• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सत्ता डगमगाउने डरले जयसिंह धामीको प्रतिवेदन गुपचुप !


शेरबहादुरदेउवा नेतृत्वको गठबन्धन सरकारले सत्ताधरापमा पर्ने खतरा देखेकाकारण दार्चुलाका जयसिंह धामी घटनाको प्रतिवेदन बाहिर नल्याए
को प्रमुख प्रतिपक्षी दल एवं परराष्ट्रविद्ले बताएका छन् । नेकपा एमाले नेता खगराज अधिकारीले अहिले कसैका लागि ‘कम्फर्टेबल’ सरकार बनेको र यस्तो

‘कम्फर्टेबल’ सरकार जयसिंह धामी जस्ताको हत्या लुकाउन ‘कम्फर्टेबल’ रहेको प्रतिक्रिया दिए । उनले घटनाबारे छानबिन गरेको यथार्थ प्रतिवेदन बाहिर ल्याउन सरकारलाई आग्रहसमेत गरे ।अधिकार सम्पन्न छानबिन समिति बनाएर अनुसन्धान नगरी सत्यतथ्य बाहिर आउन नसक्ने बताउँदै अधिकार सम्पन्न संसदीय छानबिन समिति नै बनाउनुपर्ने एमाले नेता अधिकारीको माग छ ।सांसद अधिकारीले रातोपाटीसँग कुरा गर्दै भने, ‘जसले हाम्रो नागरिकको हत्या गरेको छ, त्यसलाई कारबाही गर्नुपर्छ । सरकारले जुन लापरबाही र ढिलासुस्ती गरेको छ, त्यसप्रति हाम्रो खेद छ । सरकारको यो अकर्मण्य कामको हामी घोर भर्त्सना गर्छौँ । सरकारलाई ‘कम्फर्टेबल’ बनाउनका लागि प्रतिवेदन बाहिर नआउन पनि सक्छ । अरूको इसारामा बनेको प्रतिवेदनले सत्य कुरा बाहिर नल्याउने पनि हुन्छ । यस्ता धेरै घटना देखिरहेका छौँ ।’

प्रतिवेदन सार्वजनिक हुँदैमा दुई देशको सम्बन्ध बिग्रँदैन: बुद्धिनारायण श्रेष्ठ
सीमाविद् बुद्धिनारायण श्रेष्ठले सत्यतथ्य प्रतिवेदन बाहिर आउनुपर्नेमा प्रतिवेदन बाहिर नल्याउनका लागि सरकारले ढिलो गरेको आरोप लगाए ।श्रेष्ठले भने, ‘त्यहाँका सबै स्थानीयहरूले भनेका छन्, जयसिंह धामी तुईनबाट जमीनमा ओर्लन २ मिटर मात्रै बाँकी थियो, डोरी खुस्काइदिएर उनी नदीमा बगेर गए भनेका छन् । एसएसबीका दुई जना जवान भागेर गएको स्थानीयले भनेका छन् । यस्तो सत्य तथ्य कुरा प्रतिवेदनमा आउनुपर्ने हो ।’

सीमाविद् श्रेष्ठले अगाडि भने, ‘त्यो प्रतिवेदन बनाउनेवालाले पनि त्यहाँको अवस्था देखेकै होला । जयसिंह बेपत्ता भएको एक महिना भयो, समिति बनेको पनि एक महिना हुन लाग्यो । भारतीय एसएसबीले तुइन खुस्काएर नेपाली युवा जयसिंह धामी मरे भनेर प्रतिवेदन लेख्दा नेपाल र भारतको सम्बन्ध बिग्रने पनि हैन, दुई देशको सम्बन्ध एकदम तल जाने पनि हैन, माथि जाने पनि हैन ।’अहिले नेपालमा मन्त्रिपरिषद् विस्तार नै नभइसकेको अवस्थामा कुर्सी डगमग होला, भारतीय प्रभावले मन्त्रिमण्डल बनाउन नसकिएला र प्रधानमन्त्रीको क्षमतामा ह्रास आउला भन्ने दृष्टिकोण अपनाएको हुन सक्ने श्रेष्ठको आशंका छ ।

परिवारलाई १० लाख दिएर जयसिंह धामी प्रकरण थामथुम
दार्चुलास्थित नेपाल भारत सिमाना महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले तुइन काटेर बेपत्ता भएका जयसिंह धामी प्रकरणमा सरकार मौन देखिएको छ ।सरकारले गत साउन १७ गते नै धामी बेपत्ता प्रकरणको सत्य तथ्य पत्ता लगाउन छानबिन समिति बनाए पनि समितिको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

पछिल्लोपटक भदौ १० गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले बेपत्ता भएका जयसिंह धामीको बारेमा यथाशीघ्र सत्य तथ्य पत्ता लगाएर घटनाको यथार्थ विवरण सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो ।बैठकमा गृहमन्त्री, प्रहरी महानिरीक्षक सहितको टोलीलाई बोलाएर दुई–दुई पटक निर्देशन दिँदा पनि सरकारले छानबिन प्रतिवेदन सार्वजनिक गरेको छैन । संसदीय समितिले बोलाएकै दिन बसेको मन्त्रिपरिषद्को बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार