• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेको विघटित कार्यदलको निष्कर्ष : चाँडो एकता नगरे थप क्षति


नेकपा एमाले को विघटित एकता कार्यदलका नेता हरू ले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले
संसदीय दल को कार्यालय सिंहदरबार मा शनिबार बसेको विघटित एकता कार्य दलको बैठक मा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी

एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन् । ‘पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुङ्ग्याएर जानुपर्छ,’ बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भने, “अब ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो ।” उहाँले १० बुँदे सहमति र दुई अध्यक्षको प्रसङ्ग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि स्पष्ट पारे ।

नेता रघुजी पन्तले आज अपराह्न बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए । उनले भने, ‘हाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भयो ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अपराह्न पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । त्यसमा माधव नेपाल पक्ष सहभागी हुने, नहुनेबारे मौन देखिएको छ ।

नेपाल पक्षले पार्टी भित्र दुई अध्यक्षको व्यवस्था हुनुपर्ने प्रस्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्यदलले सहमति जुटाएको १० बूँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुङ्ग्याउनुपर्ने अडान राख्दै आएको छ ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार