• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सभामुखलाई एमालेको पत्र : सूचना टाँस्नुहोस्, नभए ‘मार्ग प्रशस्त’ गर्नुहोस्


सभामुखअग्निप्रसाद सापकोटाले आइतबार बोलाएको सर्वदलीयबैठक बहिस्कार गरेको नेकपा एमालेले घुमाउरो भाषामा सभामुखको राजीनामा मागेकोछ।एमालेले सभामुख
लाई पत्र लेखेर माधव नेपालसहित १४ सांसदको कारबाहीबारे सूचना टाँस्ने आफ्नो माग दोहोर्‍याएको छ ।सभामुख सापकोटाले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पत्र लेखेर

सर्वदलीय बैठकको निम्तो दिएका थिए । तर, एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको छ । कानुन मन्त्री ज्ञानेन्द्र कार्कीसँगको फोन सम्वादमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकमा नजान दलका नेताबाट निर्देशन आएको बताएका थिए ।अन्ततः एमालेले सभामुखलाई पत्र नै लेखेर माधव नेपालसहितका १४ सांसद माथिको कारबाहीबारे सूचना टाँस्न भनेको छ । सूचना टाँस नगर्ने हो भने ‘मार्ग प्रशस्त’ गर्न एमालेले सभामुखलाई भनेको छ ।सभामुखलाई लेखिएको पत्रबारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले रातोपाटीसँग भने, ‘हामीले कि सूचना टाँस्नुहोस्, हैन भने अब मार्ग प्रशस्त गर्नोस् भनेर पत्र पठाएका छौँ ।’यसअघि नेकपा एमालेले माधवकुमार नेपालसहित आफ्ना १४ सांसदलाई पदमुक्त गरेको पत्र सभामुखलाई बुझाएको थियो । तर, सभामुखले उनीहरूको कारबाहीबारे सूचना टाँस नगरी १३ दिनसम्म मुल्तबीमा राखेका थिए । यही अवधिमा निर्वाचन आयोगले माधव नेपालको नेतृत्वमा खुलेको पार्टीलाई मान्यता प्रदान गरेको थियो ।यही विषयमा आपत्ति जनाउँदै एमालेले भदौ २३ देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदहरू पदमुक्त भएको सूचना सभामुखले सार्वजनिक गर्नुपर्ने एमालेको एक सूत्रीय माग छ ।

एमालेको नाराबाजी आवेग हो, विस्तारै कम हुन्छ : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदमा जारी नाराबाजी मानवीय आवेग भएको र त्यो विस्तारै कम हुँदै जाने बताएका छन् ।‘संसदमा एमालेको नाराबाजी मानवीय आवेग हो, त्यो मानवीय आवेग विस्तारै कम हुँदै जान्छ’ अध्यक्ष नेपालले सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैठकमा भने । तथापि, असहमतिका बीच सहमति खोजेर अघि बढ्नुको विकल्प नरहेको भन्दै उनले सभामुखलाई संवाद जारी राख्न समेत सुझाव दिए ।

अध्यक्ष नेपालले एमालेलाई प्रतिनिधि सभाप्रति पूर्वाग्रह नराख्न र लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न पनि अनुरोध गरे ।संविधानको धारा ७६ (५) अन्तर्गत अदालतको फैसला अनुसार पनि दल त्याग आकर्षित नहुने भन्दै विधि पुर्‍याएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएको अवस्थामा अदालत र निर्वाचन आयोगको विरोध गर्नुको कुनै अर्थ नभएको अध्यक्ष नेपालको भनाइ थियो ।एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उपस्थित नै भएनन् ।

कसले के भने ?
बैठकको शुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को तर्फबाट उपस्थिति नभएको सन्दर्भमा सभामुखले आफूले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षसंग सम्पर्क गर्न प्रयत्न गरेको तर धेरै प्रयास गर्दा पनि सम्भव नभएको बताएका थिए ।सभामुखले आफू वार्ता र छलफलबाट समस्या समाधान हुने कुरामा विश्वस्त रहेको पनि बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको जस्तै समस्या पनि प्रमुख प्रतिपक्षीलाई पनि आउन सक्ने भएकाले सोही अनुसार सोच्न एमोलाई आग्रह गर्नुपर्ने बताए ।सदनमा विपक्षीको सम्मान जरूरी रहेको र द्वन्द्वको विकल्पमा जानुपर्ने भएकोले वार्ता, छलफल र सहमतिको लागि गठबन्धन तयार रहेको उनको भनाइ थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूले पनि संसदीय गतिरोधका सन्दर्भमा त्यसलाई समाधान गर्ने उद्देश्यले नेकपा एमालेका अध्यक्ष ओलीसंग उनकै निवासमा पुगेर छलफल गरेको बताए । असहमतिका बाबजुद पनि प्रतिनिधि सभा सञ्चालन गर्न सहमतिको प्रयास जारी राखिएको उनले बताए ।कार्कीले सदनबाट बजेट पास गर्नुपर्ने, नियम निलम्बन गरी अघि बढ्न प्रमुख प्रतिपक्षको सहमति चाहिने र उत्पन्न गतिरोध हल गर्न आफूले अनौपचारिक र औपचारीक पहल गरेको उल्लेख गरे ।नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संवादबाट समाधान खोज्ने उत्तम विकल्प भएकाले प्रमुख प्रतिपक्षीलाई छलफल र संवादमा आउन आग्रह गरे ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षले संसदको पक्षमा आफू रहेको कुरा पुष्टि गर्न पनि समझदारीमा आउनुपर्ने बताए ।संसदलाई क्रियाशील बनाई संसदीय सर्वोच्चता सबैले स्वीकार्नुपर्ने कुरामा ध्यानाकर्षण गर्दै उनले भने, ‘हिजो संसद विघटन गर्ने आज संसद अवरोध गर्ने एउटै दल भएकोले प्रतिपक्षी दललाई यो संसदको पक्षमा नभएको जस्तो देखियो ।’लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरले विगतमा ५९ दिन सदन अबरूद्ध भएको स्मरण गरे ।नेमकिपाका नेता प्रेम सुवालले प्रमुख पार्टीहरूले आफ्नो घोषणापत्रका वाचा बिर्सन नहुने भन्दै बहस र छलफल सिद्दान्तमा केन्द्रित हुनुपर्ने बताए ।जनमोर्चाका नेता दुर्गा पौडेलले सदनलाई लामो समय अनिर्णयको बन्दी बनाउन नहुने बताइन् ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार