• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त ! को हुन् केसी ?


लुम्बिनी प्रदेशको मुख्यमन्त्री मा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचन ले संविधान को धारा १६८ को उपधारा (२)बमोजिम माओवादी
केन्द्रको संसदिय दलका नेता केसीलाई मुख्यमन्त्री मा नियुक्त गरेका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलीय गठबन्धनको तर्फबाट केसी मुख्यमन्त्री बनेका हुन् ।नेपाली काँग्रेस

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलीत गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित बिहान प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी पेश गरेका थिए। मुख्यमन्त्री केसी रोल्पा क्षेत्र नं.१ (क) बाट निर्वाचित सांसद हुन्। मुख्यमन्त्री नियुक्त भएसंगै साँझ ४ बजे सपथ ग्रहणको कार्य्रक्रम तय भएको छ। अपरान्ह चार बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए। सपथ ग्रहण गरेसंगै मुख्यमन्त्रीले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने छन्। माओवादी केन्द्र र नेपाली काँग्रेसबाट एक/एक जना र जसपाबाट तीन जना मन्त्री बन्नेछन्।

को हुन् केसी ?
तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।नेकपा (एमाले) र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए ।नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०६९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए । २०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर २०४८ देखि २०५० सम्म शिक्षण पेशामा आवद्ध उनी २०५० देखि ०५२ सम्म नेकपा (एकता केन्द्र)को रोल्पा इलाका सेक्रेटरी थिए । २०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे ।२०५६ मा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी २०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने । २०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार भए र २०६३ मा रिहा भए ।

२०६३ देखि ६८ सालसम्मको अवधिमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहे । त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बने ।लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न लागेका कुलप्रसाद केसी उग्र अभिव्यक्तिहरुका कारण बेलाबेला विवादमा पर्ने गरेका छन् । मोहन वैद्य नेतृत्वको माओवादीमा रहँदा उनले प्रचण्ड र बाबुराम माओवादी जनसेनाबाटै असुरक्षित रहेको अभिव्यक्ति दिएका थिए ।

दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने विषयमा प्रदेशसभा बैठकमा निर्णय हुँदै गर्दा आन्तरिक मामिला तथा योजना मन्त्री रहेका उनले विपक्षी सांसदहरुलाई ‘घिसारेर बाहिर निकाल्’ भन्दै मर्यादापालकहरुलाई आदेश दिएका थिए ।उनको प्रायः उग्र र कतिपय अवस्थामा अमर्यादित सार्वजनिक अभिव्यक्तिले अप्ठ्यारोमा पार्ने गरेको माओवादी केन्द्रकै नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार