• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

लालबन्दीमा स्थानीय र प्रहरीबीच झडप


मलंगवा:सर्लाहीको लालबन्दी नगरपालिका- ६ मा शुक्रबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ।मोटरसाइकलबाट लडेर सामान्य
घाइते बनेकी लालबन्दी- ७ की २१ वर्षीया करुणा बानिया लाई टी.टी सुईको साटो रेबिजको सुई दिएपछि स्थानियबासी आक्रोसित बनेका छन्। स्थानीय

मोडेल अस्पतालमा सुई लगाउन पुगेकी बानियालाई टी.टी. सुईको साटो रेबिजको सुई दिएपछि स्थानीयबासी उग्र बन्दै चिकित्सकमाथि आक्रमणको प्रयास गरेका थिए।अस्पतालका चिकित्सकमाथि स्थानीय युवाहरुले आक्रमण गरेपछि प्रहरी आएर भीडलाई तितरबितर बनाएको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले ४ सेल अश्रु ग्याँससमेत प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए।शान्ति सुरक्षा गर्न पुगेका प्रहरी र कोरोनाको यस्तो विषम परिस्थितिमा काम गर्दै आएका चिकित्सकमाथि ढुङ्गमुढा गर्न थालेपछि प्रहरीलाई बाध्य भएर अश्रु ग्याँस प्रहार गर्नु परेको प्रहरी उपरीक्षक राठौरले बताए। उनले भने, ‘अस्पताल प्रशासनबाट केही कमजोरी भएको हो भने कानुनी उपचार छ। तर, सोझै आएर चिकित्सक र अस्पताल उपर आक्रमण गर्नु राम्रो होइन्।’ ढुङ्गामुढा गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको मध्यस्तता गर्न गएका अखिलका केन्द्रिय सदस्य रमेश घिमिरेलाई प्रहरी निर्घात कुटपिट गरी नियन्त्रणमा लिएपछि अखिलका नेता कार्याकर्ता झन आक्रोशित बनेका छन्। घिमिरेसहित अखिलका अर्का जिल्ला नेता अच्युत काफ्लेलाई समेत प्रहरीले हिरासतमा लिएको अखिलका नेता उज्जवल कार्कीले जानकारी दिए।

आफ्ना नेतालाई छोड्नुपर्ने माग गर्दै बिहानदेखि नै आफुहरु लालबन्दी इलाका प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन्। बिना कारण पक्राउ गरिएको भन्दै तत्काल बिना सर्तको रिहाइको माग गरेका छन्।

आफ्ना नेतालाई नछोडेसम्म धर्ना जारी राख्ने र कुनै किसिमको अस्पतालसँग छलफल र वार्ता नगर्ने अखिलका अर्का नेता सरोजबाबु न्योपानेले जानकारी दिए। गल्ती गर्ने अस्पताललाई कारबाही गर्नुको साटो आफ्नो नेतालाई नियन्त्रणमा लिनु कहाँको नियम हो ? उनले प्रश्न समेत गरे।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार