• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

२० जना माधव नेपाल पक्षका केन्द्रीय सदस्य लागे ओलीतिर एमालेको बैठकमा सहभागी हुँदै…. (सूचीसहीत)


नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बनाएपछि एमालेका नेताहरूको पार्टी रोज्ने क्रम तीव्र
बनेको छ। यसै क्रममा यसअघि नेपाल पक्षमा रहेका एमालेका २० जना केन्द्रीय सदस्य ओली अर्थात् एमालेतर्फ लागेको यस पार्टीको उच्च स्रोतले जानकारी दिएको छ।स्रोतका अनुसार

सर्वाेच्च अदालतले पार्टी पुनःस्थापना गरेयता ती नेताहरु आज पहिलोपटक एमालेको बैठकमा सहभागी हुँदै छन्। एमाले उच्च स्रोतले उपलब्ध गराएको सूचीअनुसार भानुभक्त जोशी, झपट रावल, राजबहादुर बूढा, ठाकुर गैरे, रवीन्द्र अधिकारी एमालेमै रहने भएका हु्न्।यस्तै निरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धर पनि एमालेमै बस्ने भएका हुन्।यसैगरी अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले पनि एमालेमै आबद्ध हुने भएका हुन्।

नेपाल पक्षका अरू थप नेता पनि एमालेतिरै आउने क्रम जारी रहेको उच्च स्रोतले दाबी गरेको छ। यसअघि मंगलबार मात्र लामो समय नेपाल पक्षमा रहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघु पन्त, गोकर्ण विष्टलगायत १० नेता एमाले पुनःस्थापनायता पहिलोपटक स्थायी कमिटीको बैठकमा सहभागी हुँदै एमालेमा एकताबद्ध भएका छन्।

नेकपा नाम विवादमा सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा बदर गर्दै एमाले र माओवादी केन्द्र अलग भएको फैसला सुनाएयता एमालेभित्र तीव्र विवाद भइरहेको थियो। त्यसयता एमाले माधव नेपाल र केपी शर्मा ओली पक्षमा विभाजित भएको थियो भने नेपाल पक्षले ओलीले बोलाएका हरेक बैठक बहिष्कार गरिरहेको थियो।

माथि उल्लिखित २० जना केन्द्रीय सदस्य पनि पार्टी पुनःस्थापनायता ओलीले बोलाएका कुनै बैठकमा सहभागी भएका थिएनन्। नेता नेपालले नयाँ दल गठन गरेपछि उनीहरू पनि आज पहिलोपटक एमालेको बैठकमा सहभागी हुन लागेका हुन्। एमालेले आज केन्द्रीय समितिको आकस्मिक बैठक राख्दै छ।उता माधव नेपाल पक्षले भने हिजो बुधबार मात्र निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार