• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव पक्षको केन्द्रीय कमिटी बैठक ११ बजे बस्दै, एमाले विवाद आजै वारपार हुने दाबी


काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा
बैठक बस्न लागेको हो । आजको बैठक ले एमाले विभाजन हुने नहुने बारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । अहिलेसम्मको परिस्थिति हेर्दा

पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।
केन्द्रीय सदस्य गंगालाल तुलाधरका अनुसार बैठक समसामयिक राजनीति र पार्टी एकताका सन्दर्भमा छलफल हुने छ । माधव नेपाल पक्षका अर्का एक नेताका अनुसार एमालेभित्रको अन्यौल अबको केही घण्टामा नै समाप्त हुने छ ।

थप एजेण्डा तय गर्न केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बस्ने छ । उनले भने, ‘केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि स्थायी कमिटीको बैठक बस्छ । थप एजेण्डा त्यही बैठकले तय गर्छ ।’

प्रतिनिधिसभा पुनर्स्थापना र नयाँ सरकार बनेपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ । माधव समूहले पार्टी फुटाएर जान केन्द्रीय कमिटीको म्यान्डेट लिनका लागि बैठक राखेको एमालेको केपी ओली पक्षको बुझाइ छ ।

माधव नेपाल पक्ष कसरी अगाडि बढ्छ भन्ने टुंगो लागिसकेको छैन । तर यो समूहले छुट्टै बैठक बोलाएपछि एमालेमा हुँदै आएको एकता प्रयास अवरुद्ध भएको र मिल्ने सम्भावना कम हुन थालेको विश्लेषण हुन थालेको छ ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार