• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

ओलीलाई फ्लोर क्रस गर्ने २२ सांसदको आग्रह : क्षमाशील हुनुस्


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ सांसदले प्रतिशोधको राजनीति नगर्न पार्टी
अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव

दिएका छन् ।एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ सांसदको बैठक बसेको थियो । बैठकमा प्रतिनिसभा पुनर्स्थापनाका लागि खेलेको भूमिका र आगामी बाटोबारे छलफल भएको नेताहरुले बताएका छन् ।सांसदहरुले पार्टीले स्पष्टीकरण सोधेको भन्ने सुनेपनि पत्र नपाएको सांसद विरोध खतिवडाले बताए । ‘यो मिडिया खपतका लागि मात्र हो, हामीसम्म (पत्र) आएको छैन’ सांसद खतिवडाले भने ।

अर्की सांसद रामकुमारी झाक्रीले स्पष्टीकरण पत्र आए राजनीतिक रुपमा प्रतिवाद गर्ने र आवश्यक परे कानूनी लडाइँमा जाने बताइन् । साथै उनले बदला भाव त्याग्न र पार्टीलाई एकतावद्ध गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरिन् ।काठमाडौंमा रिसाएको बेला बिरालोले कहाँ गएर खाँबो चिर्थोछ भनेझैं बदला भाव नदेखाउन आग्ह गर्दै उनले भनिन्, ‘बदला लिने भए हामी तयार भयौं । त्यसैले क्षमाशील हुनुस् । पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुस्, अध्यक्ष छोड्नुस् ।

केपी ओलीको बटमलाइन : माधव नेपाल बाहेकको एमाले एकता
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भोलिपल्ट सोमबार नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्यो र २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले झण्डै एक घण्टा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टीकरण सोध्ने मात्र के बताएका थिए, हलले प्रतिवाद गर्‍यो । एक केन्द्रीय सदस्य भन्छन्, ‘फ्लोर क्रस गरेर गइसकेपछि स्पष्टीकरण किन सोध्ने ? अहिलेको अहिल्यै कारबाही गर्नुपर्छ भनेर एकछिन हो–हल्ला भयो ।’

उनका अनुसार शुरुमा राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक रहेका खिमलाल भट्टराई उठेर विरोध गरेका थिए । त्यसपछि अरु पनि उठेर ‘हुन्न हुन्न’ भनेका थिए । हलमा सहभागीमध्ये झण्डै ३० प्रतिशत उठेर विरोध गरेको एक सहभागीले सुनाए । मञ्चमा बसेका ओलीसहित स्थायी कमिटीका नेताहरुले केहीबेर हेरिमात्र रहे । केहीबेर मौन बसेपछि बोलेका अध्यक्ष ओलीले कानुनी प्रक्रिया पुर्‍याउन पनि उनीहरुलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए ।

बरु उनले २४ घण्टे स्पष्टीकरण सोध्ने र १० बुँदे सहमति अनुमोदन गर्ने प्रस्ताव अनुमोदन गर्न लगाए । सहभागी केन्द्रीय सदस्यहरुले ताली बजाएर अनुमोदन गरे । ओलीले साउनमा गर्ने भनिएको विधान अधिवेशन केही पछि सार्नुपर्ने जस्तो देखिएको र संगठन व्यवस्थापनबारे पनि निर्णय गर्नुपर्ने भन्दै भोलि (मंगलबार) ३ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् ।त्यसपछि नेता महेश बस्नेत उठेर प्रतिवाद गरे । बस्नेतले कानूनी प्रक्रिया पुर्‍याउने नाममा छुट दिइरहँदा राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी गरेको दाबी गरे । पार्टी रक्षात्मक भइसकेकाले कहिलेसम्म सोच्दै बस्ने भन्ने उनको प्रश्न थियो । तर अध्यक्ष ओलीले उनलाई कुनै जवाफ दिएनन् ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार