• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

एमाले स्थायी कमिटी बैठक शुरु : अध्यादेश आउनु अघि नै माधव पक्षलाई कारबाही गरिने


नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि बैठक सुरु भएको हो । एमाले अध्यक्ष ओलीले
सोमबार राति अपिल जारी गर्दै सरकार ले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको

सरकारले सोमबारमात्रै संसद् अधिवेशन अन्त्य गरेको थियो । सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमाले अध्यक्ष ओलीको सक्रियता एकाएक बढेको छ । अध्यक्ष ओलीले स्थायी समिति लगतै आजै ३ बजे संसदीय दलको बैठक पनि बोलाएका छन् । अध्यादेशबारे चर्चा चलिरहेका बेला ओलीले लगातार बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले नेताहरूका अनुसार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकाले त्यसअघि नै माधव समूहका केही नेताहरूलाई कारबाही गर्ने अध्यक्ष ओलीले लगातार बैठक बोलाएका हुन् । ‘पार्टी अनुशासन उल्लङ्घन गर्ने केही नेतालाई स्थायी समितिबाट निर्णय गरेर दलको बैठकमार्फत कारबाही गर्ने सम्भावना छ’, ओली निकट एक स्थायी समिति सदस्यको भनाई छ ।

अध्यादेश ल्याउन बालुवाटारमा मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । केही बेरपछि बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार निकट स्रोतले जनाएको छ । बैठक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन बोलाएको बुझिएको छ ।

मन्त्रिपरिषद् बैठकअघि देउवाद्वारा काँग्रेसका नेताहरुसँग परामर्श
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अपरान्ह १२ बजेर १५ मिनेटदेखि बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्भावना प्रवल रहेको छ । सरकारले सोही अध्यादेश ल्याउने उद्देश्यका साथै सोमबार मध्यरातदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको थियो । बैठकअघि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेताहरुसँग परामर्श गरेका छन् । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कासँग परामर्श गरेका हुन् ।

सरकारले एमालेको माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याउन लागेको बुझिएको छ । तर, सो अध्यादेशको असर जसपासम्म पनि पर्नसक्ने आँकलन गरिएको छ । जसपाको आधिकारिकता आफ्नो पक्षमा नपाएका महन्थ ठाकुर दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको समेत खुलासा भएको छ । मंगलबार बिहानै ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा नेता ठाकुरले चाँडोभन्दा चाडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए ।ठाकुरले अध्यादेश माग गरेपछि उपेन्द्र यादव पक्ष थप झस्किन पुगेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार