• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव समूहको निष्कर्ष : १० बुँदे सहमतिको प्रस्ताव अपूर्ण, कार्यदलको बुझाइप्रति केन्द्रीय सदस्यहरू असहमत


नेकपा एमालेको माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी ओलीसँग एकताको सम्भावना क्षीण हुँदै गएको निष्कर्ष
निकालेका छन् । शुक्रबार बैठक मा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरू ले केपी ओली एकताको पक्षमा नरहेको र झुट मात्र बोलिरहेको निष्कर्ष

निकालेका हुन् । काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेका छन् ।केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन भन्ने केन्द्रीय सदस्यहरूको धारणा रह्यो । यो सबै केपी ओलीले झुटो बोलिरहेका छन् । उनी एकताको पक्षमा छैनन् । यसको भ्रममा नपरौँ भन्ने एकथरी केन्द्रीय सदस्यहरुको भनाइ थियो,’ बैठकबारे जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले भने । खतिवडाका अनुसार सबै केन्द्रीय सदस्यहरूले मूलत: तीन वटा विषयलाई प्राथमिकता दिएका थिए ।पहिलो, एकता भए सम्मानजनक र सह अस्तित्वका आधारमा हुनुपर्ने साथै आफ्नो पक्षले पनि जितेको देखिने गरी एकता हुनुपर्ने । दोस्रो, केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन । र, तेस्रो कार्यदलले गरेको मिहिनेत अपुरो छ । १० बुँदे सहमतिले आफूहरूको आकाङ्क्षा र एकतालाई विकसित गर्दैन । यसलाई पूर्ण बनाएर समग्रमा सम्झौता गर्नुपर्छ नत्र पुरानै दलदलमा फस्ने मात्र देखिन्छ ।

कार्यदलका साथीहरूलाई १० बुँदा भित्र एमालेको सम्पूर्ण जीवन अटाएको भन्ने लागेको छ । त्यहाँभित्र न्याय छ, समानता छ । त्यहाँ सबैको राजनीतिक अस्तित्व र हैसियत छ भन्ने वहाँहरुलाई लागेको छ । तर दु:खको कुरा अरू केन्द्रीय सदस्य कसैलाई पनि त्यस्तो लागेको छैन,’ खतिवडाले भने ।कार्यदलका सदस्यहरूले आगामी २४ गतेसम्म केही प्रगति हुने बताएकाले आफूहरूले त्यसलाई पर्खने पनि उनले जानकारी दिए । ‘हामीले २४ गते सम्मको डेडलाइन दिएका होइनौँ । २४ गते केपी ओलीले आफ्नो बैठक बोलाउनुभएको छ । वार्ता दलका साथीहरूले निश्चय केही नै प्रगति हुन्छ भन्नुभएको छ । त्यति बेलासम्म हेरौँ भन्ने कुरा उठेको हो ।

खतिवडाले अहिले आफूहरूको जोड अहिले सरकारभन्दा पार्टीको एकतामा नै रहेको पनि बताए । ‘केपी ओलीको स्वेच्छाचारी अडानलाई सरकारमा झारेर अन्त्य गरेका छौँ । अब दक्षिणपन्थी विसर्जनवादलाई पार्टीभित्र अन्तर पार्टी सङ्घर्ष गर्नुपर्छ । हामीले यसका लागि खुट्टा टेक्ने ठाउँ पायौँ, समानताको आधारमा पार्टीमा गयौँ भने हामी ओलीलाई नियन्त्रण गर्न र पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउन सक्छौँ भन्नेछ,’ उनले भने, ‘तर टेक्ने ठाउँ नदिइ हामीलाई तल पारेर ल्याउने ओलीको इरादा प्रति हामी सतर्क छौँ ।’

यता, नेता सोमप्रसाद​ पाण्डेले आफ्नो समूहले नयाँ पार्टी खोल्ने सम्भावना नरहेको बताएका छन् । ‘पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन । हामीले एकताकै पक्षमा छलफल गरेका छौ’, केन्द्रीय समिति बैठकपछि नेता पाण्डेले भने, ‘अहिले पार्टीमा दुईवटा ग्रुप भएको सत्य हो, दुरी पनि धेरै टाढा पुगेको हो तर पार्टी खोल्ने र नयाँ दर्ता गर्ने अवस्था छैन ।’ उनले बैठकमा सरकारमा जाने नजानेबारे प्रश्नहरू उठे पनि तत्काल आफ्नो समूह सरकारमा जान कानुनी समस्या रहेको बताए ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार