• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सम्पर्कविहीन भनिएकी सांसद वली एमाले कित्तामा उभिइन्


केही दिनदेखि सम्पर्कविहीन भएको भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू एमालेमै रहेको बताएकी छन् । सोमबार
एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई एमाले कित्तामा उभ्याएकी हुन् । उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उनी यसअघि नेकपा माओवादी

केन्द्रतिर लागेकी थिइन् भने सोमबार विपक्षी गठबन्धनका तर्फबाट प्रदेश प्रमुख समक्ष पेस गरिएको निवेदनमा समेत उनलाई गणना गरिएको छ ।तर अहिले आएर वलीले आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानूनी रुपमा ठीक नभएको भन्दै एमालेमै रहेको बताएकी हुन् ।उनी दाङबाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।


मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’ उनले भनेकी छन्, नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्नबाट म चुनावमा उम्मेदवार भएको हो ।

पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुखसमेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । विमला एमालेमा फर्किएपछि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेशसभाको बहुमत नपुग्ने देखिएको छ ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार