• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, प्रदेश १ मा मुख्यमन्त्री फेर्ने तयारी


नेकपा एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलाे पटक केपी ओली नेतृत्वको एमालेको
केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे ।एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको हो । बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई आधिकारिकता दिएको थियो । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।​

प्रदेश १ मा मुख्यमन्त्री फेर्न एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले विभाजनको असर प्रदेश सरकारमा पनि पर्न थालेको छ । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि आजै एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

एमाले संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिने तयारी छ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको एक नेताले बताए ।

मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार