• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मर्यादापालकको काँधमा चढेर गृहमन्त्रीको माइक यसरि खोस्ने एमाले सांसद ले – (भिडियो)


शुक्रबार प्रतिनिधि सभाको दृश्य अरू बेलाको भन्दा फरक थियो । रोष्टममा अर्थमन्त्री जनार्दन शर्मा बजेट सम्बन्धी प्रतिस्थापन विधेयक वाचन गरिरहेका थिए ।संसद्को
ड्यासको अग्रभागमा एमालेका सांसदहरू सभामुख विरुद्ध नाराबाजी गर्दै रोष्टममा उक्लिने प्रयास गरिरहेका थिए भने मर्यादापालकहरुलाई सांसदहरूको भीड रोक्न हम्मे परिरहेको थियो।

एमाले सांसदहरू नाराबाजीमा मात्र सीमित रहेनन्, उनीहरू रोष्टममा पुग्नका लागि मर्यादापालकमाथि नै चढ्न थाले । सांसद गंगा चौधरी सभामुख आसिन रोष्टममा पुग्न मर्यादापालकहरुको काँधमा नै चढ्न पुगिन् । तर मर्यादापालकहरुले उनको प्रयासलाई असफल पारिदिए । संसद् बैठक सकिएर बाहिर निस्कने क्रममा पत्रकारहरूले तपाई रोष्टममा पुगेर के गर्न चाहनुहुन्थ्यो भन्ने प्रश्नमा उनले बजेट विधेयक वाचन गरिरहेका अर्थमन्त्री शर्मालाई रोक्नका लागि प्रयास गरेको बताइन् । उनले भनिन्–‘अर्थमन्त्रीले रोष्मटमा बोलिरहेको कुरालाई रोक्ने मेरो उद्देश्य थियो । रोष्टममा अर्थमन्त्री चोर बाटोबाट त्यसरी लुकेर जाने हैन नि । के जनयुद्ध हो यो ? संसद्भित्र जनयुद्ध गरेको हो ? लोकतन्त्र के हो, व्यवस्थापिका के हो ? यस्तो गुरिल्ला पाराले यो सरकार अघि बढ्न सक्दैन् ।’सांसद चौधरीले २३ गते बसेको प्रतिनिधि सभाको बैठकमा पनि विरोधका क्रममा संसदमा ड्यासमा पुग्ने प्रयास गरे पनि मर्यादापालकहरु रोक्न सफल भएका थिए ।

भिडियो हेर्नुस्

स्रोत : रातोपाटी

सभामुख र अर्थमन्त्रीलाई हान्ने योजना थियो
काठमाडौं । आफूहरुको नाराबाजीका बीच सदनको कामकारबाही अगाडि बढाएपछि रुष्ट भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभामा रोष्ट्रममै उक्लने प्रयास गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणको माइक तानेर रोष्ट्रमतर्फ (सभामुख र अर्थमन्त्री भएतर्फ) फ्याँक्ने प्रयास गरे ।गृहमन्त्री खाँणको टेबुलको माइक तानेर रोष्ट्रमतर्फ फ्याक्न खोज्ने एमाले सांसद हुन्, रेखा कुमारी । बैठकपछि पत्रकारहरुले उनलाई माइक किन तानेको ? कसलाई हान्न खोजेको ? भनी प्रश्न गरे । जवाफमा सांसद रेखा कुमारीले उनले सभामुखलाई र अर्थमन्त्रीलाई हान्न माइक तानेको बताइन् ।

एमाले सांसद रेखा कुमारीसँग भएको सवालजवाफ
पत्रकार : माइक तान्नुभयो नि, किन ?

रेखाकुमारी : टाउको फुटाउने अवस्था थियो, टाउको फुटाउने । यस्तो गैरसंवैधानिक गतिविधि गर्न हुँदैन । संसदको मर्यादा हुन्छ ? त्यो मर्यादा, पदीय मर्यादा (सभामुख)ले राख्न सक्नुभएन । त्यसको सशक्त विरोध गर्नुपर्छ हाम्रो योजना थियो ।

पत्रकार : तपाईंले (गृहमन्त्रीको) माइक किन निकाल्नुभयो ?
रेखा कुमारी : माइक, माइ ..जे पायो त्यहीले टाउको फुटाउने सोचेका थियौं । फुटाइदिन्थ्यौं ।

पत्रकार : यो चाहिं संसदीय मर्यादा हो ?
रेखा कुमारी : पहिला गल्ती कल्ले गरेको ? चोरबाटोबाट (बजेटको प्रतिस्थापन विधेयक) पेश गर्न मिल्छ ?

पत्रकार : हान्ने योजनामै त्यो (गृहमन्त्रीको) माइक तान्नुभएको हो ?
रेखा कुमारी : माइकले हान्ने योजना नै थियो ।

पत्रकार : कसलाई हान्ने ?
रेखा कुमारी : सभामुखलाई हान्थ्यौं, अर्थमन्त्रीलाई हान्थ्यौं ।

पत्रकार : त्यसरी संसद चल्छ त ?
रेखा कुमारी : यसरी चल्छ त ? एउटा प्रतिपक्षले विरोध गरिरहेको अवस्थामा सदन चल्न सक्छ ?

पत्रकार : तपाईंहरु सर्वोच्चमा त्यही विषय लिएर जाने, अनि यता सदन अवरुद्ध गरेर हुन्छ त ?
रेखा कुमारी : सर्वोच्च … संसदको पनि नियम छ । तर, त्यो पदीय मर्यादा राख्नुभएन । दलीय व्यवस्थामा दलले (आफ्ना सांसदलाई) कारबाही गर्न पाउँछ । दलले कारबाही गरेपछि उहाँ (सभामुख)लाई पार्टीले कारबाही गरेको छ भनेर जानकारी गराइयो । तर.. (सभामुखले रोकिदिए) ।१ भदौ २०७८ मा सरकारले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत संख्याले पार्टी फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । एमालेले पनि त्यही दिन माधवकुमार नेपालसहित नयाँ दल गठनको पक्षमा रहेका १४ जनालाई पदमुक्त गर्न पत्र संसद सचिवालयमा पठायो ।

तर सभामुख अग्नि सापकोटाले तुरुन्तै निर्णय लिएनन् । ९ भदौ २०७८ मा माधव नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएपछि सभामुखले एमालेको पत्रबारे केही गर्नु नपर्ने निर्णय सुनाए ।यही विषयलाई लिएर एमालेले सभामुखमाथि प्रश्न उठाउँदै आएको छ र निरन्तर संसद बैठकमा नाराबाजी गर्दै आएको छ ।

हेर्नुस् पुरा भिडियो

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार