• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

अध्यादेश माग गर्दै महन्थ ठाकुर बालुवाटारमा, उपेन्द्र यादव पक्ष झस्कियो


जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहानै ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्रीसँगको भेटमा नेता ठाकुरले चाँडो

भन्दा चाडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए । ‘महन्थ ठाकुरसहितका नेताहरु बालुवाटार आउनुभएको थियो । खासगरी उहाँहरुले जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेको भन्दै सहजीकरण गरिदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो,’ स्रोतले भन्यो ।सरकारले सोमवार रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा छ । तर, सत्ता गठबन्धनमै रहेको उपेन्द्र यादव नेतृत्वको जसपाले भने त्यस्तो अध्यादेश ल्याउँदा आफ्नो पार्टीलाई असर गर्ने भन्दै आपत्ति जनाएको बुझिएको छ ।यहीबेला बालुवाटार पुगेर ठाकुर पक्षले दल विभाजन सम्बन्धी अध्यादेश माग गरेपछि उपेन्द्र यादव पक्ष थप झस्किन पुगेको छ । आज बस्ने जसपा केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने एक नेताले बताए ।

जसपाको केन्द्रीय समिति बैठक बस्दै
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठक मंगलबार राजधानीमा बस्दैछ ।पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागिता, भागवण्डा, मन्त्री चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

डिल्लीबजार, कालिकास्थानस्थित एउटा पार्टी प्यालेसमा बिहान ११ बजे जसपा नेपालको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने सो पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य मनिष सुमनले रातोपाटीलाई जानकारी दिए ।पहिलो बैठक भएकाले जनपरिचालन, अभिमुखीकरण लगायतका विषयमा छलफल हुने उनले बताए ।

महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाएसँगै जसपामा ५१५ केन्द्रीय सदस्य कायम गरिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो भने जसपाको साधारण सदस्यमा मात्र सीमित छन् । पार्टीले उनीहरुलाई केन्द्रीय समितिबाट हटाएको हो ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार