• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त


प्रदेशनम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्।मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेशप्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई
मुख्यमन्त्री नियुक्त गरेका हुन्।नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो।

प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाइएको हो । मुख्यमन्त्री नियुक्त भएका आचार्यले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ । माधव नेपाल पक्षले बुधबार मात्रै निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ भने त्यसको असर प्रदेशमा पर्ने निश्चित छ । प्रदेश १ को कुल सांसद संख्या ९३ हो । सरकार बन्नका लागि चाहिने बहुमत संख्या ४७ हो । आजका दिनसम्म नेकपा एमालेसँग एकल बहुमत अर्थात् ५१ सांसद छन् । तर यीमध्ये पाँचजना सांसद मात्रै माधव नेपालको पक्षमा लागेको खण्डमा एमालेको बहुमत गुम्ने निश्चित छ ।

प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियालाई फौजदारी मुद्दा लागेर फरार भएका कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन् । समाजवादीमा गएका केही सांसद एमालेमै रहे भनेपनि बहुमत पुर्याउने गरी सांसदलाई एमालेले टिकाउन नसक्ने एक सांसदले बताए । यसअघि एमाले सचिव भीम आचार्य माधव नेपाल पक्षमा रहँदा १८ सांसद माधव नेपालको पक्षमा खुलेका थिए भने ३३ जना ओलीको पक्षमा थिए । तर, तेस्रो धारमा रहेका आचार्य एमालेमै समाहित भएपछि पुरानो समीकरणमा केही फेरबदल आएको छ । अब माधव नेपालको पक्षमा राजेन्द्रकुमार राईसहित ९ सांसद रहेको नेपाल पक्षको दाबी छ ।

एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन
नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार