• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

मन्त्री मनाङेले सार्वजनिक गरेनन् सम्पत्ति विवरण, भने : के छ, के छैन आफैं कन्फ्युज छु !


पोखरा । राजीव गुरुङ अर्थात् दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएको आइतबार ६० दिन पुगेको छ । भ्रष्ट्राचार निवारणसम्बन्धी ऐन,
२०५९ अनुसार पदभार सम्हालेको दुई महिनाभित्र उनले सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने हो । तर, मन्त्री मनाङेले अटेरी गरिरहेका छन् ।तेस्रो पटक मन्त्रालय सम्हालेको ६०

दिन पुगेको अवसरमा आइतबार उनले पत्रकार सम्मेलन राखेका थिए । त्यस क्रममा मन्त्री मनाङेले ६० दिनमा आफूले गरेको काम र आगामी योजना सुनाए । कार्यक्रमको अन्तिममा सोधियो, ‘सबै मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरिसके । तपाईंले किन गर्नुभएन ?’मन्त्री मनाङेले सम्पत्ति सार्वजनिक गर्न खोजे पनि आफूसँग के छ ? के छैन भन्नेबारे नै ‘कन्फ्युज’ भइरहेको जवाफ फर्काए । ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु । मेरो के छ ? के छैन ? जम्मै पहिलेको श्रीमती, छोराछोरीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन्,’ उनले भने ।मन्त्री मनाङेले ‘केटा’हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट पनि सम्पत्ति फिर्ता नआएको बताए । ‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गरिदिएको छु । धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भने, ‘आउनेवाला छ भनेर लेख्न पनि गाह्रो ! मेरो नाममा केही छैन ।’

आफूसँग भएको केही सम्पत्ति पनि मुद्दा मामिलामा रहेको मनाङेले बताए । ‘त्यो मुद्दा पनि जसलाई मैले बैना हान्यो, बैना गर्ने मान्छे पनि ठगै रैछ, त्यस्तो मुद्दावाला ३/४ वटा प्रोपर्टी छ,’ उनले भने, ‘त्यो प्रोपर्टी पनि अहिलेको होइन, पहिलेकै दामवाला हो । १ लाख, डेढ लाखवाला ।’मनाङेले ०७० सालमा अवैध सम्पत्ति राखेको आरोपमा मुद्दा खेपेका थिए । तर, ०७४ सालमा विशेष अदालतबाट सफाइ पाए । आफूमाथि प्रहरीले रिस गरेर सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको मन्त्री मनाङेले टिप्पणी गरे ।‘सम्पत्ति शुद्धीकरणको मेरोमात्रै यस्तो केश हो, जुन सर्वोच्च (अदालत) जान पाएन । नत्र अरु सबैको गा’को छ,’ उनले भने, ‘विदेश गएको बेला हुन्डी गरेर नेपाल पैसा पठाएको भनेको थियो । मुख्य न्यायाधीशकै छोरा पनि हुन्डी गर्दो रै’छ । जमाना नै त्यस्तो थियो । आइएमई पनि रजिस्ट्रर भइसक्या थिएन ।’

आफूले ५८ सालदेखि नै व्यापार छोडेको, अहिले कुनै व्यापार, व्यवसाय नरहेको र अब व्यापारमा फर्किने सोचमा रहेको मन्त्री मनाङेले सुनाए । ‘अब फेरि व्यापार गर्ने ट्राइ गरिाराछु । यो मन्त्रालय सेटअप भइसकेपछि फेरि हामीले नि भात त खानुपर्‍यो हेर्नुस् । यो पैसा (तलब भत्ता) ले त च्या खान पनि पुग्दैन,’ उनले भने ।मन्त्री मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने केही बोलेनन् । आफूसँग सम्पत्ति भए पनि मुद्दा मामिला रहेको भन्दै उनी पत्रकार सम्मेलन सकिएको भन्दै बाहिरिए । ‘म त गइहालें । तपाईंहरु एकैछिन बस्दै गर्नुन..’ भन्दै उनी बैठक कक्षबाट बाहिरिएका थिए ।

यसअघिको पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मनाङेले युवा तथा खेलकुद मन्त्रालय नै सम्हालेका थिए । तत्कालिन मुख्यमन्त्री गुरुङले मनाङेलाई पहिलो पटक वैशाख १६ मा सामाजिक विकास मन्त्रालय टुक्र्याएर बनाएको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।तर त्यसको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि मनाङे पनि पदमुक्त भएका थिए । उनी पुन जेठ ९ गते मन्त्रीमा दोहोरिए । तर उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई साथ दिएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त भए ।

तेस्रो पटक मनाङे जेठ २९ गते विना विभागीय मन्त्रीका रुपमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भए । उनीसँगै शपथ लिएका अरु सबै मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन् ।गण्डकी प्रदेश सरकारका कृषिमन्त्री चन्द्र बुढामगरले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । साउन ८ गते मन्त्री नियुक्त भएका उनले सम्पत्ति विवरण सार्वजनिक गर्ने समय अझै १० दिन बाँकी छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार