• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

ग्राहकको एक अर्ब ११ करोड रकम फिर्ता गर्न एनसेललाई निर्देशन


काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई प्रयोगकर्ता को अनुमति बिना सेवा दिएर लिएको शुल्क फिर्ता गर्न निर्देशन
दिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले एक अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो ।दूरसञ्चार प्राधिकरणको सो निर्णय शुक्रबार

प्रमाणीकरण भएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए । २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म एनसेलले स्वतः नवीकरण गरी गरी ‘गेमलफ्ट’ र ‘हुवावे एप ग्यालरी’ नामक भ्यास सेवाबाट ग्राहकबाट असुलेको रकम फिर्ता गर्न निर्देशन दिएको हो ।प्राधिकरणका अनुसार यसबाट करबाहेक १ अर्ब ११ करोड ३७ लाख आर्जन गरेको पाइएको थियो । प्राधिकरणले गत भदौ १९ गते एनसेललाई कारबाही किन नगर्ने भन्दै पत्र काटेको थियो । गत असार १७ गते पुनः यो विषयमा एनसेलसँग स्पष्टीकरण मागिएको थियो ।एनसेलले भने तेस्रो पक्षले प्रदान गर्ने सेवा भएकाले मोबाइलमा भएको ब्यालेन्स सेवा खरिद वापत भुक्तानीका लागि उपयोग गरिएको बताएको थियो ।

२०७५ असोज ६ गतपछि पूर्व स्वीकृति नलिई सेवा नवीकरण नगरिएको एनसेलको दावीलाई प्राधिकरणले भने सत्य नभएको ठहर गरेको छ ।‘अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणको स्वीकृति नलिई त्यस्ता सेवा सञ्चालन गरेको र प्राधिकरणको निर्देशन विपरीत सेवा सञ्चालन र अटो रिन्यु गरिरहेकाले एनसेल आजियाटालाई कारबाही गर्ने निर्णय गरिएको हो,’ प्राधिकरणको ठहर छ ।

एनसेलले तीन महिनाभित्र गैरकानुनी रुपमा लिएको १ अर्ब ११ करोड रूपैयाँ ग्राहकको मोबाइलमा फिर्ता गर्नुपर्ने भएको छ । रकम फिर्ता भएको जानकारी प्राधिकरणलाई दिनुपर्नेछ ।२०७७ जेठ १८ पछि गरिएको स्वतः नवीकरण विवरण पेश गर्न कम्पनीलाई १५ दिनको सयम दिइएको छ । दूरसञ्चार ऐन २०५३ विपरीत कार्य गरेकाले ५० हजार जरिवाना समेत गरिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार