• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमालेले आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची, ८ समानुपातिक सांसदलाई हटाउने तयारी


काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको
सूची आयोगमा पठाएको हो । नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६०

जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो ।हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ ।यस्तै समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ । यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागिएको एक नेताले जानकारी दिए ।
स्थायी कमिटीमा ओलीको ब्रिफिङ : यिनीहरुलाई पहिल्यै कारवाही गर्नुपर्थ्यो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न ढिलो भएको बताएका छन् । उनीहरुमाथि अस्ति नै कारवाही गर्नुपर्नेमा केही नेताहरुले मिलौँ भनेका कारण कारवाहीमा ढिलाइ भएको ओलीको भनाइ छ ।

मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यिनीहरुलाई कारवाही पहिल्यै गर्नुपर्ने थियो । यिनीहरु कारवाहीका लायक नै हुन् ।’यसअघि माधव नेपाल लगायतका नेताहरुले एमालेले पटक–पटक स्पष्टीकरण सोधेर पनि अहिलेसम्म कारवाही गरेको छैन । २४ घण्टे स्पष्टीकरण सोधेकै बेला कार्यदलका सदस्यहरुले वार्ता चलिरहेको भन्दै कारवाहीमा जानबाट रोकेका थिए । तर, आफूले पहिल्यै कारवाही गर्न चाहे पनि कार्यदलका नेताहरुको कुरा सुनेर कारवाही नगरेको ओलीले मंगलबारको बैठकमा बताएका हुन् ।

यसअघिको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली आफैंले ‘एम्नेष्टी इज ग्रान्टेड’ भन्दै आममाफी दिने घोषणा गरेका थिए । मंगलबार बसेको स्थायी कमिटीको बैठकमा माधव नेपाल पक्षलाई कारवाही गर्ने प्रस्ताव आएको एक स्थायी कमिटी सदस्यले बताए । ती नेताले रातोपाटीसँग भने ‘आजको बैठकमा कारवाहीको औपचारिक प्रस्ताव आएन, संसदीय दलले के गर्छ, थाहा भएन ।’सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको थाहा पाउनासाथ एमालेले मंगलबार नै स्थायी कमिटीको बैठक र त्यसलगत्तै संसदीय दलको बैठक बोलाएको हो ।

यसैबीच, मंगलबार नै एमाले नेताहरुले निर्वाचन आयोगमा पुगेर केन्द्रीय कमिटीको नामावली अद्यावधिक गरेका छन् ।सरकारले पार्टी विभाजनका लागि केन्द्रीय कमिटीमा ४० प्रतिशतको साटो २० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याएसँगै एमालेले केन्द्रीय कमिटीको संख्या थपेर आयोगमा अद्यावधिक गराएको हो । एमालेले केन्द्रीय कमिटीको संख्या २६० बनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार