• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेले बोलायो स्थायी कमिटी बैठक, एकता पक्षधर नेताहरु पनि सहभागी हुने


काठमाडौं । नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका,तर उनको पार्टीमा नगएका नेताहरु पनि
सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले

१० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनका अनुसार भोलिको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ । नेकपा एमालेको संस्थापन पक्ष र तेस्रो धारका नेताहरुबीच पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर सहमति खोज्ने बारेमा छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्माओली र तेस्रो धारका नेताहरु भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच सोमबार भएको छलफलमा उक्त सहमति भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

नेता भट्टराईका अनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि नेकपा एमालेको २०७५ जेठ २ को अवस्थाका सबै पार्टी कमिटीलाई क्रियाशील बनाउन अध्यक्ष केपी शर्माओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएका छन् । ‘नेकपा एमालेको एकता बचाउनलाई मूलतः १० सदस्यीय कार्यदलले तयार पारेको प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ भन्ने कुरालाई हामीले जोड दियौँ’ ओलीसँगको छलफलपछि भट्टराईले भने, ‘त्यसमा अध्यक्ष र हाम्रो बीचमा एउटा सहमति भएको छ ।’

उनले १० बुँदे प्रस्तावलाई कार्यान्वयनको प्रक्रिया अघि बढाउने भन्दै उक्त प्रस्ताव कार्यान्वयनको ठोस मोडालिटी बनाउन भोलि नै स्थायी कमिटी बैठक आव्हान गर्ने सहमति भएको बताए । भट्टराईका अनुसार भोलि बस्ने स्थायी समिति बैठकले प्रस्ताव कार्यान्वयनका लागि तिथि मिति समेत तय गर्नेछ । स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएर स्थायी समितिले गरेको सहमतिलाई परिष्कृत बनाउनेछ ।‘२०७५ साल जेठ २ को एमालेको केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा र टोलसम्मका पार्टी कमिटी क्रियाशील हुन्छन् । आजको हाम्रो छलफलको पहिलो निष्कर्ष त्यो हो’ भट्टराईको भनाई छ । ओलीसँगको छलफलमा नेताहरुको जिम्मेवारी पनि जेठ २ को अवस्थामै यथावत राख्ने सहमति भएको छ ।

त्यस्तै भोलिकै स्थायी समिति बैठकले नयाँ पार्टी दर्ता प्रक्रियामा रहेका नेता माधवकुमार नेपाललाई दल दर्ताको प्रक्रियाबाट फर्कन अपिल गर्ने तयारी भएको नेता भट्टराईले जानकारी दिए । उनले त्यसमा अध्यक्ष केपी शर्माओली समेत विगतका कमी कमजोरीमा नफर्कने बताएको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार