• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

विन्डोज ११ को पूर्ण संस्करण निशुल्क अपग्रेड प्राप्त हुँदै ….


काठमाडौं।माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोज १० प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि आगामी अक्टोबर ५ देखि विन्डोज ११ को निशुल्क अपग्रेड प्राप्त हुँदैछ
।कतिपय विन्डोज प्रयोगकर्ताहरुले हाल बेटा भर्सनमा विन्डोज ११ प्रयोग गरिरहेकोमा अक्टोबरमा आउने विन्डोज ११ को पूर्ण संस्करण बग तथा अन्य समस्यामुक्त हुनेछ ।तर विन्डोज

११ को पूर्ण संस्करणमा केवल बग मात्र नहुने होइन, बेटा भर्सनमा रहेका कतिपय महत्वपूर्ण फिचरहरु पनि उपलब्ध हुने छैनन् । विन्डोज ११ मा उपलब्ध नहुने एउटा महत्वपूर्ण फिचर चाहीँ एन्ड्रोइड एपहरु सपोर्ट नगर्नु हो ।माइक्रोसफ्टका अनुसार विन्डोज ११ मा अक्टोबर भन्दा केही महिना पछाडि मात्र एन्ड्रोइड एपहरु उपलब्ध हुनेछन् । यसको अर्थ सुरुवातका केही महिनासम्म प्रयोगकर्ताहरुले आफ्नो कम्प्युटरमा टिकटक र इन्स्टाग्राम एप चलाउन पाउने छैनन् ।माइक्रोसफ्ट कम्पनीको विन्डोज मार्केटिङ विभागका महाप्रबन्धक आरोन उडम्यानका अनुसार माइक्रोसफ्ट स्टोर तथा विन्डोज ११ मा एन्ड्रोइड एप्हरु भित्राउनका लागि अमेजन र इन्टेलसँग सहकार्य चलिरहेको छ ।उनका अनुसार सुरुवातमा विन्डोजका विशेष प्रयोगकर्ताहरु अर्थात् विन्डोज इनसाइडरहरुका लागि मात्रै विन्डोज ११ मा अमेजन एपस्टोर मार्फत् एन्ड्रोइड एपहरु उपलब्ध हुनेछन् जुन केही समयपछाडि अन्य आम प्रयोगकर्तालाई उपलब्ध गराइनेछ ।

आम प्रयोगकर्ताका लागि विन्डोज ११ मा एन्ड्रोइड एप केही महिनापछि प्राप्त हुने माइक्रोसफ्टले बताएपनि ठ्याक्कै मिति चाहीँ खुलाएको छैन । माइक्रोसफ्टले अक्टोबर देखि चरणबद्ध रुपमा विन्डोज ११ को सुरुवात गर्न लागेको हुँदा सबै प्रयोगकर्तासमक्ष विन्डोज ११ पूराएर त्यसमा एन्ड्रोइड एप पनि उपलब्ध गराउनका लागि केही लामो समय लाग्ने अपेक्षा गरिएको छ । यसको अर्थ विन्डोज ११ मा एन्ड्रोइड एपहरु उपलब्ध हुनका लागि सन् २०२२ को मध्यसम्म कुर्नुपर्ने हुनसक्दछ ।

स्मरण रहोस् विन्डोज ११ लञ्च गर्ने समयमा माइक्रोसफ्टले यस अपरेटिङ सिस्टमको सबैभन्दा महत्वपूर्ण फिचरका रुपमा एन्ड्रोइड एप सपोर्ट गर्ने उल्लेख गरेको थियो । माइक्रोसफ्टका अनुसार विन्डोज ११ मा अमेजन एपस्टोरमार्फत् टिकटक, इन्स्टाग्राम, उबर, लिफ्ट लगायतका ५ लाख भन्दा धेरै एन्ड्रोइड एप उपलब्ध हुनेछन् ।प्रयोगकर्ताहरुले आफ्नो पर्सनल कम्प्युटरलाई मोबाइल फोनसँग आबद्ध गराउने हुनाले माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टमले एन्ड्रोइड एपलाई पनि सपोर्ट गर्नु निकै महत्वपूर्ण हुनेछ । एप्पलको हकमा म्याक, म्याकबुक र आइफोन यसरी पहिले नै आबद्ध भइसकेका छन् ।

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता भएको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमलाई विन्डोजले आफुमा जोड्न सक्नु उसका लागि निकै फाइदाको विषय बन्न सक्दछ ।हाल विन्डोज ११ को बेटा भर्सनमा माइक्रोसफ्टले गुगल प्ले स्टोर पनि उपलब्ध गराएको छ । तर अक्टोबरदेखि त्यो उपलब्ध हुनेछैन, किनकी गुगल पनि क्रोमबुक मार्फत् आफै पर्सनल कम्प्युटरको व्यवसायमा रहेको छ । गुगलको क्रोमबुकमा मज्जाले एन्ड्रोइड एपहरु चलाउन सकिन्छ ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार