• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

लुम्बिनी प्रदेश सांसद विमला वली तीन दिन अघिदेखि माओवादी केन्द्रको सम्पर्क बाहिर


बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टी को सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ । पार्टीको शनिबार
(आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले

बताए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको छ ।माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताए ।जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

‘हामीले संसदीय दलको वैठकमा उपस्थित हुन सबै माननीय ज्यूलाई फोन गरेर सूचना दिने क्रममा विमलाजीसँग सम्पर्क हुन सकेको छैन,’ थारुले भने, ‘उहाँको घरमा जाँदा र निर्वाचन क्षेत्रभर खोज्दा पनि भेटिनुभएको छैन ।’एमालेले भने विमला पार्टीको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा सहभागी भएको भन्दै विमलाले माओवादी केन्द्र रोज्न नपाउने जिकीर गर्दै आएको छ ।गत बैशाख १९ गते उनले पत्रकार सम्मेलन गरेर आफूले स्वेच्छाले माओवादी रोजेको घोषणा गरेकी थिइन् । प्रदेश सभा बैठकमा पनि उनी माओवादी केन्द्रकै लहरमा बस्दै आएकी थिइन् । नेकपा खारेजपछि प्रदेश सभा सचिवालयले आफ्ना सांसदहरुको नामावली माग गर्दा एमाले संसदीय दलले विमलाको नाम पठाएको थिएन ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी श्यामु अर्यालले सांसद खत्री दाङको सदरमुकाम घोराहीमा रहेको बताए । सांसद वलीसँग अनलाइनखबरले सम्पर्क गर्न पटक–पटक प्रयास गरेपनि उनले फोन रिसिभ गरेकी छैनन् ।८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र छन् भने विपक्षी गठबन्धनमा ४१ मत छ । विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।

प्रदेशमा नयाँ प्रदेश प्रमुख आएसँगै विपक्षी गठबन्धन विशेष अधिवेशनको समावेदन गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा छ ।एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वली आफ्नै पार्टीको भएकाले आफूहरुसँगै रहेको र कतै नगएको दावी गरे । केही दिनअघि जनता समाजवादी पार्टीकी सांसद पुरमति ढेंगालाई पनि सत्ता पक्षले आफूतिर तान्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

तत्कालीन नेकपा विभाजन भएपछि बहुमत गुमाएका मुख्यमन्त्री पोखरेलले जसपाका चार जनालाई सरकारमा सहभागी गराएर बहुमत पुर्याएका थिए । तर असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको थियो ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार