• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

दोस्रो पुस्ताका नेताहरू आफ्नो पाटीमा आए अध्यक्ष दिन आफु तयार रहेको माधव नेपालको घोषणा


नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका
छन्।अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्व छाड्न तयार रहेको घोषणा समेत गरे । आफ्नो पार्टी निकट

पेसागत महासङ्घ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाई नगरेको पटकपटक दोहो¥याए । अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनी हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाई होइन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्क समेत गरे । उनले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले भने, ‘खाली कूप्रचार बाहेक केही पनि छैन । यस्ता झूटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस् । उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरू इमानदार, क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन् ?’

अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए । सो अभियानमा पदलोलुप नभई काम गर्न उनले पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।


स्रोत : रातो पाटी

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार