• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमसीसीमा भारतको सहमति खोज्दै सुटुक्क दिल्ली पुगे विमलेन्द्र निधि


बुधबार बुढानिलकण्ठ स्थित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा को निजी निवासमा बसेको पदाधिकारी बैठकमा उप
सभापति विमलेन्द्र निधि देखिएनन् । केही समय यता खासै औपचारिक समारोहमा नदेखिएका उनी आजको बैठकमा नदेखिनुको रहस्य भने बेग्लै छ।

उच्च स्रोतका अनुसार निधि अहिले नेपालमा छैनन् । उनी नेपाल एयरलाइन्सको फ्लाइटमार्फत बुधबार बिहान ११ बजे दिल्ली प्रस्थान गरेको सुरक्षा स्रोतले बतायो । नेपालको संसद्मा विचाराधीन रहेको एमसीसी परियोजना पारित हुनुपर्ने निरन्तर दबाब अमेरिकाले दिँदै आएको छ । यहीबीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी बिंल्केन भारत आएको मौका पारी सोही विषयमा छलफल गर्न निधि दिल्ली पुगेको बुझिएको छ । स्रोत भन्छ, ‘उहाँ दिल्ली जानुभएको छ । अमेरिकी विदेशमन्त्रीको भ्रमणको बेला पारेर एमसीसीको विषयमा प्रधानमन्त्री देउवाको दूत बनेर उहाँले विशेष छलफल गर्ने बुझिएको छ । यसका लागि भारतले सहजीकरण गरिरहेको बुझिएको छ ।’

स्रोतका अनुसार अमेरिकी विदेशमन्त्रीसँग आजै बेलुकी निधिको वार्ता हुनेछ । अमेरिकी विदेशमन्त्री र देउवाबीच मंगलबार बेलुकी टेलिफोन वार्ता भएका थियो । सो क्रममा नेपालको परराष्ट्र मन्त्रालय, स्वयम् देउवा तथा विदेश मन्त्री समेतले दुई पक्षीय हितको विषयमा छलफल भएको बताएपनि भित्री रुपमा भने एमसीसीकै विषयमा छलफल भएको स्रोतले बतायो ।

नेपाली काँग्रेसकै पालामा एमसीसी परियोजनामा सम्झौता भएको थियो । सो सम्झौता पारित हुनुपर्नेमा काँग्रेसले जोड दिदैं आएको छ । यद्यपी, सत्तारुढ गठबन्धनमा यो विषयमा मतभेद रहँदै आएको छ ।

आजै मात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अघि बढाए गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार