• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रचण्डसँग चुनाव लड्ने बादलको घोषणा


चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने,‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ।’प्रचण्ड

र बादल दुवै चितवनका हुन् ।अर्को एक प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको बताए ।
च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको छ ।

विभिन्न प्रस्ताव र प्रतिवेदनमाथि आज र भोली दुई दिन छलफल गरेर पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ ।

यद्यपि कतिपय नेताहरुले बैठक अघि मात्र दस्तावेजहरु पाएका छन् ।साथै स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको बैठकमा त्यसबारे जानकारी गराइने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार