• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

केपी ओलीलाई फेरि प्रधानमन्त्री हुन विधानमै रोक ! भीम रावल, ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि अन्तिम अवसर


काठमाडौंनेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ।आइतबार शुरु भएको स्थायी कमिटी
मा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ । ‘पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन

नपाउने व्यवस्था छ’, एक स्थायी कमिटी सदस्यले भने ।स्थायी कमिटीमा आएको विधान संशोधन प्रस्ताव असोज १६ र १७ गते हुने विधान महाधिवेशनबाट पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउने छैनन् । यद्यपि ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउने छन् ।एएमाले अध्यक्ष ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०७४ को आम चुनावपछि उनी फेरि प्रधानमन्त्री बनेका ओली २०७८ वैशाख २७ गते विश्वासको मत नपाएसँगै पदमुक्त भए ।त्यसको तीन दिनपछि संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत नलिई संविधानको धारा ७६ (५) बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।त्यसपछि ओलीले विघटन गरेको प्रतिनिधिससभा २८ असारमा सर्वोच्च अदालतले पुनर्स्थापनाको फैसला गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै ओली पदच्यूत भएका थिए ।

भीम रावल, ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि अन्तिम अवसर
सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ ।उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भए दशौं महाधिवेशन केही नेताहरुका लागि कार्यकारी भूमिकाका लागि अन्तिम हुनेछ ।एमालेले मंसिर दोस्रो साताका लागि तय भइसकेको छ । यदि त्यसमा कुनै हेरफेर नभए यो महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार बन्न केपी शर्मा ओलीलाई उमेर हदले छेक्दैन ।२००८ फागुन ११ मा जन्मिएका ओली अहिले ७० औं वर्षमा छन् र, फागुनसम्म प्रस्तावित विधानअनुसार उम्मेदवार हुनसक्छन् ।

ओलीले पटक पटक कक्षा दोहोर्‍याएर नपढ्ने बताएका छन् । तर उनी निकट नेताहरुले पार्टी र सरकारको नेतृत्वमा एक पटक ओलीलाई दोहोर्‍याउनुपर्ने बताउँदै आएका छन् ।ओलीबाहेक उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङका लागि पनि यो महाधिवेशन पार्टी नेतृत्वमा पुग्ने अन्तिम अवसर हुनेछ ।उपाध्यक्ष भीम रावल पनि ६६ औं वर्षमा छन् । २०१२ मंसिर ३० मा जन्मिएका उनी यो पटक पार्टी नेतृत्वमा नपुगे ५ वर्षपछि ११औं महाधिवेशन हुँदा ७० वर्ष कटिसक्ने छन् ।यस्तै महासचिव पोखरेलका लागि यो महाधिवेशन नै अन्तिम अवसर हुने भएको छ ।

२०१० माघ २० मा जन्मिएका उनी हाल ६७ वर्ष पार गरिसकेका छन् । यदि दशौं महाधिवेशनबाट एमालेको अध्यक्ष भएनन् भने अर्को पटक ७० वर्षे उमेर हदका कारण उनले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न पाउने छैनन् ।२००९ फागुन २८ मा जन्मिएका नेम्वाङ अहिले ६८ वर्षका भइसके । यदि यो महाधिवेशनबाट नेतृत्वमा पुगेनन् भने अर्को पटक ७० वर्ष उमेर हद पार भइसकेका हुनेछन् ।उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि दशौं महाधिवेशन ताका ६८ वर्षका हुनेछन् । नेतृत्वको आकांक्षी अरु नेताका लागि भने अर्को महाधिवेशन पनि अवसर हुने देखिएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार