दिएका छौँ। केही ओली पक्षका पनि हुनुहुन्छ,’ सांसद मेटमणी चौधरीले भने।प्रतिनिधि सभामा मतदानमा सहभागी भएका २४९ मध्ये देउवाको पक्षमा १६५ र विपक्षमा ८३ जनाले मात्र मत दिए। एक जना सांसद तटस्थ बसे।

ओली पक्षका क-कसले गरे फ्लोर क्रस ?
सांसद चौधरीका अनुसार प्रेम आले, कृष्णकुमार श्रेष्ठ, हिराचन्द्र केसी, पार्वती विशंखे, कलिला खातुन, विनादेवी बुढाथोकी,धनबहादुर बुढा र समिना हुसेनले फ्लोर क्रस गरेका हुन्। त्यस्तै माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, गोपाल बम, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, र कृष्णलाल महर्जनले पनि देउवाको पक्षमा मत दिएका छन्।

एमालेकै १६ जना अनुपस्थित
नेकपा एमालेको विवाद समाधानका लागि गठित वार्ता टोली र केही अरु सांसदले देउवालाई विश्वासको मत दिएनन्। उनीहरु संसद भवनबाट बाहिरिएका थिए। यसमा सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डेय, झपट रावल, घनश्याम भुसाल, दीपकप्रकाश भट्ट लगायतका नेताहरु छन्।

एमालेको शुक्रबार बसेको संसदीय दलको बैठकले देउवाको विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिएको थियो। उक्त निर्देशन विपरीत २२ जनाले देउवालाई मत दिँदा माधव नेपाल पक्षका केही र ओली पक्षका गरी १६ जना अनुपस्थित भए।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार