• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

प्रदेश २ का सांसदले छाडे माधव नेपालको साथ


जनकपुरधाम । प्रदेश २ का दुई सांसदले माधवकुमार नेपालको साथ छाडेका छन् । सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने निर्णय लिएका हुन् ।
नेकपा एकीकृत समाजवादी रोजेका एमाले सांसदहरु बिहीबार सनाखतका लागि जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा जाने तय भएको थियो ।एमालेमा माधव नेपाल

पक्षका १३ सांसद थिए । सांसद डिल्लीप्रसाद उप्रेती उपचारका लागि भारतको दिल्ली गएका कारण १२ जना आउने भनिएको थियो । तर १० जना मात्रै उपस्थित भए । उनीहरुले एकीकृत समाजवादी रोजेका छन् ।दुई जना किन आएनन् ? सनाखत गर्नेहरुले मौसमका कारण आउन नसकेको बताएका थिए । तर दुई सांसद वीरगञ्जमा आयोजित नेकपा एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी भएको पाइएको छ ।बैठकमा सहभागी सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने प्रतिक्रिया दिएका छन् । ‘लामो समयदेखि यही पार्टीबाट राजनीति गर्दै आएका छौं,’ उनीहरुले अनलाइनखबरसँग भने, ‘अब पनि यहीं बसेर राजनीति गर्छौं ।’

अन्तरसंघर्षका बेला नेता नेपाललाई साथ दिएको भए पनि पार्टी फुटाउन साथ दिन नसकिने बताएका छन् । ‘हिजो अन्तरसंघर्ष थियो । त्यही भएर हामीले साथ दियौं,’ एमाले सांसद गुरुङले भनिन्, ‘पार्टी नै फोडेपछि साथ दिन्न सकिन्नँ । ३५ वर्षदेखि रगत पसिना बगाएर बनाएको पार्टी छाडेर अन्यत्र जान सकिन्न ।’

अर्का सांसद विश्वकर्मा पनि हिजो अन्तरसंघर्ष रहेको बेला साथ दिएको, तर पार्टी फुटाउँदा साथ दिन नसकिने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म एमालेमै बस्छु ।’विश्वकर्मा र गुरुङ दुवै जना बाराका सांसद हुन् । विश्वकर्मा बाराको ४ क बाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक सांसद हुन् । गत चैतमा एमाले संसदीय दलका नेताबाट अध्यक्ष केपी शर्मा ओली निकट सत्यनारायण मण्डललाई हटाएर माधव पक्षीय शत्रुधन महतोलाई बनाउन दुवै सांसदले हस्ताक्षर गरेका थिए ।

महतोसहित गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रविन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले भने बिहीबार एकीकृत समाजवादी रोजेर सनाखत गरेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार