• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपाल वामदेव गौतमजस्तो अपमान सहेर बस्ने व्यक्ति हैन


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी
राख्ने बताएका छन् । शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रम लाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर

संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताए । ‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो । विकृति विसंगति धेरै कुरामा देखापरे’, नेता नेपालले भने, ‘यो समस्याको समाधान गर्ने कि त्यहीभित्र छिर्ने भन्ने प्रश्न छ । त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम गरिँदैन, त्यसका विरुद्ध जुधिन्छ’ उनले अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि बताए । ‘वामदेव कमरेडजस्तो अपमान भएर, अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने ? न रुन सकिने न हाँस्न सकिने ? त्यो अवस्थामा कोही पनि नपरून्’ नेता नेपालको भनाइ छ । उनले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।

प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रैन्छ : शंकर पोखरेल
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गरेका छन् ।आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको उनको आरोप छ ।

‘पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता,उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्‍यौं । पार्टी एकता गर्‍यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नु भएको रैन्छ,’ पोखरेलले भने, ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो ।’ आजको परणामले त्यही पुष्टि भएको उनले बताए ।

दाङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोपसमेत लगाए ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार