• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कुलमानले बनाए नयाँ ‘टिम’ महत्वपूर्ण निर्देशनालयमा व्यापक हेरफेर


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालका लागि आफ्नो ‘टिम’ बनाउन सुरु गरेका छन् । नेतृत्व
फेरिए सँगै माथिल्लो तहबाट जिम्मेवारी हेरफेर भएको सुरु भएको हो । उनले पहिलो चरणमा केही उपकार्यकारी निर्देशक र निर्देशनालय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

घिसिङ कार्यकारी निर्देशकबाट विदा भएपछि ‘लोडसेडिङ अन्त्य गर्ने टिम‘का सदस्यहरुको ब्यापक सरूवा भएको थियो । कार्यकारी निर्देशक भएर पदबहाली गरेकै दिनमा घिसिङले ‘राइट म्यान इन राइट प्लेस’लाई प्राथमिकता दिने बताएका थिए ।उनले जीवनकै सबैभन्दा ठूलो चुनौती स्वीकारेर प्राधिकरणमा दोहोरिएको भन्दै कुनै पनि सम्झौता नगर्ने र विगतमा जस्तै राम्रो ‘टिम’ बनाएर काम गर्ने बताएका थिए । घिसिङको यसअघिको टिमका केही महत्वपूर्ण सदस्यहरुले यसअघि नै अवकास पाइसकेका छन् भने केही अवकासको नजिक छन् ।घिसिङले सबैभन्दा महत्वपूर्ण मानिने ग्राहक तथा वितरण सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ल्याएका छन् । सिलवालले यसअघि घिसिङलाई आयोजना कार्यान्वयन निर्देशनालयमा बसेर सघाएका थिए । पछिल्लो समय इन्जिनियरिङ सेवा निर्देशनालयमा रहेका सिलवाललाई घिसिङले यसपटक वितरण प्रणालीको विस्तार र सुधार गर्ने जिम्मा दिएका छन् ।

ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हररराज न्यौपानेलाई उत्पादन निर्देशनालयमा प्रमुखमा जिम्मेवारी दिइएको छ । यसअघि घिसिङको टिममा रहेर लोडसेडिङ अन्त्य गर्न न्यौपानेले ग्राहक तथा वितरण सेवा निदेशनालयबाट महत्वूर्ण भूमिका खेलेका थिए ।न्यौपानेलाई यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि ग्राहक तथा वितरण सेवा निर्देशनालयमा नै राखेका थिए । न्यौपानेको कार्यकाल अब करिब एक वर्ष मात्रै बाँकी रहेकाले नयाँ व्यक्तिलाई सो जिम्मेवारीमा अभ्यस्त गराउन घिसिङले सिलवाललाई वितरणतर्फ लगेको प्राधिकरण स्रोत बताउँछ ।

उत्पादन निर्देशनालयका प्रमुख तथा प्रवक्ता मदन तिमल्सिनालाई सहायक कम्पनी अनुगमन निर्देशनालयको निमित्त प्रमुखमा सरूवा गरिएको छ । उनलाई पूर्वकार्यकारी निर्देशक शाक्यले उत्पादन निर्देशनालयको प्रमुखमा रूपमा ल्याएका थिए । सो निर्देशनालय विगत ३ वर्षदेखिको भूमिकाविहीन रहेकाले तिमल्सिनालाई त्यहाँ नयाँ ढंगले काम थाल्ने चुनौती छ ।त्यसैगरी आयोजना व्यवस्थापन निर्देशनालयको प्रमुखमा निर्देशनालयमै कार्यरत तारा प्रधानलाई तोकिएको छ । आयोजना व्यवस्थापन निर्देशनालयको प्रमुख रहेका उपकार्यकारी निर्देशक रामजी न्यौपानेलाई इन्जिनियरिङ सेवा निर्देशनालयमा लगिएको छ ।

उपकार्यकारी निर्देशक माधव कोइरालालाई एनईए इन्जिनियरिङ कम्पनीको प्रवन्ध निर्देशक र अर्का उपकार्यकारी निर्देशक विज्ञानकुमार श्रेष्ठलाई तामाकोसी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा यथावत राखिएको छ ।प्राधिकरणको उपकार्यकारी निर्देशकबाट राजीनामा नदिएकाले पूर्वकार्यकारी निर्देशक शाक्य पनि उपकार्यकारी निर्देशकमा कायमै छन् । जल तथा उर्जा आयोगमा सचिव सरहको पूर्णकालीन सदस्य नियुक्त भएका शाक्यले उक्त पदको नियुक्तिपत्र बुझेका छैनन् । प्राधिकरणमा पनि उनको जिम्मेवारी तोकिएको छैन ।

अर्थ निर्देशनायका प्रमुख रहेका उपकार्यकारी निर्देशक रहेका लेखनाथ कोइराला यथावत छन् । उनी यही भदौमा नै अवकास पाउनेको सूचीमा छन् ।घिसिङले प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठ, योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका प्रमुख रवीन्द्र चौधरी र भारप्रेषण केन्द्रको प्रमुख सुरेशकुमार भट्टराईलाई सोही पदमा कायम राखेका छन् ।

विद्युत् व्यापार विभागको प्रमुख रहेका प्रवल अधिकारीले उमेर हदका कारण अवकास पाउने मितिबारे विवाद भएपछि राजीनामा दिएका छन् । तर, स्वीकृत भएको छैन । उनले सिटरोलमा अन्य कागजातमा भन्दा २ वर्ष बढी उमेर लेखेका कारण देखाउँदै जबरजस्ती छिटो अवकास दिन खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार