नेकपाएमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम,चुनाव चिन्ह र हँसियाहथौडा अंकित झण्डा प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ।
एमालेका तर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । दाहालले कार्यालयमा दर्ता गरेको पत्रमा एमालेको नामसँग मिल्ने गरी
माधव नेपाल समूहलाई पार्टीको नाम दर्ता नगर्न माग गरिएको छ । निवेदन दर्ता गरिसकेपछि दाहालले भने, ‘राजनीति दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत नेपाल समूहलाई प्रयोग गर्न दिन मिल्दैन । एमालेले बुझाएको पत्रमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेको हुनाले उनीहरुलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने जिकिर गरिएको छ ।
कारबाहीमा परेका १४ सांसदमध्ये ९ जना केन्द्रीय सदस्य रहेकाले उनीहरुलाई २०३ सदस्यीय केन्द्रीय सदस्यको प्रतिशतमा गणना गर्न नमिल्ने दाहालले रातोपाटीलाई बताए । यसैबीच माधव नेपाल समूहले शुक्रबार पार्टीको नाम परिवर्तन गर्ने निर्णय गर्दै आयोगमा गएर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएको छ । एमालेले माधव नेपाललाई हँसिया हथौडा प्रयोग गर्न नदिने भनेपछि एमाले, माओवादी, नेमकिपा, जनमोर्चा, माले, विप्लव समूहलगायतका सबै कम्युनिस्ट पार्टीले हँसिया हथौडा अंकित झण्डा नै प्रयोग गर्दै आएका छन् ।
सनाखत गर्न माधव र महन्थ ठाकुरको पार्टीलाई आयोगले बोलायो
निर्वाचन आयोगले माधव नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भदौ ९ गते बोलाएको छ । शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले दुवै दललाई भदौ ९ गते सनाखतका लागि बोलाएको हो ।
प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भदौ ९ गते ११ बजेदेखि २ बजेसम्मको समय छुट्टयाएको आयोग स्रोतले जनाएको छ । यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा फुर्को जोड्न नमिल्ने भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए ।