• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

अफगानिस्तानको राष्ट्रपति भवन तालिबानको नियन्त्रणमा, ‘इस्लामिक ईमिरेट अफ अफगानिस्तान’ घोषणा को तयारी


तालिबानका वरिष्ठ कमाण्डर हरुले अफगानिस्तान को राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिइसकेको दावी गरेका छन् ।राष्ट्रपति असरफ घानी देश छाडेर ताजकिस्तान
गएसँगै तालिबानले राष्ट्रपति भवन आफ्नो नियन्त्रण मा लिएको एपीले उल्लेख गरेको छ।त्यस्तै, तालिबानले छिट्टै नै सत्ता आफ्नो हातमा लिने र राष्ट्रपति भवनबाट ‘इस्लामिक ईमिरेट अफ

अफगानिस्तान’को घोषणा गर्ने बताइएको छ। २००१ मा पनि तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक ईमिरेट अफ अफगानिस्तान’ भएको घोषणा गरेको थियो। तर, ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको आतंककारी हमलापछि पश्चिमी देशहरुसँग मिलेर अमेरिकाले तालिबानलाई सत्ताबाट हटाएको थियो।अमेरिकी र नेटो सैनिकहरु फिर्ता आउनु भन्दा केही हप्ता अघिदेखि नै तालिबानले विभिन्न शहरहरुमा आफ्नो नियन्त्रण बढाएको थियो। सोही क्रममा शनिवार तालिबान लडाकुहरु राजधानी काबुललाई नियन्त्रणमा लिएका हुन्।काबुलस्थित अमेरिकी दूतावासले आफ्ना सबै कामहरु स्थगित गरेको छ भने अमेरिकी नागरिकहरुलाई सुरक्षित स्थानमा बस्न भनेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको समेत दूतावासले जनाएको छ।तालिबान लडाकुहरु काबुल प्रवेश गरेदेखि नै अमेरिकाले आफ्ना कूटनीतिज्ञहरु तथा नागरिकहरुलाई उद्धार गर्ने काम तीव्र पारेको छ।

‘काबुलको सुरक्षा अवस्था निकै संवेदनशील छ र विमानस्थलको अवस्था पनि बिग्रदैँ गइरहेको छ,’ दूतावासले एक विज्ञप्तिमा भनेको छ, ‘विमानस्थलमा गोली चलेको रिपोर्ट आएको छ। हामी अमेरिकी नागरिकहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ। अफगानिस्तानको अमेरिकी दूतावासका सबै कूटनीतिक काम कारबाहीहरु स्थगित भएका छन्। अहिले दूतावास वा विमानस्थलमा कोही पनि नआउनुहोला।’फ्रान्सले हाललाई आफ्नो काबुलस्थित दूतावास विमानस्थलमा सारेको छ र त्यहाँ रहेका आफ्ना नागरिकहरुको उद्धार कार्यलाई तीव्र पारेको छ। उनीहरुलाई तत्काल उद्धार गरी अबुधावी लगिने बताइएको छ।

त्यस्तै, आफ्ना नागरिकहरु र अफगान सहयोगी कर्मचारीको उद्धार गर्न जर्मनीले पनि सैनिक विमान पठाएको छ। क्यानडाले अफगानिस्तानसँगको कूटनीतिक काम कारबाहीलाई स्थगित गरेको छ भने क्यानडाका कूटनीतिज्ञहरु घर फर्किने क्रममा छन्। टर्कीले भने काबुलस्थित आफ्नो दूतावास सञ्चालनमै रहने बताएको छ।

यसैबीच, अफगानिस्तानका नेताहरुले तालिबानसँग भेट गर्न समन्वय परिषद् गठन गरेका छन्। परिषद्मा पूर्व राष्ट्रपति हामिद कार्जाई पनि समावेश छन्। परिषद्ले तालिबानलाई शक्ति हस्तान्तरण गर्न व्यवस्थापन गरिरहेको बताइएको छ।त्यस्तै, तालिबानका प्रवक्ताले पश्चिमी मुलुकहरु समर्थित सरकार र सेनासँग काम गर्नेहरुलाई माफी दिइने अल जजीरालाई बताएका छन्।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार