• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

नेतृत्वबारे माधव नेपालको तीन प्रस्ताव : दोस्रो नभएर समान हैसियतको अध्यक्ष हुनुपर्ने


काठमाडौं । नेकपा एमाले का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण अझै बनिनसकेको बताएका
छन् । आफू पार्टी एकताको पक्षमा रहेको तर, अध्यक्ष केपी शर्मा ओलीले संकटमा परेपछि एकताको हतारो गर्ने, तर फेरि अपमानयुक्त अभिव्यक्ति दिन

नरोक्ने गरेको नेता नेपालले बताए ।आफू निकट नेताहरुसँग नेता नेपालले अध्यक्ष ओलीको ‘आममाफी’ दिने अभिव्यक्ति जिब्रो चिप्लिएर मात्रै नआएको बताए । ‘आममाफी जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ,’ नेता नेपालको निष्कर्ष छ ।आफू एकताको विपक्षमा नरहेको, तर पार्टीमा सबैले सम्मानको अनुभूति गर्ने वातावरण बन्नुपर्ने उनले बताएका छन् । ‘अहंकारविरुद्ध अर्धविद्रोह गरेका हौं । पूर्ण विद्रोह भएको छैन,’ माधव नेपाल भन्छन्, ‘पूर्ण विद्रोह भनेको पार्टी विभाजन हो । एकताको पक्षमा उभिएकाहरु विभाजनमा जानु बाध्यता हो ।’आफू पार्टी एकताको निम्ति उभिएको उनले बताएका छन् । ‘२८ फागुनमा केपी ओलीले हामी सबैलाई सामूहिक रुपमा निष्कासन गर्ने निर्णय गरेको हो । तर हामीले अर्धविद्रोह मात्रै गर्यौं, अलग पार्टी बनाएनौं,’ नेपालको भनाइ छ ।

पार्टीभित्र सबैले सम्मानको अनुभूति गरेर मात्रै एकता हुने नेता नेपालको धारणा रहेको एक नेताले बताए । उनका अनुसार नेता नेपालले एमालेको दोस्रो अध्यक्ष नबन्ने अडान लिएका छन् । ‘तेस्रो अध्यक्ष त पहिले पनि प्रस्ताव गरिएको हो । अहिले दोस्रोमा के भिन्नता छ, यो मान्नै कुरै हुन्न,’ नेता नेपालको भनाइ छ ।सार्वजनिक अभिव्यक्तिबाट सुनेको, तर अध्यक्षको प्रस्ताव नआएको र आफूले पनि नमागेको बताउने नेता नेपालले नेतृत्वबारे तीन विकल्प प्रस्ताव गरेका छन् । लगातार आफ्नो समूहका नेताहरुसँग छलफल गरिरहेका नेता नेपालले नेतृत्वबारे छलफल गर्न आफू तयार रहेको जनाउ दिएका छन् ।

नेतृत्वबारे के–के छन् विकल्प ?
उनी निकट स्रोतका अनुसार नेता नेपालले पार्टी एकता कायम गर्न तीन विकल्प प्रस्तुत गरेका छन् । दोस्रो नभएर समान हैसियतको अध्यक्ष हुनुपर्ने नेता नेपालको अडान छ ।साथै ओलीसँगै आफू अध्यक्ष नबन्ने उनले बताएका छन् । यदि दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाल अर्को अध्यक्ष हुने उनको प्रस्ताव छ । खनाल स्वास्थ्य समस्याका कारण अहिले दिल्लीमा उपचाररत छन् । ‘दुई अध्यक्ष हुँदा झलनाथ खनाल हुने उहाँ (माधव नेपाल) को कुरा छ,’ एक नेता भन्छन् ।

उनको दोस्रो विकल्प अध्यक्ष मण्डल बनाउने छ । त्यस्तो अध्यक्ष मण्डल बनेमा ओली, खनाल र वामदेव गौतम रहने नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग बताएका छन् ।तेस्रो विकल्प ओली र आफू दुवैले पदीय जिम्मेवारीबाट बिदा लिने । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले बिदा लिएपछि नयाँ नेतृत्वले पार्टी चलाउने उनको प्रस्ताव छ ।

दशबुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले भने ओली र नेता नेपाल नरहेर एकता प्रक्रियाले पूर्णता नपाउने तर्क गरिरहेका छन् । ‘उहाँहरु रहेर एमालेको एकता प्रक्रिया सार्थक बन्छ । व्यक्तिगत प्रस्ताव र आक्रोशले होइन, सहमतिमै कुरा मिलाउँछौं,’ कार्यदलका एक सदस्य भन्छन् ।गएको २७ असारमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्मिलित दश सदस्यीय कार्यदलले दशबुँदे सहमति गरे पनि एमाले विवाद हल हुन सकेको छैन । अध्यक्ष ओली र नेता नेपालले आ–आफ्नो समूहको गतिविधि कायमै राखेका छन् ।

दुई पटक प्रतिनिधिसभा विघटन र पार्टी विभाजन गराउन तयार भएका ओली सुध्रने सम्भावना नरहेको र सहजै पार्टीमा एकता हुने नदेखिएको नेता नेपालले बताउने गरेका छन् । ‘जादुटुना गरेर (पार्टी एकता) होला जस्तो लाग्दैन । हिजो वामदेव कमरेड बालुवा पेलेर तेल निकाल्छु भन्नुहुन्थ्यो,’ उनले भनेका छन्।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार