• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जब मेस्सीले बार्सिलोना छाड्नुपर्ने खबर पाए….


काठमाडौं बार्सिलोना छाड्नुअघि आयोजित पत्रकार सम्मेलनमा फुटबल स्टार लिओनल मेस्सीले आँशु रोक्न सकेनन् । उजी निकै भावुक देखिएका थिए । बार्सिलोनामा
बस्न तयार भए पनि त्यो सम्भव नभएको उनको गुनासो थियो । हुन पनि उनी क्लबसँग नयाँ सम्झौता गर्ने गरी कोपा अमेरिका जितेर बार्सिलोना फर्किएका थिए ।तर जब उनका एजेन्ट

समेत रहेका बुबा जोर्जे मेस्सीले बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टालाई भेटे, सम्झौता नहुने थाहा पाए । बुबा घरमा आएपछि मेस्सीले त्यो खबर थाहा पाए ।उनले सबभन्दा पहिला पत्नी एन्टोनेलालाई सुनाए । ‘त्यसपछि हामीहरु खुब रोयौं किनकि हामी निकै दुःखी थियौं,’ बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् ।त्यसपछि छोराहरुलाई बार्सिलोना छाड्नुपर्ने भयो भनेर कसरी सुनाउने भनेर उनीहरुले कुरा गरेका थिए । मेस्सीले भने, ‘डिसेम्बरमा हामीले उनीहरुलाई बार्सिलोनामै बस्छौं भनेर भनेका थियौं । त्यसैले त्यो समाचारले विशेषगरी थिएगोलाई ठूलो धक्का पर्न सक्थ्यो ।’उनीहरुले सोचेजस्तो भने भएन । बार्सिलोना छाड्नुपर्ने समाचारले उनीहरुलाई धेरै दुःखी बनाएन ।यद्यपि थिएगोले मनभित्र पीडा लुकाएको हुनसक्ने मेस्सीको अनुमान छ ।

भन्छन्, ‘म उसलाई राम्रोसँग बुझ्छु । ऊ पनि मजस्तै छ । उसले मनमनै कुरा लुकाइरहेको हुन्छ । तर यो गम्भीर अवस्था भने होइन । उसले बिस्तारै स्वीकार गर्छ । यो उसका लागि राम्रो अनुभव हो ।’पेरिस आउँदा भने आफू बेचैन भएको मेस्सीको भनाइ छ । बार्सिलोनाले आफू क्लबमा रहन नसक्ने बताएसँगै केही दिनदेखि अनिदो रहेका मेस्सीलाई पेरिस आउँदा अब के होला भन्ने चिन्ता थियो । मेस्सी भन्छन्, ‘हामीले त्यतिबेलासम्म कुनै निर्णय गरेका थिएनौं ।

यो समयमा हामी कहाँ जाने ? के गर्ने ? हरेक परिवार सर्दा धेरै उथलपुथलको सामना गर्नुपर्छ । तर, मैले मानिसहरुसँग कुरा गर्न थालें । वार्ता निकै छिटो भयो र सबै कुरा ठिकठाक अघि बढ्यो । वार्ता सफल भएसँगै अब आगामी दिनमा कस्तो अवस्थाको सामना गर्नुपर्ने हो र के परिवर्तन ल्याउनुपर्ने हो भन्ने कुराको मात्र चिन्ता बाँकी भएको मेस्सी बताउँछन् ।

उनी थप्छन्, ‘मेरो लागि र मेरो परिवारको लागि नयाँ परिवर्तनले के असर पार्छ भन्ने सोच्नुपर्ने थियो । यो पक्कै पनि नयाँ युग हो र नयाँ अनुभव हो ।’आफ्नो परिवारका सबै सदस्य खुशी रहेको मेस्सीले सुनाए ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार