• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमसीसी अगाडि बढाउनुपर्छ : नेपाल


काठमाडौँ— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)र नेपाल सरकारबीच भएको
सम्झौता परिमार्जनसहित अगाडि बढाउनुपर्ने बताएका छन् ।नयाँ पार्टीका योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बिहीबार अध्यक्ष नेपालले तत्कालीन नेकपाले झलनाथ

खनालको संयोजकत्वमा गठित कार्यदलको सुझावअनुसार एमसीसी अगाडि बढाउनुपर्ने बताए ।एमसीसी सुधार गरेर, परिमार्जन गरेर अगाडि बढाउनुपर्छ । नेपालको हितमा प्रयोग होस् र त्यो कुनै पनि रणनीतिक योजनाको अंग नबनोस् । विदेशीहरूका विरुद्धमा लक्षित नहोस्,’ अध्यक्ष नेपालले भने । एमसीसीले नेपाली हितको कुठाराघात नगर्ने गरी अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यदलले अगाडि सारेका मान्यताअनुसार अगाडि बढ्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको नेपालले प्रष्ट पारे ।एमसीसीबारे अध्ययन गर्नका लागि तत्कालीन नेकपाले खनालको संयोजकत्वमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलमा रहेका खनाल र रावलले एमसीसी परिमार्जनसहित अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए भने ज्ञवालीले जस्ताको तस्तै संसद्बाट पारित गर्नुपर्ने फरक मत लेखेका थिए । उनले एमसीसी नबुझेकाले विरोध गरिरहेको बताएका थिए ।एमसीसीलाई लिएर दलहरू विभाजित हुँदा यो योजना अलपत्र परेको छ ।

नेपालको ऊर्जा र सडक पूर्वाधारमा अमेरिका र नेपालको संयुक्त लगानीमा यी क्षेत्रमा ठूला परियोजना अगाडि बढाउने एमसीसीमा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार