• २०८१ असार ४ गते सोमवार
  • Preeti To Unicode

देशभर कति छ एमालेको सम्पत्ति ? माधव नेपालले कति पाउँछन त एमालेको सम्पति ?


०७२ सालमै थियो तीन अर्ब ६३ करोडको सम्पत्ति,पार्टी विभाजनपछि नेकपा एस सम्पत्तिमा कानुनी दाबी गर्ने आधार खोज्दै,एमाले पुनः अभिलेखीकरण गर्दै एमाले देश
को सबैभन्दा धनी पार्टी हो, ऊसँग केन्द्रदेखि जिल्लासम्म मात्र होइन, विदेशमा पनि सम्पत्ति छ । दल विभाजन हुँदा सम्पत्तिमा लाग्ने दाबीबारे स्पष्ट कानुनी व्यवस्था नभएकाले सरोकार

वालाले फरक–फरक व्याख्या छन् । दल दर्ता गरेर छुट्टिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले सम्पत्तिमा कानुनी दाबी गर्ने आधार खोज्न थालेको छ । एमालेले भने फुटेको दलले चल–अचल कुनै पनि सम्पत्तिमा दाबी गर्ने कानुनी आधार नरहेको निष्कर्षसहित देशभर पुनः अभिलेखीकरणका लागि काम अगाडि बढाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले छुट्टिएर गएको दलले पार्टीको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताए । ‘राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजन हुँदा सम्पत्ति भागबन्डा गर्नुपर्ने कुनै व्यवस्था छैन । परिवार छुट्टिँदा अंशबन्डा गर्ने कानुनी व्यवस्था भए पनि पार्टीबाट छुट्टिँदा सम्पत्तिको अंशबन्डा हुने विषय कुनै पनि कानुनमा छैन,’ केन्द्रीय कार्यालय सचिव तामाङले नयाँ पत्रिकासँग भने, ‘बरु, विशुद्ध एमालेलाई फुटाउने गरी अध्यादेश ल्याउँदा सम्पत्ति भागबन्डाको विषय राख्नै बिर्सिनुभएछ । त्यसैले कानुनमा व्यवस्था नभई उहाँहरूले कुनै दाबी गर्ने नै स्थिति छैन ।’ एमालेको आर्थिक विभागको आइतबारको बैठकले जिल्ला पार्टी कार्यालयहरूमार्फत देशैभर रहेका पार्टीका चल–अचल सम्पत्ति पुनः अभिलेखीकरण (अपडेट) गर्ने निर्णय गरेको छ ।

देशभरिको सम्पत्ति विवरण र देशभर पार्टी कार्यालयको खाताको विवरण केन्द्रीकृत भइसकेपछि देश–विदेशमा रहेका जोकोहीले एमालेको सम्पत्ति जान्न पाउने गरी वेबसाइटमा अभिलेखीकरण गर्ने एमालेको तयारी छ । नेकपा एसले पूर्वपार्टीको सम्पत्तिमा राजनीतिक रूपमा दाबी कायम रहेको, तर कानुनी दाबी गर्ने कि नगर्ने विषय भने अध्ययनपछि मात्र टुंगो लाग्ने बताएको छ । ‘एमालेको सम्पत्तिमा के गर्ने भन्ने विषय कानुनी रूपमा अलमल नै छ । त्यसैले हामीले कानुनी क्षेत्रका साथीहरूलाई अध्ययन गर्न भनेका छौँ । उहाँहरूले के निष्कर्ष निकाल्नुहुन्छ, त्यसपछि मात्रै के गर्ने भन्न सकिन्छ,’ नेकपा एसका स्थायी समिति सदस्य बेदुराम भुसालले नयाँ पत्रिकासँग भने, ‘राजनीतिक दलसम्बन्धी ऐनमा आधिकारिकता प्राप्ति गर्ने प्रक्रियाका बारेमा मात्रै उल्लेख छ । तर, सम्पत्तिका बारेमा हक लाग्ने कि नलाग्ने भन्ने केही पनि उल्लेख छैन । हामीलाई चाहिँ पार्टी विभाजन भइसकेपछि सम्पत्ति पनि बाँडफाँड हुनुपर्ने हो भन्ने लागेको छ । राजनीतिक हिसाबले सम्पत्तिमा हाम्रो दाबी रहन्छ । तर, कानुनी हिसाबले ठहर हुने भएन भनेचाहिँ अर्थ हुँदैन ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सम्पत्ति आपसी समझदारीअनुसार बाँडफाँड हुने र नभए अदालतसम्म जाने बताउँछन् । ‘विभाजित भएपछि दलको सम्पत्ति आपसी समझदारीअनुसार बाँडफाँड हुन्छ । समझदारी भएन भने मूल पार्टीले लिएर बस्छ । कहीँ–कतै बाहुबल जसको छ, उसैले कब्जा गरेर पनि बस्ला । चित्त नबुझे अदालत जान त जोकोही सक्छ । अदालतले कानुनअनुसार फैसला गर्छ,’ उनले भने ।तर, संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली कानुनअनुसार फुटेको दलले सम्पत्ति पाउने बताउँछन् । ‘अहिले नेकपा एकीकृत समाजवादी एमालेबाट वैधानिक रूपमा छुट्टिएको हो । अध्यादेशअनुसार २० प्रतिशतबाट छुट्टिए पनि कानुनले नयाँ पार्टीतिर लागेका सांसद र केन्द्रीय सदस्यलाई मान्यता दिएको छ, उनीहरूको पद गएको छैन । त्यसैले त्यही पार्टीबाट फुटेर अर्को पार्टीले वैधता पाइसकेपछि सम्पत्तिमा पनि स्वतः हक लाग्छ,’ उनले भने । तर, निर्वाचन आयुक्त रामप्रसाद भण्डारी भने ऐन, कानुन र पम्पराअनुसार सम्पत्ति विभाजन नहुने बताउँछन् ।

‘राजनीतिक दल पूर्णतया विघटन भएको खण्डमा सम्पत्ति सरकारको हुन्छ । तर, विभाजन भएको खण्डमा के गर्ने भन्नेबारेमा ऐन कानुनमा ठेगान छैन । जस्तो कि अहिले एमालेको के गर्ने भन्ने विषयमा त्यो पार्टी बाँकी छ कि छैन भन्नेले अर्थ राख्छ । अहिले त एमाले पार्टी नै कायम रहेकाले सम्पत्ति पनि उसैको हुने भयो ऐन, कानुन र पम्पराअनुसार सम्पत्ति विभाजन हुँदैन,’ उनले भने ।

०७२ सालमै थियो एमालेसँग तीन अर्ब ६३ करोड मूल्यबराबरको सम्पत्ति
काठमाडौं उपत्यकाभित्रै एमालेको बल्खुमा नौ रोपनी दुई आना जग्गा र त्यसमा रहेको भूकम्पले भत्काएको भवन, पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौंको चम्पादेवीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छ । एमालेका जिल्ला कमिटीसँग आफ्नै भवन छन् । कतिपय क्षेत्र, नगर–गाउँ कमिटीका पनि आफ्नै भवन छन् । तिनै भवनबाट पार्टीले दैनिक कार्यालय सञ्चालन गर्दै आएको छ । सम्पत्ति र संगठनका हिसाबले एमाले नेपालका अन्य दलमध्ये धनी र अब्बल मानिन्छ । उसको भारतको नयाँदिल्लीस्थित उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्यको जग्गा छ । पार्टीको भारत प्रवास कमिटीले खरिद गरेको उक्त जग्गा अहिले प्रवासमा काम गर्ने नेताका नाममा छ ।

०७२ को भदौमा केन्द्र्रीय सदस्य नीरज आचार्यले देशैभर पार्टीको सम्पत्तिको खोजी गरेर एमालेको मुखपत्र नवयुगमा लेख प्रकाशन गरेका थिए । ‘मैले सबै जिल्लामा लामो समय अध्ययन गर्दा त्यतिवेलै ६६ जिल्लामा आफ्नै भवन बनिसकेको थियो, भवनले चर्चिएको जग्गासहित चलन–चल्तीको हिसाब गर्दा तीन अर्ब ६३ करोड मूल्यबराबरको सम्पत्ति थियो,’ आचार्यले नयाँ पत्रिकासँग भने, ‘पार्टीसम्बद्ध प्रतिष्ठानबाहेक त्यतिवेलाको चलनचल्तीको मूल्यमा हिसाब गरिएकाले ६ वर्षको अन्तरालमा पक्कै पनि सम्पत्तिको मूल्य धेरै बढेको हुनुपर्छ ।’ आचार्यले चक्रपथसँगै जोडिएको तत्कालीन एमालेको केन्द्रीय कार्यालय रहेको बल्खुले चर्चिएको नौ रोपनी दुई आना जग्गाको मूल्य प्रतिआना २० लाखको हिसाबले औसत मूल्य निकालेको जानकारी दिए । जब कि बल्खुको त्यही ठाउँको जग्गाको मूल्य अहिले प्रतिआना ४५ लाख नाघिसकेको छ । त्यस हिसाबले औसतमा मूल्यांकन गर्दा पनि अहिले एमालेको भौतिक सम्पत्ति मात्रै कम्तीमा पाँच अर्बमाथि पुगेको छ भन्ने अनुमान लगाउन सकिन्छ । पछिल्लो ६ वर्षमा एमालेले अरू सम्पत्ति पनि जोडेको छ ।

आचार्यले ठूलो सम्पत्ति रहेको मनमोहन प्रतिष्ठान, पुष्पलाल प्रतिष्ठान, मदन–आश्रित स्मृति प्रतिष्ठान, तुल्सीलाल स्मृति प्रतिष्ठान, मोतीदेवी स्मृति प्रतिष्ठानलगायत नेताहरूको नाममा खुलेको प्रतिष्ठानका सम्पत्ति विवरणको अध्ययन नगरेकाले उनीहरूको सहित एमालेसँग अर्बौँ सम्पत्ति रहेको सहजै अनुमान गर्न सकिन्छ । यद्यपि, ती प्रतिष्ठानका सम्पत्तिमा लालपुर्जा नभएकाले एमालेको हक भने लाग्दैन । ‘केन्द्रीय प्रचार विभागको आग्रहमा दुई महिनाजति लगाएर मैले सम्पत्ति विवरणको लगत संकलन गरेको थिएँ, त्यो नै अहिलेसम्म पार्टीको आधिकारिक सम्पत्ति विवरण हो,’ नेता आचार्यले नयाँ पत्रिकासँग भने, ‘त्यसवेलाको किनबेचको मूल्यसहित हामीले पार्टीको सम्पत्ति विवरण तयार पारेका थियौँ ।’

एमालेले केन्द्रीय लेखा आयोगमार्फत आर्थिक वर्षको अडिटिङ सकेर निर्वाचन आयोगमा हिसाबकिताब बुझाउने तयारी गरेको छ । पार्टी एकताताका एमालेको खातामा चार करोडभन्दा माथि पैसा रहे पनि एकता भंग भएर एमालेसमेत पुनर्गठित भएपछि एमालेले बैंकमा रहेको अन्तिम मौज्दात निकालिसकेको छैन । पार्टीको नियमित खर्च लेबीबाट चल्दै आएको छ । ‘पार्टीको खातामा रहेको पैसा र खर्चको नेकपा हुँदा अपडेट गराइएको थियो । अहिले लेखा आयोगले अडिटिङ गरिरहेकाले आर्थिक वर्षको अडिट सकिएपछि मात्र खाताको मौज्दात यकिन हुन्छ र भन्न सकिने अवस्था छ,’ कार्यालय सचिव तामाङले भने ।

तत्कालीन एमाले र माओवादीबीच ३ जेठ ०७५ मा एकीकरण भएपछि दुवै दलले सम्पत्ति एकीकृत गर्ने प्रयास गरे पनि त्यसलाई कानुनी रूप दिन भने बाँकी नै थियो । यद्यपि, दुवैतर्फका नेताहरू सम्मिलित कार्यदलले प्रदेश तहसम्म सम्पत्तिबारे अध्ययन गरे पनि त्यसलाई अन्तिम रूप भने दिइएको थिएन ।

माधव–झलनाथको पालाको सम्पत्ति खोज्ने निर्णय
एमालेले तत्कालीन पार्टी प्रमुख रहेका माधव नेपाल र झलनाथ खनालको नेतृत्वकालमा अदृश्य रूपमा सम्पत्ति राखेको हुन सक्ने आशंका गर्दै खोजबिनसमेत गर्ने भएको छ । ‘एमालेको सम्पत्ति कहीँ–कतै हिजो पार्टी प्रमुख हुँदा कसैले अदृश्य रूपमा राखेको छ कि भनेर खोजी गर्ने कुरा भएको छ । एमालेको सम्पत्ति बुझबुझारथ गर्नैपर्छ,’ कार्यालय सचिव तामाङले भने, ‘सम्पत्ति अनसिन छ भन्ने अहिले अनुमान छैन, पार्टी पारदर्शी नै छ । तर, यदि एमालेका देशैभरिका सम्पत्तिको लेखाजोखा, अद्यावधिक र कसैको जिम्मामा छ भने आर्थिक विभागको बैठकबाट खोजी गर्ने निर्णय भएको छ ।’ पछिल्लो समय ०५० देखि ०६५ सम्म नेपाल महासचिव र ०६५ देखि ०७१ सम्म खनाल अध्यक्ष थिए ।

त्यस्तै, एमालेले नेकपा एसका अध्यक्ष नेपालले नेतृत्व गरिरहेको पुष्पलाल प्रतिष्ठानलाई पुनर्गठन गरेर पार्टी संरचनाको दायराभित्र ल्याएर चलाउने तयारीसमेत गरेको छ । ‘हिजो पार्टी प्रमुखको हैसियतमा माधव कमरेड अध्यक्ष हुनुहुन्थ्यो, त्यसयता प्रमुख नभए पनि निरन्तर हुनुभयो, तर अब प्रतिष्ठानको विधानअनुसार पुनर्गठन गर्छौँ र चलाउँछौँ,’ एमालेकै एक स्थायी समिति सदस्यले भने ।

कुन जिल्लामा कति सम्पत्ति ?

प्रदेश १ अन्तर्गतका जिल्ला

१. ताप्लेजुङ : फुङलिङमा एक रोपनी ६ आना जग्गामा तीनतले पक्की भवन बन्दै ।

२. तेह्रथुम : म्याङलुङमा तीन रोपनी जग्गामा बनेको सभाहलसहितको दुईतले पक्की भवन । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा पनि पार्टीको नाममा जग्गा र भवन ।

३. इलाम : इलामबजारमा चार आनामा बनेको तीनतले पक्की घर ।

४. झापा : बिर्तामोड नगरपालिका– ५ मा तीन कठ्ठा जमिनमा बनेको डेढतले पक्की भवन । जिल्लाका १५ वटै स्थानीय तहमा आफ्नै जग्गामा बनेका भवन ।

५. मोरङ : विराटनगर महानगरपालिका– ११ मा चार कट्ठामा बनेको दुईतले भवन । विराटनगर– ३ मा दश धुर जग्गा । बेलबारी नगरपालिकामा एक कट्ठा जग्गामा बनेको पक्की भवन ।

६. सुनसरी : इनरुवामा दुई कठ्ठा पाँच धुर जग्गामा दुईतले भवन । इटहरी नगरपालिकामा १० धुर जग्गामा तीनतले भवन । धरानमा आठ धुर जमिनमा तीनतले भवन । धरान– १५ मा तीन धुर जग्गा ।

७. धनकुटा : धनकुटा नगरपालिका– ७, श्रीवानीमा दुई रोपनी चार आना जग्गामा तीनतले भवन ।

८. भोजपुर : सदरमुकाममा तीन आना जग्गामा भवन बनाइँदै ।

९. संखुवासभा : खाँदबारीको पोखरीबजारमा तीनतले कच्ची भवन छ । भुइँतलाका सटरहरू भाडामा लगाइएका छन् ।

१०. ओखलढुंगा : सिद्धिचरण–११ तीन आना तीन पैसा जग्गामा साढे तीनतले भवन । चारवटा कोठा भाडामा समेत लगाइएको छ । केही गाउँ कमिटीका नाममा कार्यकर्ताले दिएका जग्गा पनि छन् ।

११. खोटाङ : दिक्तेल बजारमा चारआना जग्गामा तीनतले पक्की भवन । खोटेहाङ गाउँपालिका– ५ चिप्रिङमा चार आना र रावाबेँसी गाउँपालिका– १ कुभिण्डेमा ६ आनामा बनेका एक–एकवटा कच्ची भवन । जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा दुई रोपनी, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडागाउँमा एक रोपनी, बतासेको पञ्चमी बजारमा आठ आना, ऐँसेलुखर्क गाउँपालिकाको ऐँसेलुखर्कमा पाँच आना जग्गा । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपामा आठ आना, बराहपोखरी गाउँपालिकामा १२ आना र केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजार एक रोपनी जग्गा । बैंकमा पाँच लाख बचत ।

१२. सोलुखुम्बू : सोलुदूधकुण्ड नगरपालिका– ५ मा मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा आधा रोपनी जग्गा र त्यहाँ बनेको भवन छ ।

१३. उदयपुर : त्रियुगा नगरपालिका– १२ मा एक कट्ठा जग्गा र एकतले ६ कोठे पक्की भवन । कटारी नगरपालिका– २ मा एक कठ्ठा जग्गा र एकतले घर ।

१४. पाँचथर : आफ्नै नाममा जग्गा छैन । भाडाको घरमा कार्यालय छ । बैंकमा तीन लाख ५० हजार रुपैयाँ बचत छ।

प्रदेश २ अन्तर्गतका जिल्ला

१. सप्तरी : सप्तरीको राजविराज नगरपालिका– ८ मदननगरमा एमालेको नाउँमा करिब सात कट्ठा जग्गा छ । सोही जग्गामा चार कोठाको पक्की भवन छ ।

२. सिराहा : सिराहा सदरमुकाम र लहानमा करिब डेढ करोड मूल्यको जग्गा र भवन छ । सिराहा नगरपालिका– ७ मा दुई कट्ठा जग्गा छ । त्यहाँ जस्तापाताले छाएका तीनवटा भवन छन् । लहान नगरपालिकामा अञ्चल समन्वय कमिटीको नाममा एक कट्ठा जग्गा छ ।

३. धनुषा : जनकपुरधाम उपमहानगरपालिका– ४ मा ७ कट्ठा जग्गा छ, त्यहाँ एकतले भवन छ । मिथिला–बिहारी नगरपालिकाअन्तर्गत कचुरीमा पार्टी नेता दिनेशचन्द्र यादवले दिएको डेढ कट्ठा जमिन छ, सो जग्गा नामसारी हुन बाँकी छ । खातामा पैसा छैन ।

४. महोत्तरी : चार धुर जमिन छ, आफ्नो भवन छैन । पार्टीका प्रदेश कमिटी सदस्य रामआधार कापरको जलेश्वरस्थित घरमा भाडा तिरेर कार्यालय चलाइएको छ । बैंकमा बचत छैन ।

५. सर्लाही : सदरमुकाम मलंगवास्थित विश्वकर्मा चोकमा दुई कट्ठा जग्गा छ, जहाँ दुईतले भवन छ । हाल चलनचल्तीको मूल्य दुई करोडबराबर रहेको छ । बैंकमा बचत छैन ।

६. रौतहट : जिल्ला पार्टीको नाममा गौरमा दुई कट्ठामा बनेको दुईतले पक्की भवन छ । चलनचल्तीको मूल्य दुई करोडभन्दा माथि छ । गरुडा नगरपालिकामा पाँच कट्ठामा तुलसीलाल स्मृति सभाहल छ । अनुमानित मूल्य तीन करोडजति पर्छ । चन्द्रपुर नगरपालिकामा दुई कट्ठामा बनेको एकतले पक्की भवन छ । फतुवा–विजयपुर नगरपालिकाको हिमालीबासमा एमाले केन्द्रको नाममा चार बिघा जमिन छ । त्यहाँ वृक्षरोपण गरिएको छ । जमिनको मूल्य करिब चार करोड छ । कुनै पनि बैंकमा खाता सञ्चालन छैन ।

७. बारा : कलैया बजारमा १८ घुर जग्गा छ । त्यहाँमा दुईतले पक्की भवन छ ।

८. पर्सा : वीरगन्ज महानगरपालिका– २४ रामगढवा मनमोहननगरमा पौने सात कट्ठा जमिनमा दुईतले पक्की भवन छ । बैंक खातामा आठ लाख रुपैयाँ बचत छ ।

बागमती प्रदेशअन्तर्गतका जिल्ला

१. सिन्धुली : जिल्ला सदरमुकामसहित चारवटा स्थानीय तहमा आफ्नै कार्यालय छन् । जिल्ला अध्यक्ष प्रदीप कटवालका अनुसार सदरमुकाम माढीबजारमा एक कट्ठा दुई धुरमा बनेको तीनतले भवन छ । फिक्कल गाउँपालिकामा पाँच रोपनी, तीनपाटन गाउँपालिकामा डेढ कट्ठा र दुधौली नगरपालिकामा गरेर साढे दुई कट्ठा जग्गा छ । बैंकमा दश लाख बचत रहेको छ ।

२. मकवानपुर : हेटौँडा उपमहानगरपालिका– ४ पुष्पलाल पथमा डेढ कट्ठामा बनेको दुईतले पार्टी कार्यालय छ । खातामा बचत छैन ।

३. चितवन : भरतपुर महानगरपालिका– १० मा तीन कट्ठा जमिनमा बनेको दुईतले पक्की भवन छ । भरतपुर महानगरपालिका– १८ चनौलीमा एमालेले दानमा पाएको जग्गा छ । यहाँ पक्की भवन छ । भरतपुर महानगर– २६ ज्योतिनगर बजारमा एक कट्ठा जग्गा छ । यो जग्गा मनमोहन प्रतिष्ठानको नाममा छ । कालिका नगरपालिका– २ पदमपुरमा नेता–कार्यकर्ताले देउसीभैली खेलेर जोडेको करिब १० धुर जमिन छ । यहाँ दुईतले पक्की भवन बन्दै छ । खैरनी नगरपालिका– १० मा एक कट्ठा जमिनमा टिनले छाएको भवन छ । खातामा बचत छैन ।

४. धादिङ : सदरमुकाम धादिङबेँसीमा दुई रोपनी चार आना जग्गामा दुईतले पक्की भवन छ ।

५. नुवाकोट : विदुर नगरपालिका– ४ विदुरमा ६ आना जग्गामा बनेको दुईतले कार्यालय छ । खातामा बचत छैन ।

६. रसुवा : नेकपा एमाले रसुवाका अध्यक्ष कर्णेल तामाङका अनुसार रसुवामा पार्टीको नाममा घरजग्गा छैन । पाँचवटै गाउँपालिकामा भाडाका घरमा कार्यालय राखिएका छन् । सदरमुकाम धुन्चेमा भीमलाल स्मृति प्रतिष्ठानको प्रि–फ्याब भवनमा पार्टी कार्यालय छ । यो भवन प्रतिष्ठानले निःशुल्क उपलब्ध गराएको एमाले रसुवा अध्यक्ष तामाङले बताए । पार्टीको नाममा बैंंकमा पैसा छैन ।

७. काभ्रे : बनेपा नगरपालिका– ५ मा आठ आना जग्गामा दुईतले भवन छ । खातामा पैसा छैन ।

८. सिन्धुपाल्चोक : सदरमुकाम चौतारामा एक रोपनी तीन आना जमिनमा दुईतले पक्की घर । मेलम्चीमा दश आना जमिनमा डेढ करोडको लगानीमा मनमोहन स्मृति भवन बनाइएको थियो । गत १ असारको बाढीले ध्वस्त बनाएको छ । बैंक खातामा सात हजार रुपैयाँ छ ।

९. दोलखा : सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकनजिकै एक सय ४० वर्गमिटर क्षेत्रफलमा बनेको साढे तीनतले घर छ । सभाहलसहितको घरमा १५ कोठा छन् । अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार पार्टीको खातामा करिब २० हजार रुपैयाँ छ । करिब १० लाख ऋण छ ।

१०. रामेछाप : मन्थली नगरपालिका– १ आकासेमा २१ आना जग्गा छ । यहाँ रहेको भवन गत भूकम्पमा भत्किएपछि पार्टी कार्यालय भाडामा चलेको छ, नयाँ बनाइएको छैन । बैंक खातामा करिब दश लाख रुपैयाँ छ ।

गण्डकी प्रदेशअन्तर्गतका जिल्ला

१. बाग्लुङ : बाग्लुङ नगरपालिका– ३ देउराली चोकमा आठ आना जग्गा छ । पार्टी कार्यालय भने भाडाको घरमा राखिएको छ । बैंक खातामा पाँच लाख रुपैयाँ बचत छ ।

२. लमजुङ : सदरमुकाम बेँसीसहरमा ११ आना जग्गामा दुईतले पक्की भवन छ । बैंक खातामा पैसा छैन ।

३. मनाङ : घरजग्गा छैन । सदरमुकाम चामेमा भाडाको घरबाट पार्टी कार्यालय चलाइएको छ । बैंक खातामा बचत पनि छैन ।

४. तनहुँ : व्यास नगरपालिका– ३ दमौलीमा १० आना जग्गामा तीन तलाको पक्की भवन छ । बैंक खातामा चार हजार रुपैयाँ बचत छ ।

५. कास्की : पोखरा महानगरपालिका– ९ शान्ति वनवाटिकानजिक सात आना जग्गामा अन्डरग्राउडसहित तीनतले भवन छ । यही भवनमा पार्टी कार्यालय छ । बैंक खातामा १० लाख रुपैयाँ बचत छ । पोखरा– २१ मा पुष्पलाल स्मृति भवन प्रतिष्ठानको नाममा ६ आना जग्गा छ । त्यहाँ दुईतले पक्की भवन बनाइएको छ । यो घरजग्गाको चलनचल्ती मूल्य करिब एक करोड पर्ने अनुमान छ ।

६. पर्वत : सदरमुकाममा मदनआश्रित स्मृति प्रतिष्ठानको नाममा करिब पाँच आना जग्गा छ । यही जग्गामा जिल्ला पार्टी कार्यालय बनाइएको छ । जिल्ला पार्टीका संस्थापक नेता तोयनाथ चालिसेले २० वर्षअघि सो जग्गा निःशुल्क दिएका थिए ।

७. म्याग्दी : सदरमुकाम बेनीमा सात आना जग्गामा बनेको दुईतले भवन छ । जिल्ला पार्टीको नाममा बैंकमा पैसा छैन । बरु, ३५ लाख रुपैयाँ ऋण छ ।

८. गोरखा : नेकपा एमालेको नाममा घरजग्गा छैन । सदरमुकामको चाइनिज धारामा मदन–आश्रित स्मृति प्रतिष्ठानको नाममा तीन रोपनी जग्गा छ । त्यसमा बनाइएको दुईतले पक्की भवनमै पार्टी कार्यालय चलेको छ ।

९. नवलपरासी पूर्व : पार्टी कार्यालयको नाममा घरजग्गा छैन । कावासोती नगरपालिका हलचोकमा भाडाको घरमा मासिक १५ हजार तिरेर पार्टी कार्यालय चलेको छ । संघीयता कार्यान्वयनका क्रममा विभाजित नयाँ जिल्ला भएकाले पुरानो नवलपरासीको खातामा रहेको केही रकम पछि ल्याइने अध्यक्ष रोशन गाहामगरले बताए ।

१०. स्याङ्जा : जिल्ला सदरमुकाममा तीन आना जमिनमा बनेको तीनतले पक्की भवन छ । बिरुवा गाउँपालिकामा आधा रोपनी जमिनमा २० लाख लागतमा गाउँ कमिटी भवन बनाइएको छ । फेदी खोलामा पनि घरजग्गा छ । बैंक खातामा करिब पाँच लाख रुपैयाँ बचत रहेको जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे पारसले जानकारी दिए ।

११. मुस्ताङ : जिल्ला समन्वय समितिका उपप्रमुख राजेन्द्र शेरचनको घरमा एउटा कोठा भाडामा लिएर पार्टी कार्यालय सञ्चालन भइरहेको छ । बैंक खातामा एक लाख रुपैयाँ बचत छ ।

लुम्बिनी प्रदेशअन्तर्गतका जिल्ला

१. गुल्मी : सदरमुकाममा जिल्ला पार्टीको नाममा एक रोपनी जग्गा छ । त्यसमा बनाइएको तीनतले पक्की घरमा कार्यालय छ । पार्टीको खाता १४ लाख रुपैयाँ बचत छ ।

२. कपिलवस्तु : सदरमुकाम तौलिहवामा डेढ कट्ठा जग्गामा एकतले पक्की भवन छ ।

३. रुपन्देही : बुटवलमा एक कट्ठा पाँच धुरमा पुष्पलाल स्मृति नामको भवन बनेको छ । बुटवलमा नै १८ धुर जग्गामा बनेको जीवराज आश्रित प्रतिष्ठानको भवन छ । तिलोत्तमाको शंकरनगरमा एक कट्ठा जग्गामा भवन छ । देवदहमा एक कट्ठा जग्गामा भवन छ । सैनामैनामा पनि एक कट्ठा जग्गामा पक्की भवन छ । मधवलियामा सात कट्ठा जग्गा छ ।

४. बाँके : नेपालगन्ज उपमहानगरपालिका– ११ मा ६ कट्ठा जग्गामा दुईतले भवन छ । त्यही ठाउँमा सातवटा सटर भएको अर्को एकतले भवन बनाएर भाडामा लगाइएको छ ।

५. रोल्पा : रोल्पा नगरपालिका– ४ लिबाङमा सुन्दरकुमार आचार्यले दानमा दिएको आधा रोपनी जग्गामा दुईतले पक्की भवन छ । पार्टी कार्यालय यहीँबाट सञ्चालन गरिएको छ । जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीका अनुसार पार्टीको नाममा खातामा बचत छैन । बरु, दुई लाख रुपैयाँ ऋण छ । उनी हाल माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीतिर लागेका छन् ।

६. दाङ : घोराही उपमहानगरपालिका– १५ भरतपुरमा दुई कट्ठा १५ धुर जग्गामा बनेको तीनतले पक्की भवन छ । सो जग्गा केही वर्षअघि स्थानीय शंकर गौतम र माधव पन्थीले दिएका हुन् । एमाले र माओवादीबीच पार्टी एकता भई नेकपा बनेका वेला सांसद कृष्णबहादुर महराले स्थानीय विकास पूर्वाधार कार्यक्रमबापतको एक करोड रुपैयाँ सो पार्टी कार्यालयको तेस्रो तला निर्माणका लागि दिएका थिए । तुलसीपुर उपमहानगरपालिका– ६ मा डेढ कट्ठा जग्गामा दुईतले भवन छ । सो पार्टी कार्यालय निर्माणका लागि नेकपाकै समयमा सांसद हिराचन्द्र केसीले पूर्वाधार विकास कार्यक्रमको ९९ लाख दिएका थिए । एमाले पार्टीको नाममा बैंक खातामा बचत छैन ।

७. पश्चिम नवलपरासी : सदरमुकाम परासीमा रहेको रामग्राम नगरपालिका– ३ मा दुई कट्ठा जग्गामा बनेको दुईतले पक्की भवन छ । पार्टीको नाममा रहेको खातामा करिब दश लाख रुपैयाँ छ ।

८. अर्घाखाँची : सन्धिखर्क नगरपालिका– १ मा दश आना क्षेत्रफलमा बनेको तीनतले पक्की भवन छ । पार्टीको नाममा रहेको खातामा बचत छैन ।

९. प्युठान : सदरमुकारमा दुई रोपनी क्षेत्रफलमा तीनतले पक्की भवन छ । पार्टीको नाममा बैंकमा बचत छैन ।

१०. पाल्पा : तानसेन बजारमा सात आना जग्गामा रहेको तीनतले पक्की भवन छ । तानसेन नगरपालिकाको काजीपौवामा नौ आना जग्गा छ ।

११. रुकुम पूर्व : पार्टीको नाममा घरजग्गा छैन । त्यसैले भाडाको घरबाट पार्टी कार्यालय सञ्चालन भइरहेको छ । पार्टीको खातामा बचत पनि छैन ।

१२. बर्दिया : गुलरियामा दुई कट्ठा जमिनमा बनेको पक्की भवन छ । मधुवनमा १० धुर जग्गा छ । खातामा बचत छैन ।

कर्णाली प्रदेशअन्तर्गतका जिल्ला

१. मुगु : सदरमुकाम गमगढीमा आधा कट्ठा जग्गामा चारकोठे पक्की भवन छ । उक्त भवन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएका वेला निर्माण गरिएको हो । एमाले जिल्ला पार्टीको अरू सम्पत्ति छैन । खातामा बचत पनि छैन ।

२. सुर्खेत : वीरेन्द्रनगर नगरपालिका– ६ बजार क्षेत्रमा दुईतले पक्की भवन छ । बैंक खातामा बचत छैन ।

३. कालिकोट : घरजग्गा नभएकाले भाडाको घरबाट पार्टी कार्यालय सञ्चालन हुँदै आएको छ । बैंकमा बचत पनि छैन ।

४. जाजरकोट : सदरमुकाम भेरी नगरपालिका– ४ मा आधा कट्ठा जग्गामा दुईकोठे पक्की भवन छ । अरू सम्पत्ति छैन ।

५. सल्यान : शारदा नगरपालिका– २ मा एकतले भवन छ । यसैमा जिल्ला पार्टी कार्यालय रहेको छ । बैंकमा रकम छैन ।

६. जुम्ला : सदरमुकाम खलंगामा एक सय ७० वर्गमिटर क्षेत्रफलमा कच्ची भवन छ । जग्गा खरिद र भवन निर्माण गर्न ५० लाख खर्च भएको अध्यक्ष तीर्थ बुढाले जानकारी दिए । बैंकमा बचत छैन ।

७. रुकुम पश्चिम : मुसिकोट नगरपालिका– ५ मा तीन रोपनी जग्गामा कर्धकच्ची भवन छ । त्यसैमा पार्टी कार्यालय राखिएको छ ।

८. दैलेख : नारायण नगरपालिका– ५ मा पक्की भवन छ । त्यसैमा पार्टी कार्यालय पनि छ । नारायण नगरपालिकाका दुई ठाउँमा जग्गा छ ।

९. डोल्पा : पार्टीको नाममा घरजग्गा छैन । भाडाको घरबाट पार्टी कार्यालय सञ्चालन भइरहेको छ ।

१०. हुम्ला : पार्टीको नाममा घरजग्गा छैन । भाडाको घरबाट पार्टी कार्यालय सञ्चालन भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्ला

१. कैलाली : धनगढी मुख्य बजारमा डेढ कट्ठा जग्गामा बनेको पक्की भवन छ । त्यसैमा पार्टी कार्यालय राखिएको छ । धनगढी उपमहानगरकै फूलबारीमा एक कट्ठा जग्गा र दुईतले भवन छ । अत्तरियामा डेढ कट्ठा जग्गामा टिनले छाएको भवन छ । टीकापुरमा दुई कट्ठा जग्गा र पक्की भवन छ । चौमालामा पनि एक कट्ठा जग्गामा पक्की भवन छ ।

२. बाजुरा : सदरमुकाममा रहेको भवनमा पार्टी कार्यालय चलेको छ । पार्टी अध्यक्ष कालीबहादुर शाहीका अनुसार बैंक खातामा दुई लाख रुपैयाँ बचत छ ।

३. कञ्चनपुर : भीमदत्त नगरपालिका– ४ मा दुईतले भवन छ । भीमदत्त– १८ मा १० कट्ठा जमिनमा दुईकोठे घर छ ।

४. डडेल्धुरा : आफ्नै पार्टी कार्यालय छ । तीनतले निर्माण गरिएको भवन छ । झन्डै ४० लाखको लागतमा निर्माणाधीन कार्यालय छ । २२ लाखमा जमिन खरिद गरिएको थियो ।

५. बझाङ : एक रोपनी जग्गामा बनेको तीनतले पक्की भवन छ । एउटा पुस्तकालय भवन पनि छ । पार्टीको खातामा बचत छैन ।

६. डोटी : सदरमुकाम सिलगढीमा तीन रोपनी जग्गा छ । त्यसमा आठ कोठा र बैठक हलसहितको दुईतले भवन छ । बैंकमा बचत छैन ।

७. अछाम : सदरमुकाम मंगलसेनमा तीन रोपनी जग्गामा चार कोठाको कार्यालय भवन छ । मंगलसेनमै दुई रोपनी जग्गा छ । त्यहाँ सात कोठाको भवन निर्माण सम्पन्न हुने चरणमा छ । साँफेमा डेढ रोपनी जग्गा छ । त्यहाँ पनि चार कोठाको भवन निर्माण सम्पन्न हुने चरणमा छ । चौरपाटी गाउँपालिकामा भवन निर्माणाधीन अवस्थामा छ ।

८. बैतडी : गोठालापानीमा ६ आना जग्गामा बनेको पक्की भवन छ । दुईतले भवनमा सभाहलसमेत छ । बैंकमा पार्टीको नाममा बचत छैन ।

९. दार्चुला : सदरमुकाम खलंगामा ६ आना जग्गामा बनेको सभाहलसहितको दुईतले भवन छ । बैंकमा बचत छैन ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार